बलात्कार मुद्दामा बयान फेर्दा पीडित भनिएकी महिलालाई एक महिना कैद !

    १९ असार, २०७७



काठमाडौं । बलात्कार मुद्दामा पीडित भनिएकी महिलाले बयान फेरेकै आधारमा चितवन जिल्ला अदालतले एक महिना कैद र ६३ हजार रुपैयाँ प्रतिवादी युवकलाई क्षतिपूर्तिबापत दिनुपर्ने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले पीडित भनिएकी युवतीले सुरुमा आफू बलात्कृत भएको भनेको र पछि बयान फेरेकै आधारमा कैद र जरिमाना हुने फैसला गरेको हो । १२ कक्षामा अध्ययनरत महिलाले अदालतमा बयान दिने क्रममा जबर्जस्ती करणीको उद्योग नगरेको र घटनास्थल भनिएको होटेलमा आफूहरू नगएको भनी जाहेरी बेहोरा प्रतिकूल हुने गरी अदालतमा बकपत्र गरेकी थिइन् ।

सुरुमा युवतीले आफूलाई प्रतिवादी युवकले बलात्कार गरेको भनी किटानी जाहेरी दिएकी थिइन् । युवतीको किटानी जाहेरीकै आधारमा प्रहरीले विवेक पंगेनीलाई पक्राउ गरेर जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको थियो । प्रहरीमा बलात्कार भएको भनी दिएको बयान अदालतमा पुगेपछि होइन भनी बयान दिएपछि अदालतले बयान फेरेकै आधारमा उनलाई कैद सजाय सुनाएको हो ।

घटनास्थलमा गएको अवस्था पुष्टि भएको र निजले दिएको जाहेरीका आधारमा हालसम्म थुनामा रहेका प्रतिवादीले आफूलाई केही नगरेको भन्ने जाहेरवालाको बकपत्रका आधारमा प्रतिवादीलाई सफाइ दिने जिल्ला अदालतको फैसलामा उल्लेख छ ।

युवतीका साथमा गएका अन्य दुई जनाले भने जाहेरवाली र प्रतिवादी होटेलको कोठामा गई लामो समयसम्म बाहिर नआएपछि आफूहरू फर्किएको भनी अदालतमा बकपत्र गरेका थिए । आरोपित युवकले समेत आफूहरू होटेलमा बसेको तर करणीको प्रयास नगरेको बयान दिएका थिए ।

अदालतको फैसलासँगै अब ती युवतीले एक महिना कैद र प्रतिवादीलाई ६३ हजार क्षतिपूर्तिबापत तिर्नुपर्नेछ । प्रतिवादी युवक सात महिनादेखि अदालतको आदेशपछि जेलमा बसेको र प्रतिदिन ३ सय रुपैयाँको दरले हुन आउने बराबरको रकम उनलाई क्षतिपूर्ति भराउन अदालतले फैसला जारी गरेको छ ।

चितवनको रत्ननगर नगरपालिका–६ स्थित सौराहको नमुना भिलेज रिसोर्टको कोठामा गत २७ कात्तिकमा बलात्कार गरेको भन्दै युवतीले गत १ मंसिरमा जाहेरी दिएकी थिइन् ।

जाहेरीका आधारमा पक्राउ परेका स्थानीय विवेक पंगेनी चितवन जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा थिए । अदालतको फैसला चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउनेसमेत न्यायाधीश रावलले गरेको फैसलामा उल्लेख छ । राजधानी दैनिकमा समाचार  छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation