कोरोना रोकथाममा सबै पक्षको धैर्यताप्रति राष्ट्रपतिद्वारा सम्मान व्यक्त सरकारको कदममा सहयोग गर्न आह्वान

 अर्थ बुलेटिन संवाददाता   २१ चैत, २०७६



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार देशबासीको नाममा एक सन्देश जारी गरेकी छिन् । सम्बोधनमा राष्ट्रपति भण्डारीले कोभिड–१९ कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदममा साथ दिन आह्वान गरेकी हुन् ।

उनले  लकडाउनका कारण दैनिक जीवनमा केही अप्ठ्यारो भएपनि अमूल्य जीवन जीउन संयमित भएर घरभित्रै रहन आह्वान गरेकी छिन् ।   महामारीको बेला सबैभन्दा जोखिमयुक्त काम गर्ने स्वास्थ्यकर्मी, सम्पूर्ण स्वास्थ्यकर्मीलगायत सम्बद्ध सबै पक्षको धैर्यताप्रति उनले सम्मान व्यक्त गरेकी छिन् । 

उनले कुनै भावनामा नबगी रोगको गम्भीरतालाई ममन गरी कोरोना भाइरसको रोकथाम र उपचारमा नेपाल सरकारले चालेका कदमलाई साथ दिन पनि सम्पूर्ण नागरिलाई अनुरोध पनि गरेकी छिन् ।

’पूरै देश लकडाउन गर्नुपर्ने परिस्थितिले हाम्रो अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव पारेको छ । यसले सम्पूर्ण उद्योगधन्दा र व्यापार व्यवसायलाई नकारात्मक असर पुर्याएको छ । यस परिस्थितिमा दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवी सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएको छ । यसको लागि नेपाल सरकारले विभिन्न राहत प्याकेजको घोषणासमेत गरिसकेको छ’, सन्देशमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले अहिले विद्यमान कोरोना भाइरसविरुद्धको लडाइँमा मानवजातिले निकट भविष्यमा नै विजय हासिल गर्ने विश्वास व्यक्त गरिन् । उनले यस महामारीविरुद्धको लडाइँमा आआफ्ना तर्फबाट सक्दो योगदान गर्न सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थालाई उनले आह्वान गरिन् । त्यस्तै, नेपाललाई यसविरुद्ध लड्न विभिन्न तवरले सहयोग गर्ने छिमेकी राष्ट्रहरुप्रति धन्यवाद ज्ञापन पनि गरिन् ।

त्यस्तै, सबै राष्ट्र एकजुट भए कोरोना संक्रमणलाई नियन्त्रण गर्न सकिने पनि उनको मत थियो । उनले उपचाररत नेपालीको स्वास्थ्य लाभको कामना पनि गरिन् । राष्ट्रपति भण्डारीले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलगायतको कोरोना नियन्त्रण प्रयासका निम्ती आभार व्यक्त गरिन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation