पानी, प्रेम र बिहे नचल्ने, बलात्कार चल्ने ?

    १४ जेठ, २०७७



काठमाडौं । १० जेठ ०६८ मा संसद्ले जातीय विभेदलाई सजाय गर्ने कानुन पास गरेको थियो, नौ वर्षपछि १० जेठमै पश्चिम रुकुममा दलित युवा र उनका साथीहरूलाई भेरीमा धकेलियो, कानुन बनेको नौ वर्षमा १७ नागरिकले दलित भएकै कारण ज्यान गुमाएका छन्, जसमा बलात्कृत छोरीहरू पनि छन् १३ वर्षीया दलित बालिका, २५ वर्षीय युवाद्वारा बलात्कार ।

सजाय – बिहे ।

जसले बलात्कार गर्यो, उसैको श्रीमती हुनुपर्ने, त्यो पनि १३ वर्षीया अबोध बालिकाले ।

पाषण युगको यस्तो न्याय २१औँ शताब्दीमा । हाम्रै देशमा, हाम्रै समाजमा ।

दलित परिवारको पक्षमा बोलिदिने कोही भएन, त्यसैले समाजको न्याय मानेर बलात्कारी पुरुषको पछिपछि गएकी बालिका त्यही साँझ गाउँको रूखमा भेटिइन्, झुन्डिएको अवस्थामा । यो घटनाले बालिकाको बिहे गराइदिने स्थानीय जनप्रतिनिधिको न्याय मात्र होइन, हाम्रो समाजको चेतना नै रूखमा झुन्डिएको सन्देश दिएको छ ।

घटना हो रुपन्देही देवदहको । शुक्रबार साँझ १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासी घरबाट हराइन् । बुबाको निधन भइसकेको छ । आमाले हारगुहार गरिन् । गाउँले जम्मा भएर खोज्न हिँडे । राति ११ बजे उनी नजिकैको खरबारीमा भेटिइन्, उनको साथमा थिए स्थानीय २५ वर्षीय वीरेन्द्र भर ।

भरले बालिकालाई फकाएर शारीरिक सम्बन्ध राखेको स्थानीय बासिन्दाहरूको भनाइ छ । तर, १३ वर्षीया अबोध बालिकालाई जबर्जस्ती वा फकाएर शारीरिक सम्बन्ध राख्नु कानुनी र मानवीय रूपमा बलात्कार हो, जघन्य अपराध हो ।

यो विषयमा छलफल गर्न अर्को शनिबार बिहान वडाध्यक्ष अमरबहादुर चौधरीसहित समाजका अगुवाहरूको भेला बस्यो । समाजले भन्यो, ‘बालिकामाथि अन्याय भएको छ, त्यसैले वीरेन्द्रले सजाय पाउनुपर्छ । सजायस्वरूप अब उनले बालिकालाई श्रीमती स्विकार्नुपर्छ ।’

बालिकालाई आफूमाथि भएको अपराध र उनले पाउनुपर्ने न्यायका बारेमा थाहा थिएन । उनकी आमालाई कानुनको दफाबारे जानकारी थिएन । त्यसमाथि उनको मत के छ भनेर समाजले सोध्दै सोधेन । बरु अब ‘बिटुलिएकी’ छोरी घरमा राखेर के गर्छौ भनेर समाजका मान्छेले आमालाई पनि छोरीको बिहे गरिदिन भने ।

आमा शान्ति देवीले नयाँ पत्रिकासँग भनिन्, ‘गाउँ समाजका मानिस जुटेर छलफल भएको थियो । छलफलमा वीरेन्द्र भरले मेरो छोरीलाई श्रीमती बनाउँछु भन्यो । वडाध्यक्षले समेत अब छोरीलाई जिम्मा दिनु ठीक हो भन्नुभयो । सबैको फैसलापछि छोरी वीरेन्द्रको पछि लागेर गएकी हो ।’

न्यायको पर्खाइमा आमा स् रुपन्देही देवदहकी १३ वर्षीया बालिकालाई बलात्कार गर्ने र श्रीमती बनाएर लग्ने युवाको परिवारले छोरीको हत्या गरेको भन्दै उजुरी दिन इलाका प्रहरी कार्यालय बुटवल आएकी आमा ।

बलात्कार गर्ने पुरुष, तर बिटुलिनेचाहिँ बालिका । समाजको यस्तो मानसिकतालाई कसरी चुनौती दिने ? अबोध बालिकालाई थाहा थिएन । त्यसैले उनी फैसला स्वीकार गरेर बलात्कारी पुरुषको घर गइन् ।

घर पुग्नासाथ युवाको परिवार उफ्रन थाल्यो । परिवारका सदस्यहरू दलितकी छोरी बुहारी बन्न आई भन्दै बालिकामाथि जाइलागे । त्यही दिन दिउँसो स्थानीय रूखमा झुन्डिएको अवस्थामा बालिकाको लास भेटियो ।

देवदह–२ पेटवनिया रोहिणी खोला किनारमा उनको लास भेटिएको थियो । शरीरको माथिल्लो भागमा लगाएको कपडा च्यातिएको, भित्री बस्त्र देखिएको र चप्पलसमेत नलगाएको अवस्थामा बालिकाको शव फेला परेकोे प्रहरीको भनाइ छ ।

‘उनीहरूले मेरो छोरीलाई तँ अछुतकी छोरी हाम्रो घरमा पस्न पाउदैनस् भनेछन् । कुटपिट गरेछन् । उनीहरूले कुटपिट गरेर मारेपछि मेरो छोरीलाई रूखमा झुन्डाएका हुन् । मैले चिनेको ठूलो मान्छे कोही छैन, सरकारले मलाई न्याय दिनुपर्छ,’ बालिकाकी आमाले भनिन् ।

तर, विपन्न दलित परिवारकी नाबालिकामाथि जघन्य अपराध भएको देखेर पनि प्रहरीले मुद्दा चलाउन मानेको थिएन । यो आत्महत्या हो भनेर प्रहरीले घटनालाई साम्य बनाउन खोजेको थियो । तर, १३ वर्षीया बालिकामाथि भएको बलात्कार गर्ने मात्र होइन, उनको बिहे गराइदिएर लगातार बलात्कार गर्न दिने फैसला सुनाउने समाजले पनि अपराध गरेको छ । यति लामो पृष्ठभूमिपछि रूखमा बालिका झुन्डिएको अवस्थामा फेला पर्दा पनि यो आत्महत्या भनेर प्रहरी मौन बसेको थियो ।

तर, अधिकारकर्मीहरूले दबाब दिएपछि घटनाको चार दिनपछि मंगलबार मात्रै प्रहरीले जाहेरी दर्ता गरेको छ । पूर्वसांसद तथा अधिकारकर्मी विनोद पहाडीले इलाका प्रहरी कार्यालयले अझै पनि जाहेरी दर्ता गर्न आनाकानी गरे पनि आफूहरूले आवाज उठाएपछि बाध्यतावश जाहेरी लिएको बताए । शव पोस्टमार्टमपछि मंगलबार आफन्तले बालिकाको शव बुझेका छन् । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation