पोखरामा धरहरा

 अर्थ बुलेटिन   २ माघ, २०७६



पोखरा- धरहरा भन्नासाथ प्रत्येकको मन मस्तिष्कमा काठमाडौँको सुन्धाराकै धरहराको झझल्को आउँछ । गोर्खा भूकम्पका कारण क्षतिग्रस्त त्यो धरहरा पुनःनिर्माण भइसकेको छैन । तर,पोखराको लागि भने धरहरा नौलो कुरा हो ।

भूकम्प पश्चात सबैको चासो र चर्चामा रहेको धरहराको अनुभव गराउने उद्देश्यले युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा धरहरा ठड्याइएको छ । महोत्सवका सहभागीका लागि यतिखेर धरहरा नौलो आकर्षण जस्तै बनेको छ ।

त्यसैले होला पोखरा महोत्सव हेर्न पुग्नुभएका गगनगौंडाका हरिप्रसाद सुवेदीलाई धरहरा देख्दा निकै रमाइलो लाग्यो । भूकम्पअघि आफूलाई मन लागेर पनि काठमाडौँमा घरहरा चढ्ने मौका नमिलेको बताउँदै उहाँले सक्कली नभए पनि पोखरामा चढेर अनुभव लिएको सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “ महोत्सवमा धरहरा राखिनुले यहाँ आउने जो कोहीले यसबारे चढेर अनुभव लिन सक्नेछन् ।” महोत्सवका सहभागीलाई काठमाडौँकै धरहराको झझल्को दिने गरी ४० फिट अग्लो ६ तलाको धरहरा आठ लाखमा एसके साउन्डले निर्माण गरेको हो ।

धरहराबाट महोत्सवको मञ्च, दर्शक, गतिविधि, अमरसिंह चोक र आसपासको क्षेत्र नियाल्न सकिन्छ ।  बुधबार मात्रै सञ्चालनमा ल्याइएकोले पहिलो दिनमा एक हजार दुई सयले चढेर अनुभव लिएको एसके साउन्डका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिनुभयो ।

धरहरा चढ्न दर्शकले प्रति टिकट ६० रुपैयाँ तिर्नुपर्छ भने ७० वर्ष माथिका र सात वर्ष मुनिकालाई प्रवेश निःशुल्क गरिएको छ ।पोखराको काँहुमा रहेको सामान्य धरहराबाट पोखरा हिमाल र रमणीय बजारको अवलोकन गर्न सकिन्छ ।

यहाँको उपत्यकाभित्र अन्य ठाउँमा नरहेको र पर्यटकीय नगरीमा एउटा आवश्यक छ है भन्ने सन्देश दिन महोत्सवस्थलमा धरहरा ठड्याइएको गुरुङले बताउनुभयो ।

“महोत्सवका सहभागीलाई धरहराबारे जानकारी र अनुभव गराउनु मात्र नभइ पर्यटकीय नगरीमा यसको आवश्यकता बोध गराउन सम्बद्ध सबैलाई ध्यानाकर्षण गराउन यो बनाइएको हो,” उहाँले भन्नुभयो ।

युनाइटेड क्लबले अमरसिंह चौरमा गर्दै आएको महोत्सवमा प्रत्येक वर्ष नयाँ–नयाँ किसिमका गतिविधि समेटिएको क्लबका पूर्व अध्यक्ष एवं अतिथि व्यवस्थापन समितिका संयोजक हिमालय बख्रेलले बताउनुभयो ।

प्रत्येक वर्ष थपिने नयाँ गतिविधि अन्तर्गत यसवर्ष सञ्चालित दशौं संस्करणमा धरहरा चढ्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । महोत्सवकै अवसरमा प्रत्येक वर्ष कहिले बसमा निःशुल्क चिडियाखानाको अवलोकन, कहिले हात्ती तथा कहिले उँट सवार गर्ने व्यवस्था मिलाइएको छ ।

महोत्सवका माध्यमबाट क्लबले सामाजिक काममा अग्रसरता देखाउँदै अघि बढेको बताउँदै क्लबका अध्यक्ष लालकाजी गुरुङले वर्षेनी महोत्सवमा दर्शकलाई फरक–फरक शैलीबाट मनोरञ्जन प्रदान गर्दै आएको बताउनुभयो । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation