राष्ट्रियसभाको निर्वाचन आज, १८ सदस्यका लागि मतदान हुँदै

 अर्थ बुलेटिन संवाददाता   ९ माघ, २०७६



काठमाडौं । आज   राष्ट्रियसभाका १८ सदस्यका लागि  मतदान हुँदैछ । संसदको माथिल्लो सदन समेत भनेर चिनिने राष्ट्रियसभा निर्वाचनमा ६ दलका ४५ जना उम्मेदवार मैदानमा छन् । निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुखले मतदान गर्न पाउनेछन् । 

 सातवटा प्रदेशका ५ सय ५० जना प्रदेश सदस्य र १ हजार ५ सय ६ स्थानीय तहका पदाधिकारी गरी २ हजार ५६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा मतदान स्थल तोकिएका छन् । प्रदेश १ को बिराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदानस्थल तोकिएको छ । केन्द्रमा यस केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तह सदस्यतर्फ २ सय ८४ गरी ३ सय ६७ मतदाता छन् ।

प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवनमा मतदान स्थल तोकिएको छ । प्रदेश २ मा १ सय ७ प्रदेशसभा सदस्य र २ सय ७२ स्थानीय तहका गरी ३ सय ७९ जना मतदाता छन् ।

बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवनमा मतदान स्थल तोकिएको छ । प्रदेश सभा सदस्यतर्फ १ सय १० र स्थानीय तह सदस्यतर्फ २ सय ३८ गरी ३ सय ४८ जना मतदाता छन् ।

गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदानस्थल तोकिएको छ। प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तह सदस्यतर्फ १ सय ७० गरी २ सय ३० जना मतदाता रहेका छन् ।

प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ । प्रदेश सभा सदस्यतर्फ ८७ र स्थानीय तह सदस्यतर्फ २ सय १८ गरी ३ सय ५ जना मतदाता छन् ।

कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवनमा मतदान स्थल तोकिएको छ । प्रदेश सभा सदस्यतर्फ ४० र स्थानीय तह सदस्यतर्फ १ सय ५८ गरी १ सय ९८ जना मतदाता छन् ।

सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थल तोकिएको छ । प्रदेश सभा सदस्यतर्फ ५३ र स्थानीय तह सदस्यतर्फ १ सय ७६ गरी २ सय २९ जना मतदाता रहेका छन् ।
प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीले मत दिन पाउने भएपनि मतभार भने फरक हुनेछ । प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ रहेको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजना, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा चारजना, बागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुईदुई जना, प्रदेश ५ मा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी दुईदुई जना गरी कुल १८ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् । 

निर्वाचनमा नेकपा, कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी ६ वटा राजनीतिक दलले भाग लिदैंछन् ।

राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यमा नेकपाका ९, नेपाली नेपाली कांग्रेसका ७, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्य छन् ।

 बिहीबार निर्वाचन भए पनि १९ सदस्यको कार्यकाल भने फागुन २० मा सकिनेछ । अर्थमन्त्री डा. युवराज खतिवडासहित १९ सदस्यको दुई वर्षे कार्यकाल पूरा हुन लागेको छ ।

त्यस्तै, अन्य बिदा हुने सांसदहरुमा  सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले एक सदस्य मनोनयन गर्ने छिन् । 

 

 

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation