महराले सफाइ पाउने प्रमुख आधार पीडितको बकपत्र

    ६ फागुन, २०७६



काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयास गरेको आरोपबाट पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ । किटानी जाहेरी नै खण्डन हुने गरी पीडितले अदालतमा गरेको बकपत्र महराले सफाइ पाउने प्रमुख आधार बनेको हो ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले घटनास्थलमा बरामद भएका सामानको औंठाछाप पनि प्रतिवादीसँग मेल नखाएको भन्ने अर्को तथ्यलाई सफाइको आधार बनाएको छ ।

‘फैसलाको पूर्णपाठ तयार भइसकेको छैन, त्यो आएपछि विस्तृत रूपमा स्पष्ट हुनेछ,’ जिल्ला अदालतका स्रेस्तेदार आनन्दकुमार श्रेष्ठले कान्तिपुरसँग भने, ‘अदालतमा प्रतिवादीको इन्कारी बयान थियो, जाहेरीकर्ताले पनि प्रतिवादीको भनाइसँग मेल हुने गरी कुटपिट र अरू घटना नभएको बयान दिएकाले आरोपबाट सफाइ ठहर्ने भनी रायकिताबमा राय व्यक्त भएको छ ।’

रायकिताबको रायअनुसार घटनास्थलमा बरामद भएका गिलासलगायत सामानमा भेटिएको हस्तरेखा र आरोपितहरूको हस्तरेखाको तुलनात्मक अध्ययनबाट पनि प्रतिवादी घटनामा संलग्न भएको पुष्टि हुन नसकेको उल्लेख छ ।

हस्तरेखाको अध्ययन गरेका विशेषज्ञले औंठाको छापमा तुलनात्मक अध्ययन गर्न र विश्लेषण गर्न नसकिएको राय दिएका थिए । बयानमुखी अनुसन्धान पद्धतिमा मुद्दाका सरोकारवालाले अदालतमा गर्ने बयानलाई महत्त्वपूर्ण प्रमाण मानिन्छ । जिल्ला अदालत काठमाडौंले त्यही बयानलाई प्राथमिकता दिएर न्यायनिरूपण गरेको देखिन्छ ।

संसद् सचिवालयमा कार्यरत कर्मचारी ‘नयाँ बानेश्वर २६ ९परिवर्तित नाम० माथि बलात्कारको प्रयास गरेको आरोपमा पूर्वसभामुख महराविरुद्ध गत कात्तिक १४ मा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैदको मागदाबी गरेको थियो ।

जिल्ला अदालतको फैसला चित्त नबुझेमा जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयमार्फत उच्च अदालतमा पुनरावेदन गर्न पाउँछ । फैसला चित्त बुझाएमा पुनरावेदन नगर्ने निर्णय पनि हुन सक्छ तर त्यसका लागि फाइल तहगत निर्णय गर्दै महान्यायाधिवक्तामार्फत सदर गर्नुपर्छ ।

जिल्ला अदालतको फैसलासँगै महरा कानुनी रूपमा ‘निर्दोष’ ठहर भएकाले अब नेकपा सांसदका रूपमा क्रियाशिल हुनेछन् । नैतिकताको सवाल उठेपछि सभामुख पदबाट उनले राजीनामा दिएका थिए । सभामुख हुँदा नै पार्टी सदस्यता त्यागेकाले अब पार्टीमा उनको के भूमिका हुने भन्नेबारे टुंगो लागेको छैन । कान्तिपुर दैनिकले खबर छापेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation