१० घर चेपाङ बस्ती निर्माण गर्न सहयोगको सुरुवात

 अर्थबुलेटिन संवाददाता   २० सावन, २०७७



काठमाडौं । नेपाली हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरले चितवन माडीस्थित सिसौंखोला जंगलमा बस्दै आएका १० घर चेपाङ बस्ती निर्माण गर्न सहयोगको सुरुवात गरेका छन् ।

चक्रपथ सरसफाइ अभियन्ता उद्यमी कुँवरले ४१ हजार रुपियाँ नगद सहयोग दिएर चेपाङ बस्ती निर्माणका लागि सहयोगको सुरुआत गर्ने पहिलो व्यक्ति वनेका छन् । यसअघि १६ औं हप्तासम्म काठमाडौंस्थित बाफलबाट कोरोनाको लकडाउनले समस्यामा परेका मजदुर तथा पत्रकारहरुलाई खाद्यान्नलगायतमा सहयोग गर्दै आएका उनको यो फरक प्रसंगको  १७ औं हप्ते सहयोग हो ।

उनले आफूले गरेको सहयोग रकम माडी वडा नम्बर–९ का वडा अध्यक्ष शिवहरि सुबेदीको रोहबरमा चेपाङ बस्ती निर्माण समिति गठन गरेर हस्तान्तरण गरेका हुन् । संघर्ष गर्दै सडकबाट माथि उठेका कुँवरले भने, ‘सहयोगी मन हो हजुर । आफू पनि रिक्सा र ठेलागाडा चलाएर हुर्किएको मान्छे ।

दुखीको दुख देख्न सक्तिन । मैले यी १० घर चेपाङको बस्ती बनाउन ढोका खोलिदिएको मात्र हुँ । स्थानीय सरकार, सहयोगी मनहरु मिल्ने हो भने चेपाङहरुको मुहारमा हाँसो ल्याउन कति बेर लाग्दैन कि भन्ने लाग्छ ।’

भरखरै मात्र सरकारले यही चेपाङ बस्तीमा आगो लगाएको थियो । निकुञ्जका कर्मचारीको गल्तीले गर्दा आगो लाग्न पुगेको भन्दै मन्त्रीले स्पष्टीकरण दिनु परेको थियोे ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation