उखु किसानको बक्यौता नदिने ३ उद्योगीको बैंक खाता रोक्का

 अर्थ बुलेटिन संवाददाता   ८ माघ, २०७६



काठमाडौं । उखु किसानको बक्यौता नदिने ३ उद्योगीको बैंक खाता रोक्का गरेको छ । अघिल्लो समयको जस्तो समस्या नदोहोर्‍याउनका लागि उद्योग मन्त्रालयले किसानको ठूलो रकम बक्यौता दिन बाँकी रहेका ३ उद्योगको बैंक खाता बन्द गरेको छ ।

उद्योग मन्त्रालयले अन्नपूर्ण, इन्दिरा र लुम्बनी चिनी उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी गरेको सहसचिव दिनेश भट्टराईले जानकारी दिए ।

उद्योग मन्त्रालयका अनुसार अन्नपूर्ण चिनी उद्योगले किसानलाई ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । यसैगरी लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख रुपैयाँ र इन्दिरा चिनी उद्योगले ११ करोड २२ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

किसानको बक्यौता रकम तिर्न सरकारले चिनी उद्योगीहरूलाई दिएको म्याद मंगलबार सकिएको छ । तर, किसानले अझै एक अर्ब पाएका छैनन । त्यति मात्रै होइन, अनुदानबापत सरकारबाट पाउनुपर्ने एक अर्ब ३२ करोड पनि पाएका छैनन ।

उद्योगीबाट पीडित किसानले सरकारसँगको लिखित सहमतिमा समेत ठगिएको महसुस गर्दै फेरि आन्दोलनको तयारी गरेका छन् ।

सर्लाहीका किसान काठमाडौं आएर आन्दोलनमा उत्रिएपछि सरकारले गत १८ पुसमा उद्योगीबाट ७ माघभित्र बक्यौता भुक्तानी गराउने प्रतिबद्धतासहित किसानसँग पाँचबुँदे सहमति गरेको थियो । तर, म्याद सकिँदासम्म केही उद्योगी सरकारको सम्पर्कमै आएका छैनन भने केहीले थप समय माग गरेका छन् ।

उद्योग विभागका अनुसार किसानलाई तिर्नुपर्ने एक अर्ब १६ करोडमध्ये मंगलबारसम्म उद्योगीले १६ करोड १४ लाख मात्रै भुक्तानी गरेका छन ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation