फेरि सवारी साधनमा जोरबिजोर प्रणाली लागु

 अर्थबुलेटिन संवाददाता   २२ सावन, २०७७



काठमाडौं । सरकारले  फेरि सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरेको छ। कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि   गृह मन्त्रालयले  काठमाडौं उपत्यका र कोरोनाका २ सयभन्दा धेरै सक्रिय केस रहेका जिल्लामा सार्वजनिक तथा निजी सवारीसाधनमा बिहीबारदेखि जोरबिजोर प्रणाली लागु गरेको हो । 

अत्यावश्यक बाहेकका सबै किसिमका सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्रबहादुर बुढाले जानकारी गराए ।  उनका अनुसार कोरोना संक्रमण धेरै देखिएका जिल्ला तथा काठमाडौं उपत्यकामा पनि राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्‍चालनमा रोक लगाउने निर्णय गरेको छ।

यसअघि चैत ११ देखि लागू गरेको लकडाउन साउन ६ गते मध्यरातदेखि हटेसँगै मन्त्रिपरिषद्को निर्णयबाट सवारीसाधनमा जोरबिजोर प्रणाली पनि खारेज भएको थियो। सरकारले गत असारमा लकडाउन खुकुलो गर्ने क्रममा उपत्यकामा जोर दिनमा जोर नम्बरका र बिजोर दिनमा बिजोर नम्बरका गाडी चलाउन दिने निर्णय लिएको थियो। लकडाउन हटेसँगै देशभर कोरोना फेरि फैलिन थालेको छ।

काठमाडौं उपत्यकामा पनि दिनको ५० देखि ६० जनाका दरले संक्रमित भेटिन थालेका छन्। यस्तोमा सरकारले सडकको भीड कम गर्ने रणनीति अनुसार फेरि जोरबिजोर नियम ल्याएको हो। सरकारले लामो दूरीका सवारीसाधन अझै खोलेको छैन।

सरकारले काठमाडौंमा होटल रेस्टुरेन्टहरु पनि खोल्न दिएको छ। तर होटल रेस्टुरेन्टहरुले सुरक्षा मापदण्ड पूरा नगर्दा कोरोना फैलिन सघाउ पुगेको सरकारको निचोड छ। जोरबिजोर लाउन स्वास्थ्य मन्त्रालयले एक साताअघि सिफारिस गरेको थियो।

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation