कोरोनाविरुद्ध खोपको अन्तिम तयारी, त्रास अब धेरै रहने छैन

    २१ सावन, २०७७



काठमाडौं । कोरोना भाइरसको त्रास सम्भवतः अब धेरै रहने छैन । यसलाई रोक्ने सम्भावित खोपहरू विश्वभर विकसित भइरहेका छन् । रुसी अनुसन्धान केन्द्र गमल्याया इन्स्टिच्युटले खोपको क्लिनिकल परीक्षण सकाइसकेको र यसको दर्ताका लागि प्रक्रिया पूरा गर्ने तयारीमा रहेको जनाएको छ ।

रुसी वैज्ञानिकहरूले उक्त खोपको प्रारम्भिक परीक्षण पूरा भइसकेको र यसका परिणामहरू सफल आएका बताएका छन् । यो खोप ‘भेक्टर भ्याक्सिन’ हो । यसले अन्य भाइरसहरूलाई प्रयोग गरी डीएनए इनकोडिङमार्फत आवश्यक प्रतिरक्षा कोषिका उत्पादन गरी उपचारमा सहयोग गर्छ ।

गत साता अक्सफोर्ड युनिभर्सिटीकी प्राध्यापक सेरा गिल्बर्ट विश्वभर निकै चर्चामा रहिन् । तीन सय जनाको ठूलो समूह बनाएर कोरोना भाइरस विरुद्धको खोप बनाउने अभियानमा नेतृत्व गरिरहेकी गिल्बर्टको समूहले ‘ठूलो सफलता पाएको’ बताइएको छ । सामान्यतया खोप विकासमा पाँच वर्ष लाग्ने चरणहरू गिल्बर्टको समूहले चार महिनामै पूरा गरेको थियो । उनको समूहले १ हजार ७७ जनामा खोपको क्लिनिकल परीक्षण गरिरहेको छ ।

उनीहरूले परीक्षण गरेको खोप मानव स्वास्थ्यका लागि सुरक्षित रहेको र कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकासमा मद्दत पुगेको बीबीसीले जनाएको छ । चिम्पाञ्जीलाई रुघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसको अनुवांशिक सुधार गरेर बनाइएको यो खोप बेलायतले अहिले नै १० करोड मात्रा (डोज) माग गरिसकेको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले आगामी १५ अगस्टमा पर्ने स्वतन्त्रता दिवसमा कोरोनाविरुद्ध खोप मानिसमा प्रयोगका लागि ल्याउने योजना अघि सारेको थियो । खोप विकासको प्रक्रियागत चरण र मापदण्ड पूरा नगरी हतारमा खोप ल्याउन खोजेको भन्दै व्यापक विरोध भएपछि उक्त संस्थाले ‘समयसीमा नतोकिएको’ स्पष्टीकरण दिए पनि खोपको तयारी तीव्र पारिरहेको छ । चीनमा कोरोना भाइरसविरुद्ध बनिरहेको खोपमध्ये एउटा सन् २०२० भित्रै मानव प्रयोगका लागि तयार हुन सक्ने समाचारहरू आएका छन् ।

उक्त चिनियाँ कम्पनीले संयुक्त अरब इमिरेट्समा तेस्रो चरणको मानव परीक्षण गरिरहेको छ । अर्को कम्पनीले ब्राजिलमा त्यही विधिमा परीक्षण गरिरहेको जनाएको छ । जर्मनी, अस्ट्रेलिया र अमेरिकामा पनि थुप्रै समूहले खोप विकासमा निकै मेहनत गरिरहेका छन् । बेलायतकै इम्पिरियल कलेजको एउटा समूहले पनि सन् २०२१ को प्रारम्भमै कोरोना भाइरसविरुद्ध मानिसमा प्रयोग गर्न सक्ने गरी खोप विकास गरिरहेको छ । अहिले धेरै खोपहरू भाइरसलाई परिमार्जित गरेर वा त्यसलाई निस्तेज पारेर बनाइँदै छ । भाइरसको अंश प्रयोग गरेर पनि यस्तो खोपको विकास भइरहेको छ । तर यो समूहले कोरोना भाइरसको नक्कल गर्ने कृत्रिम अनुवांशिक संरचना ‘निर्माण’ गरेर खोप बनाउन प्रयोग गरेको छ । अहिले विश्वभर करिब २०० वटा समूहमा अनुसन्धानकर्ताहरू कोरोना भाइरसविरुद्धको खोप बनाउनमा लागिपरेका छन् । त्यसमध्ये १८ वटा खोप मानवमा परीक्षण भइरहेका छन् । २२ वटा सम्भावित खोप क्लिनिकल परीक्षणको चरणमा छन् भने १०० भन्दा धेरै खोप प्रारम्भिक अनुसन्धानकै चरणमा छन् ।

धेरैले चाँडोमा सन् २०२१ को मध्येतिरमात्रै संसारले पर्याप्त खोप प्राप्त गर्न सक्ने आँकलन गरेका छन् । कोरोना भाइरसविरुद्ध खोपमा बौद्धिक सम्पत्तिसम्बन्धी कानूनको परिपालना नगर्ने विश्व सहमति बनिसकेकाले यसको उपलब्धता चाँडो हुन सक्ने अपेक्षा छ । तर अर्बौं डोज उत्पादन गर्नुपर्ने भएकाले विकसित मुलुकले खोपको प्रयोग गरेपछि पनि गरिब देशमा लामो प्रतिक्षा गर्नुपर्ने हुन सक्छ । तथापि, त्यस्तो प्रतीक्षा अबको एक वर्षभन्दा लामो नहुने अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् । कसरी बन्छ खोप ? खोप भनेको नयाँ औषधि बनाएर शरीरमा पठाउने होइन कि, रोग लगाउने भाइरसलाई नै शरीरमा पठाएर प्रतिरोधी क्षमता विकास गराउने पद्धति हो ।

यसका लागि सामान्यतया घातक भाइरसलाई वैज्ञानिकहरूले प्रयोगशालामा हुर्काउँछन् । प्राणीको शरीरभन्दा निकै चाँडो हुर्काउने र प्रजनन गराउने प्रक्रियाबाट भाइरसलाई कमजोर पारिन्छ । यस्तो प्रक्रियालाई वैज्ञानिकहरू ‘भाइरस कल्चर गर्ने’ भन्छन् । त्यसरी कमजोर पारिएको भाइरसलाई थोरै थोरै मात्रामा मानव शरीरमा खोपमार्फत पठाइन्छ । ताकि, त्यो भाइरसले मानव शरीरमा पूर्ण रूपमा संक्रमण गर्न नसकोस् । त्यसरी शरीरमा नयाँ भाइरस प्रवेश भएपछि शरीरले औसत दुई सातामा त्यस्तो संक्रमणविरुद्धको प्रतिरोधी क्षमता तयार पार्छ । भाइरससम्बन्धी विज्ञहरूका अनुसार मानव शरीरले त्यस्तो नयाँ भाइरससँग मुठभेड भएको तीन सातासम्ममा प्रतिरोधक क्षमता विकास गरेर प्लाज्मा (रगतमा हुने सुक्ष्म कण) सम्म पुर्‍याउँछ ।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation