कोरोनाले त्रसितहरुमा सलहले थप त्रास बढायो

    १६ जेठ, २०७७



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीले त्रसित बनाइरहेका भारतमा सलहले थप त्रास बढाएको छ । अफ्रिकी मुलुकबाट इरान र पाकिस्तान हुँदै भारत भित्रिएको सलह फट्यांग्रा प्रजातिअन्तर्गतको कीरा हो ।

सलहले खाद्यान्न बालीलगायतका कृषि उपजलाई क्षति पुर्‍याउने भएकाले सलहलाई फौजी कीराकै वर्गमा राखिन्छ । विगतका वर्षहरुमा सलहको हुल भारतलगायतका दक्षिण एसियाको भागमा असारको दोस्रो सातातिर आउने गरेकोमा यस वर्ष केही पहिले नै आएको छ । जसले गर्दा कोरोना महामारीका कारण अर्थतन्त्रनै धरासायी हुने हो कि भन्ने चिन्ता व्यक्त भइरहेका बेला सलहको प्रकोपले खाद्यान्न बालीमा क्षति हुन गई संकट थप गहिरिने त्रास बढेको छ ।

भारतमा सामान्यतः गर्मीयाममा पाकिस्तानको सीमा हुँदै पश्चिम राजस्थान र गुजरातमा सलह प्रवेश गर्ने गर्छ । तर, यस वर्ष भने चैतको अन्त्यतिर नै सलह देखिएको थियो । हाल भारतका राजस्थान, गुजरात, महाराष्ट्र, मध्यप्रदेश, पन्जाब, दिल्ली र उत्तरप्रदेशमा सलहले ठूलो मात्रामा बालीनाली नष्ट पारेको छ ।

भारतमा अहिले देखिएको सलह अफ्रिकी मूलको भएको र पछि इरान र पाकिस्तानमा प्रजनन हुँदै गएको बुझिएको छ । सलहको एउटा सामान्य हुल एक वर्गकिमि देखि कैयौं वर्ग किमि क्षेत्रफलसम्म फैलने गर्छ । एक वर्गकिमिमा फैलिएको बथानमा ४ करोडदेखि ८ करोडवटासम्म सलह हुने गरेको अनुमान छ । अझ ठूला हुलमा त त्यो संख्या अरबसम्म पुग्ने गर्छ । भारतीय सञ्चरामाध्यमहरुले विभिन्न अनुसन्धानलाई उद्धृत गर्दै एउटा सलहले हरेक दिन आफ्नो तौलबराबर करिब २ ग्रामबराबर खानेगर्छ । एउटा सानो हुलले हरेक दिन २ हजार ५ सय जनाले खानेबराबरको खाद्यबाली खान सक्छन् । हुल बाँधेर हिँड्ने यो कीराले हजारौं किलोमिटर यात्रा गर्न सक्छ ।

सामान्यतस् भारतमा आउने सलह एकपटक वर्षाका बेला प्रजनन भएर र असोज लाग्दासँगै बाहिरिने गरेकोमा गत वर्ष वर्षा ढिलोसम्म भएको र यस वर्ष प्रिमनसुन पनि धेरै भएकाले तीनपटकसम्म प्रजनन भएको हुँदा संख्यामा पनि उल्लेख्य वृद्धि भएको दाबी गरिएको छ । जसका कारण यस वर्षको सलहको हुल अघिल्ला वर्षहरुभन्दा निकै ठूलो भएको बताइएको छ ।

यसैले पनि भारतका विज्ञहरुले अघिल्ला वर्षको तुलनामा खाद्यान्न बालीमा ठूलो क्षति पुग्ने अनुमान गरेका छन् । यस वर्ष वैशाखको सुरुवातमै भारत र पाकिस्तानको सीमा देखिएको बताइएको छ । राजस्थानमा एक महिनाअघि यसले त्रासदी मच्चाइसकेको छ । राजस्थान, हरियाणा र मध्यप्रदेशमा गहुँलगायतका कृषि बालीमा ठूलो मात्रामा क्षति पुर्‍याएको छ ।

राजस्थान र गुजरातका केही भागमा त मंसिर र पुस महिनामै सलहको प्रकोप देखिएको बताइएको छ । तर, पछिल्लो समय सलहको हुल निकै बढेको र उत्तरप्रदेश, दिल्ली, पन्जाबतिर बढिरहेको बताइएको छ । उत्तरप्रदेश र पन्जाब कृषि उपजका लागि चिनिएका राज्य हुन् ।  कान्तिपुर दैनिकमा समाचार छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation