के हुन्छ सलह किरा भुटेर खाए ? खान हुन्छ कि हुँदैन ?

    २० असार, २०७७



काठमाडौं ।  कोरोना भाइरसको आतङ्कले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतङ्क थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ ।

विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि झोलसहित खाएका कैयौँ भिडियो युट्युबमै भेटिन्छन् । नेपालमा यो खान हुन्छ भन्ने एकथरी छन् भने खान हुँदैन भन्ने मत राख्ने विज्ञ छन् र उनीहरूले चरा, कुखुरा वा हाँसलाई दाना बनाएर दिन सकिने बाटो पनि देखाएका छन् ।

काठमाडौं उपत्यकावासीले वर्षौंअघि नै सलहलाई हाँडीमा भुटेर खाएको इतिहास छ । १०१ वर्षीय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले नेपालमा सलह आएको उतिबेलै देखे । उनले त्यतिबेला सलह पोलेर अनि हाँडीमा भुटेर काठमाडौंका मानिसले खाएको समेत देखेका छन् ।

उनका अनुसार सलह आकाशै ढाकेर आएका थिए । सलह करोडौं सङ्ख्यामा थिए भन्ने उनको अनुमान छ । जोशी सलहले बादल जस्तै सूर्य नै नदेखिने अँध्यारो बनाइदिएका थिए भनेर स्मरण गर्छन् ।

सलह जहाँ बस्यो रुखपात, धान बाली त्यहाँको हरियाली सखाप बनेको उनी सम्झछन् । उपत्यका त्यो समय खेत नै खेत अनि वरिपरि हरियाली जङ्गलले भरिएको थियो । सलहले खाएपछि बुच्चे र ठुटे बोटबिरुवा हेरेर किसान दिक्क भएका थिए ।

उनका अनुसार काठमाडौंका विभिन्न स्थानका मानिसले सलह समाते । त्यति मात्र होइन सडकमा लहरै भाग लगाएर बेच्न पसल नै थापे । ‘आफू खाने अनि मसला हालेर मीठो बनाएको सलह अरूलाई बेचेर चखाएको मैले देखेको हुँ,’ शताब्दी पुरुष जोशी स्मरण गर्छन् ।

एक भागको २ पैसादेखि ४ पैसा सम्ममा बेच्ने गरेका थिए । उनको कथनले नेपालमा सलहले आतङ्क मच्चाएको र मानिसले खाएको पनि पुष्टि हुन्छ । सरदार भीमबहादुर पाँडले त्यस बखतको नेपाल पुस्तकमा वि।सं १९८५ मा आकाशै ढाक्ने गरी नेपालमा सलह आएको उल्लेख गरेका छन् । उनले सलहले अनिकाल नै पारेको र मानिसले सलह खाएको पनि चर्चा गरेका छन् ।

पछिल्लो समय सलह खरिद बिक्री गर्ने क्रम बढेको छ । यसलाई पकाएर खाने प्रवृत्ति पनि देखिएको छ । सलह खान हुन्छ भन्नेले खान थालेका छन् ।

खान हुन्न कोरोना जस्ता भाइरस फैलाउन सक्छ भन्ने अर्काथरीले नखान प्रेरित गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयका कीट विज्ञ डा। प्रेमबहादुर बुढा सलहमा उच्च प्रोटिन हुने भएकाले खान हुने बताउँछन् ।

सलह भगाउन प्रयोग गरिने विषादी र विभिन्न देश डुलेर आएकाले यसमा रोग वा भाइरसको अंश हुन्छ कि भन्ने मानिसमा एक प्रकारको आशङ्का रहेको छ तर उनी त्यो कुराले महत्व नराख्ने उल्लेख गर्छन् । उनले ‘कहीँ कतै विषादी प्रयोग गरिएको सुनिएको छ तर त्यसले सलहलाई खासै असर गर्दैन, नेपालको परम्परागत समाजमा यस्ता कीरा खाने चलन छ,’ डा. बुढा भन्छन्, ‘वर्षा मौसम रहेको र उड्ने कीरा भएकाले विषादीको असर रहँदैन ।’

उनका अनुसार नेपालमा आएको सलह तेस्रो जेनेरेसनको हो । अफ्रिकाबाट उडेको सलहको तेस्रो पुस्ता भएकाले भाइरसजन्य सङ्क्रमणको सम्भावना न्यून रहेको उनको भनाइ छ ।

अर्का कीट विज्ञ सञ्जय विष्टले मानिसले खान हुनेरनहुने सुुझाव नदिने तर कुखुरा र हाँसका लागि दानाका रूपमा प्रयोग गर्न सकिने बताए । आफूले किसान र उद्यमीलाई त्यही सुझाएको उनले बताए । गोरखापत्र दैनिकले समाचार छापेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation