कोरोना संक्रमणको उच्च जोखिममा प्रहरी संगठन, सेवा प्रभावित

    २० सावन, २०७७



काठमाडौं  । वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित वडा प्रहरी कार्यालयले साउन २ गते ५ भारतीय नागरिकलाई पक्राउ गर्‍यो । अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँचै जना वीरगन्जका औद्योगिक क्षेत्रमा भारतीय कामदार ओसार्थे । थुनामा राख्नुअघि गरिएको पीसीआर परीक्षणमा सबैमा कोरोना संक्रमण देखिएपछि प्रहरी झस्किए । ८ गतेबाट ४८ प्रहरी कार्यरत चौकी नै सिल गरियो ।

थुनामा रहेकाबाट संक्रमण सरेको हुन सक्ने आशंकमा सबै प्रहरीको पीसीआर परीक्षण गर्दा एक हवलदारमा संक्रमण पुष्टि भयो । यसरी १२ दिनसम्म सिल भएको प्रहरी चौकी सोमबारबाट फेरि सञ्चालनमा आएको छ । इन्सपेक्टर दीपक शाहका अनुसार सिलबन्दीका बेला चौकीमा आउने दैनिक करिब एक सय सेवाग्राहीलाई जिल्ला प्रहरी कार्यालय जाने व्यवस्था मिलाइएको थियो ।


श्रीपुर चौकीको दृष्टान्तले कोरोना संक्रमणका कारण जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने प्रहरीहरू कसरी काम गरिरहेका छन् भन्ने मात्रै बुझाउँदैन, कसरी संक्रमणको खतरामा छन् भन्ने पनि बुझाउँछ ।

प्रहरी प्रधान कार्यालयमा पछिल्लो एक सातामै ७२ जना संक्रमित देखापर्नु र भारतसँग सीमा जोडिएका नाकामा खटिएका प्रहरीमा संक्रमण बढ्नु, सोमबार मात्रै संक्रमणको उच्च जोखिम रहेको प्रदेश २ का २ ब्यारेक सिलबन्दी गरिनुले प्रहरी संक्रमणको उच्च जोखिममा रहेको देखाउँछ ।


अहिले प्रहरी प्रधान कार्यालयअन्तर्गतका सवारी व्यवस्थापन महाशाखा, सञ्चार निर्देशनालय, महानगरीय ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय धनुषाको ब्यारेक र सप्तरीको राजविराजस्थित प्रदेश २ तालिम केन्द्रको ब्यारेक सिल गरिएको छ । यसको सोझो असर सेवा प्रवाहमा पर्न थालेको छ ।

अनलाइनबाट वा नजिकैका प्रहरी कार्यालयबाट सेवा सञ्चालनको व्यवस्था मिलाइए पनि संक्रमण व्यापक भएको खण्डमा प्रहरीको सेवा प्रवाह कमजोर हुने देखिन्छ ।

अकाउन्ट शाखाका सहयोगी र चालकमा एकैचोटि संक्रमण देखिएपछि प्रदेश १ प्रहरी कार्यालय पनि एक सातको सिलबन्दीपछि खुलेको छ । यसअघि कहिले थुनुवामा त कहिले प्रहरीमा नै संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी, बैतडीकै इलाका प्रहरी कार्यालय पाटन, अछामको मंगलसेनस्थित प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पनि सिलबन्दी गरिएको थियो ।

संक्रमण देखिएलगत्तै सम्पर्कमा रहेका सबै प्रहरी कर्मचारीमा तुरुन्तै पीसीआर गर्ने र त्यसको नतिजा तुरुन्तै नआउँदा प्रहरी कार्यालय नै कैयौं दिनसम्म सिलबन्दी हुने गरेका छन् ।

कान्तिपुरले सातै प्रदेश प्रहरी कार्यालय र उपत्यकाबाट संकलन गरेको तथ्यांकअनुसार देशभरका १ सय ५९ प्रहरी संक्रमित भएर आइसोलेसनमा छन् । जसमध्ये सबैभन्दा धेरै ७२ जना प्रहरी प्रधान कार्यालयअन्तर्गत सवारी व्यवस्थापन महाशाखा र सञ्चार निर्देशनालयका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका ५ र अन्य २ गरी उपत्यकामा कार्यरत ७ संक्रमित प्रहरी उपचाररत छन् । देशभरबाट ९७ प्रहरी संक्रमणमुक्त भएर नियमित काममा फर्किसकेका छन् ।

प्रहरीमै संक्रमण बढेपछि देशव्यापी सुरु भएको समुदाय प्रहरी साझेदारी कार्यक्रम पनि प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदीले कोरोना त्रासकै कारण समुदाय तहबाट प्रहरीमा आउने सूचनामा पनि कमी आएको अनुभव सुनाए । कोरोना संक्रमण सुरु भएयता भारत र तेस्रो मुलुकबाट सुदूरपश्चिममा करिब ३ लाख जनसंख्या थपिएकाले प्रहरीको काम कारबाही झनै बढेको उनको भनाइ छ । ‘यद्यपि बिदा कटौती गरेर र कुनै प्रहरी चौकी सिल भयो भने अर्को चौकीबाट जनशक्ति खटाएर भए पनि सेवा प्रवाहमा कमी हुन दिएका छैनौं,’ उनले भने ।

प्रदेश १ का डीआईजी ईश्वरबाबु कार्कीले समुदायमा कोरोना संक्रमणको दर बढ्दै जाँदा त्यसको सोझो असर प्रहरी सेवामा पनि पर्ने बताए । उनका अनुसार सीमावर्ती क्षेत्रमा, मुद्दा शाखामा र फिल्डको अनुसन्धानमा खटिने प्रहरी जोखिममा छन् ।

वाग्मती प्रदेशका डीआईजी वसन्त लामाले उपत्यकाबाहेक प्रदेशमा कार्यरत प्रहरीमा संक्रमण नदेखिए पनि थप सचेत बन्नुपर्ने देखिएको बताए । हालसम्म १ हजार ५३ प्रहरीमा पीसीआर परीक्षण गरिए पनि उपत्यकाबाहेक वाग्मती प्रदेशमा कार्यरत प्रहरीमा संक्रमण नदेखिएको बताए । ‘स–साना समूहमा बनाएर खटाउने, एक समूहका प्रहरी अर्को समूहमा मिसिन नदिने, खाना खाने समय अलग–अलग गरेर संक्रमणको जोखिम कम गरिएको छ,’ उनले भने ।
संक्रमणको दर बढ्दै जाँदा प्रहरीको भूमिका पनि थपिने भएकाले थप सतर्क हुनुपर्ने प्रदेश ५ का डीआईजी रवीन्द्रसिंह धानुकले बताए । कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त पन्तका अनुसार दैलेख, सुर्खेत, जाजरकोट, कालीकोट र डोल्पामा कार्यरत २७ प्रहरी संक्रमित भए पनि सबै संक्रमणमुक्त भएर नियमित काममा फर्किसकेका छन् ।

सातै प्रदेशका प्रहरी प्रमुखले बिदा कटौती, सरुवा भई आउनेलाई १४ दिन क्वारेन्टाइनमा राखेर सेवा प्रवाह गरे पनि संक्रमणको जोखिमबाट बच्न अत्यावश्यक सामग्रीको पर्याप्त उपलब्धता नरहेको सुनाए । केहीले स्वास्थ्यकर्मीलाई झैं प्रहरीलाई पनि जोखिम भत्ता दिनुपर्ने माग गरेका छन् । ‘लामो समय बिदा नदिई काम मात्रै गराइराख्दा र अत्यावश्यक सामग्रीको पर्याप्त व्यवस्था नगरिँदा प्रहरीको सेवा प्रवाह कमजोर हुने देखिन्छ,’ प्रहरी प्रधान कार्यालयका एक उच्च प्रहरीले भने, ‘चौबीसै घण्टा सतर्क रहनुपर्ने प्रहरीलाई जोखिम भत्ता दिन वा प्रोत्साहन बढाउन कुनै काम गर्नुपर्ने जरुरी भइक्यो ।’ प्रहरीमा संक्रमण दर बढ्ने, ठूलो संख्यालाई क्वारेन्टाइनमा राख्नुपर्ने र धमाधम प्रहरी चौकी सिल गर्नुपर्ने अवस्थामा आपराधिक तत्त्वले फाइदा उठाउन सक्ने खतरा पनि उनले औंल्याए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपीसहित अन्य ४० जनामा कोरोना संक्रमण देखिपछि पूरै कार्यालय सिल गरिएको छ । गण्डकी प्रदेशका डीआईजी घनश्याम अर्यालका अनुसार सिलबन्दीपछि अन्य सबै प्रहरी अधिकृत र जवानको स्वास्थ्य परीक्षणको काम भइरहेको छ । उनले भने, ‘नजिकैको वालिङस्थित प्रहरी कार्यालय र अन्य जिल्लाबाट मद्दत टोली खटाएर जिप्रकाबाट हुँदै आएका शान्तिसुरक्षा र अपराध अनुसन्धान तथा नियन्त्रणका कामलाई निरन्तरता दिएका छौं ।’

संक्रमण सुरु भएपछि प्रवासमा रहेका १० लाख हाराहारी नेपाली स्वदेश फर्किएका, कतिपय जिल्लामा खाद्यान्न अभाव सुरु भएको, बेरोजगारी बढेकाले सामाजिक अपराधको संख्या बढ्न सक्ने प्रदेश प्रहरी प्रमुखहरू बताउँछन् । एक प्रमुखले त यसको फाइदा चन्द समूहजस्ता हिंसात्मक समूहले उठाउन सक्ने खतरा रहेको पनि औंल्याए ।

जनघनत्व धेरै रहेको उपत्यकामा संक्रमण बढ्दै जाने र यहींका प्रहरीमा एकपछि अर्को संक्रमण देखिने खतराले प्रहरीको उच्च नेतृत्वलाई सजग तुल्याएको देखिन्छ । गत बुधबार सिंहदरबारभित्र कर्मचारीको पीसीआर परीक्षण गर्ने क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका केही ट्राफिक प्रहरीले पनि पीसीआर परीक्षण गरे । कुल ५ सयमा गरिएको परीक्षणमा २ ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भयो । लगत्तै महाशाखाको कार्यालय र ब्यारेक सिल गरियो । संक्रमितको सम्पर्कमा आएकाहरूको परीक्षणमा अन्य ३ जनामा पनि संक्रमण देखियो । महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सबैको परीक्षण रिपोर्ट नआएसम्म महाशाखा सिल गरिएको छ । यहाँबाट हुने कारबाही, जरिवाना र सवारी व्यवस्थापनको काम नजिकैका अन्य ट्राफिक युनिटबाट हुने व्यवस्था मिलाइएको छ । महाशाखाको काम महानगरीय प्रहरी वृत्त थापाथली, दरबारमार्ग, कमलपोखरी, जनसेवा, सिंहदरबारबाट भइरहेको छ ।

एक उच्च प्रहरी अधिकारीले ठूलो संख्यामा संक्रमित देखिएको हेडक्वार्टरभित्रै ध्यान केन्द्रित हुँदा प्रदेशको सम्भावित जोखिममा समन्वयको अभाव खड्किने हो कि भनेर चिन्ता व्यक्त गरे । ‘हेडर्क्वाटरभित्रको संक्रमणको स्रोत पत्ता नलाग्नु र संक्रमण बढिरहनुले चेन अफ कमान्डमा समस्या रहेको देखिन्छ,’ उनले भने, ‘यसको अर्थ आवश्यक सुरक्षा सामग्रीबिनै प्रहरी काम गरिरहेका छन् भन्न पनि सकिन्छ ।’

कोभिड–१९ संकट व्यवस्थपन केन्द्र ९सीसीएमसी० स्रोतले भारतसँग सिमाना जोडिएका जिल्लाका प्रहरीहरू संक्रमणको उच्च जोखिममा रहेको बतायो । आइतबार मात्रै जिल्ला प्रहरी कार्यालय धनुषा र सप्तरीको राजविराजस्थित प्रदेश प्रहरी तालिम केन्द्रको ब्यारेक सिल गरियो । प्रदेश २ का डीआईजी धीरजप्रताप सिंहका अनुसार दुवै ब्यारेकमा बस्ने दुईरदुई प्रहरी संक्रमित देखिएपछि ब्यारेक सिल गरिएको हो । संक्रमित प्रहरीको संख्या बढ्दै गए कोरोनासँग सम्बन्धित अत्यावश्यकीय काम प्रभावित हुने र दैनन्दिनको सुरक्षा व्यवस्थासमेत प्रभावित हुन सक्ने सीसीएमसीका एक अधिकारीले बताए । कान्तिपुर दैनिकमा  समाचार छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation