मानो छरी मुरी फलाउने उक्तिका साथ यसरी मनाइयो धान दिवस

 अर्थबुलेटिन संवाददाता   १५ असार, २०७७



काठमाडौं ।  आज  १५ असार, अर्थात् धान दिवस । मुलुकका विभिन्न स्थानमा रोपाईँ गरेर धान दिवस मनाइँयो । नेपालमा  मानो छरी मुरी फलाउने उक्तिका साथ धान दिवस मनाईन्छ । सोमबार  ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाइँ महोत्सब मनाएको छ ।

कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताए । कार्यक्रममा उराष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ उपस्थित थिए ।

उनले धान खेतिको विकासका लागि उन्नत जातको धानको बीउ प्रयोग गर्ने वातावरण अझै पनि बन्न नसकेको बताए । उनले अझै पनि तराईको ८० प्रतिशत भूभागमा पुराना जातहरुको रोपाइँ भइरहेको बताए । उनले कृषि अनुसन्धान र किसानको बीचमा ठूलो खाडल रहेकाले उन्नत जातको बीउ किसानले पाउन नसकेको उनले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले कृषिमा अनुदानको मोडालिटी परिवर्तन गरी बैंकबाट ५ प्रतिशत ब्याजमा ऋण पाउने, मल तथा बीउमा अनुदान दिने व्यवस्था गरिएको बताए । उनले जोखिम न्यूनीकरणका लागि बाली तथा पशुपन्छी बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान दिइएको बताए । उनले कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि कृषि उत्पादनमा लाग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले खेतमै पुगेर कार्यक्रम गरिनु उचित भएको बताए ।

नेपाल कृषि अनुसन्धान परिषद्का कायएकारी निर्देशक दिपक भण्डारीले नेपालमा विकास भएका धानको बीउको प्रयोग बढाउनुपर्ने बताए । नेपालमा हर्दिनाथ हाइब्रिड एक र हर्दिनाथ हाइब्रिड तीन जातको धान विकास भइसकेकाले यसको प्रयोग बढाउनुपर्ने बताए । उनले परम्परागत रुपमा धान दिवस मनाउँदै आएको र यसले किसानहरुको आत्मबल बढाउने बताए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation