प्रधानमन्त्री ओलीलाई लकडाउनबारे विज्ञहरुको दुईथरी सुझाव

 अर्थबुलेटिन संवाददाता   २० सावन, २०७७



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुलाई बालुवाटारमा बोलाएर लकडाउन लगाउने या नलाउने भन्नेबारे सुझाव लिएका छन् । कोरोनाभाइरस संक्रमित धमाधम थपिन थालेपछि प्रधानमन्त्री ओलीले मंगलबार सरोकारवाला र विज्ञहरुसँग सुझाव लिएका छन् ।

प्रधानमन्त्री ओलीलाई विज्ञहरुले  दुईथरीका सुझाव दिएका छन् । केही विज्ञले तत्काल १५ दिन कडा खालको लकडाउन गर्ने तथा केहीले चाहिँ अवस्थालाई सामान्यकरण गर्दै आवश्यकता हेरी ठाउँ विशेषमा लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । उक्त छलफलमा सहभागी जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले विज्ञहरुले १५ दिन कडा खालको लकडाउन गर्न सुझाव दिएको बताए ।

बालुवाटारमा प्रधानमन्त्रीले विज्ञहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पाण्डेले आफूलगायत केही विज्ञहरुले १५ दिन कडाखालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

‘पहिले भारतबाट आएका मात्रै संक्रमित हुन्थे भने अहिले कम्युनिटीमा पनि संक्रमित बढेका छन् । हामी अहिले कुन स्टेजमा छौं र के गर्ने भन्नेबारेमा धारणा राखियो’, उनले भने, ‘१५ दिन कडा खालको लकडाउन गर्ने र त्यसपछि जनस्वास्थ्यका मापदण्ड अपनाउने भन्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको छ ।’

केही विज्ञले भने कोरोना अहिले नै नियन्त्रणमा आउन सक्ने अवस्था नरहेको र २–३ वर्षपनि लम्बिन सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाएर अवस्थालाई सहजतातिर लैजानु पर्ने धारणा पनि राखेको उनले बताए ।

यद्यपी कोरोनाको विषयमा केयरलेस हुँदै जाँदा भयावह स्थिति आउन सक्ने भएकाले सरकारले उचित निर्णय गरेर अघि बढ्नुपर्नेमा सबैपक्ष एकमत भएको उनले बताए । उनले भने, ‘विज्ञहरुले दिएको सुझावको आधारमा एमसीसी, स्वास्थ्य मन्त्रालय र क्याबिनेटमा छलफल गरेर उचित निर्णय गर्छु भन्नु भएको छ । आशा गरौं कोरोना नियन्त्रणमा सकारात्मक पहल होला ।’

बैठकपछि अर्का जनस्वास्थ्यविद डा समिरमणि दीक्षितले भने  देशभर लकडाउन गर्नुको साटो संक्रमण बढी भएका स्थानमा लकडाउन गर्नुपर्ने र अन्य स्थानमा व्यवस्थित बनाउँदै लैजानुपर्ने सुझाव दिएको बताए । उनले समग्रमा सवैतिर लकडाउन गर्दा आर्थिक लगायतका गतिविधि ठप्प हुनसक्ने र त्यसले थप मार खेप्नुपर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने आफ्नो सुझाव रहेको जानकारी दिए ।

सवैको सुझाव सुनिसकेपछि प्रधानमन्त्री केपी ओलीले सिएमसीसी, स्वास्थ्य मन्त्रालयसँग समेत छलफल गरेर लकडाउनको मोडालिटी तयार गरिने बताएका थिए । उनले नेपाल र नेपाली कोरोनाको संकटमात्र नभएर विभिन्न संकटहरु पार गर्दै आएकाले यो संकटलाई पनि पार लगाउने विश्वास व्यक्त गरेका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाका साथै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको पनि सहभागिता रहेको थियो । यस्तै स्वास्थ्य मन्त्रालय र सिसिएमसीका पदाधिकारी पनि सहभागी थिए ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation