कोरोना महामारीमै विदेशिने तयारीमा नेपाली युवा

    २२ सावन, २०७७



काठमाडौं ।  चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम गर्दै आएको देश जापान फर्कन सकेनन् । त्यस्तै, अर्का युुवा केदार कार्कीलाई पनि आफू काम गर्दैै आएको मुलुक जापान फर्कन मन छ । उनले जापान फर्कन धेरै प्रयास गरे ।

तर, कोरोना भाइरस (कोभिड–१९) महामारीबाट सिर्जित समस्याका कारण खतिवडा र कार्की दुवै कार्यक्षेत्रमा फर्कन सकेनन् । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसक्दा उनीहरू समयमै आफ्नो कार्यथलो मुलुक जान नपाएका हुन् ।

त्यसो त अहिले लामो समयदेखि धेरै देशमा अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । कतिपय देशले त अन्य देशका नागरिकलाई प्रवेशमा समेत रोक लगाइरहेका छन् । तर, पछिल्ला केही दिनमा भने अन्तर्राष्ट्रिय उडानका लागि ‘हरियो बत्ती’ बल्न थालेको छ । त्यसैले खतिवडा र कार्की पनि जापान जान खोजिरहेका हुन् ।

‘काम गरिरहेको रोजगारदाता कम्पनीले जतिसक्दो चाँडो आउनू भनेको छ, अब चार्टर उडानको बढी भाडा तिरेरै भए पनि फर्किने मनस्थिति बनाएको छु’

पछिल्ला केही दिनदेखि जापान जान ‘नो अब्जेक्सन लेटर’ लिन जापानी राजदूतावासअघि भीड लाग्न थालेको छ । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको बेला उनीहरूले स्वदेश छाड्न खोजेका हुन् ।

अहिले जापानको रोजगारदाता कम्पनी आफैंले काम विशेषले र बिदामा आएकाहरूलाई तुरुन्त फर्कन भनेकाले उनीहरूले स्वदेश छाड्न खाजेका हुन् । रोजगारदाता कम्पनीले बोलाएको समयमा पुगिँदैन कि भन्ने डर पनि उनीहरूमा देखिन्छ । नपुगेको खण्डमा रोजगारीमै असर पर्ने भय पनि उनीहरूमा देखिन्छ ।

चितवनका खतिवडाले जापान सरकारले आफूहरूलाई प्रवेश गराउने भनेकाले नो अब्जेक्सन लेटर लिन लाइनमा बस्नुपरेको सुनाए । उनले गत शुक्रबार आफूले फाराम बुझाई टोकन लिएर गएको र बुधबार नो अब्जेक्सन लेटर लिन लाइनमा बसेको सुनाए ।

पाँच वर्षअघि उच्च शिक्षा अध्ययनका लागि जापानको नारिता पुगेर अध्ययनसँगै काम गरी बिदामा घर आएको जानकारी गराउँदै खतिवडाले भने, ‘अहिले काम गरिरहेको रोजगारदाता कम्पनीले जतिसक्दो चाँडो आउनू भनेको छ, अब चार्टर उडानको बढी भाडा तिरेरै भए पनि फर्किने मनस्थिति बनाएको छु ।’

रोजगारदाताले बोलाएको बेला पुगिएन भने यहाँ बेरोजगार भएर बस्नुपर्ने र घरपरिवारको खर्च धान्नै मुस्किल हुने अवस्था आउन सक्ने चिन्ताले जतिसक्दो छिटो नो अब्जेक्सन लेटर लिएर फर्किन लागेको उनको भनाइ छ ।

सोही लाइनमा बसेका अर्का युवा कार्कीले पनि पाए आगामी १ भदौबाट खुल्ने भनिएको नियमित व्यावसायिक उडान र नपाए बढी भाडा तिरेरै भए पनि चार्टर उडानबाट जापान जान लागेको बताए । कार्कीले पनि खाइपाइ आएको जागिर गुमेको अवस्थामा नेपाल बसेर बाँच्न नसकिने देखिएकाले नो अब्जेक्सन लेटर लिए फर्किन लागेको बताए ।

लकडाउनअघि र लकडाउनकै अवधिमा चार्टर उद्धार उडानमार्फत स्वदेश आएकाहरू अहिले फेरि त्यसतर्फ जान आवश्यक तयारी गरिरहेका हुन् ।

अहिले महाराजगन्ज पानीपोखरीस्थित नेपालका लागि जापानी दूतावास अगाडिको सडकपेटीमा दैनिक युवाहरूको ठूलो लाइन लाग्न थालेको छ । गत शुक्रबारदेखि यस दूतावासअगाडि दैनिक सयौंको संख्यामा ‘नो अब्जेक्सन लेटर’ लिनेहरूको भीड लाग्ने गरेको छ ।

४ महिनादेखि अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएका थिए । सो समय जापान सरकारले पनि आफ्नो देश छोडेका आप्रवासी नागरिकलाई प्रवेश गर्न दिएको थिएन । अहिले जापानले नयाँ भिसा भने खुलाएको छैन । यसअघि नै जापानमा बसेर अध्ययन गरिरहेका, रोजगारी गरिरहेका र विविध कामले घर बिदामा नेपाल आएकाहरू मात्रै पुनः जापान जान पाउनेछन् ।
यसैगरी, लाइनमा बस्नेहरूले दूतावासले नो अब्जेक्सन लेटर दिएपछि जापान उड्नुभन्दा ७२ घण्टाअघि कोरोना रिपोर्ट नेगेटिभ भएको कागजात साथमा लिनु पर्नेछ ।

काठमाडांै उपत्यकासहित मुलुकभर कारोना संक्रमणको जोखिम बढे पनि यसरी लामबद्ध भएर दूतावासमा सेवा लिन आउनेहरूले मुखमा मास्क लगाउनेबाहेक अन्य स्वास्थ्य सुरक्षाका उपाय भने अपनाएको देखिँदैन । अहिले काठमाडौंलगायत मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढेर २१ हजारभन्दा बढी भएको अवस्था छ ।
सरकारले आगामी १ भदौबाट अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालनको अनुमति दिएसँगै अहिले विभिन्न वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय व्यावसायिक उडान भर्ने तयारी गरिरहेका छन् ।

संक्रमणबाट बच्न सरकारले गत ११ चैतेदेखि ६ साउनसम्म लकडाउन जारी राखेको थियो । सो अवधिमा कुनै पनि व्यावसायिक उडान भएका थिएनन् । लकडाउनदेखि अहिलेसम्म स्वास्थ्य सामग्री ओसार्न र विभिन्न देशमा अलपत्र परेका नेपाली ल्याउने एवं यहाँ अलपत्र परेका विदेशी पु(याउने केही उद्धार उडान मात्रै भइरहेको छ । सरकारले गत २९ जेठबाट सुरु गरेको चार्टर उद्धार उडानबाट हालसम्म केही नेपाली नियमितभन्दा बढी भाडा तिरेर रोजगारदाता मुलुकतर्फ फर्किरहेका छन् ।  राजधानी दैनिकमा समाचार छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation