पार्टीमा दलाल–बिचौलिया हाबी भएः प्रचण्ड

 अर्थबुलेटिन संवाददाता   २२ सावन, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद उत्कर्षमा पुगेको छ । नेकपामा ओली इतर समूहका  चारजना शीर्ष नेताहरुले सरकार र पार्टीमा दलाल–बिचौलिया हाबी भएको बताएका हुन् ।  काठमाडौंमा  पत्रकारहरुसँग एक अन्तरक्रियाका क्रममा बोल्दै शीर्ष चार नेताहरुले पार्टी गम्भीर संकटको अवस्थामा आइपुगेको बताएका हुन् ।  

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको रवैया अब पनि सुधार नभए अर्को चुनावमा मुख देखाउन नसकिने अवस्था आउने बताए। प्रचण्डले यसो भने अध्यक्ष प्रचण्डले त्यसक्रममा चुनावी घोषणापत्र अनुसार पार्टी अघि नबढेको बताउँदै मार्क्सवाद(लेलिनवादको शिक्षालाई लिएर जाने कि बुर्जुवालाई काँधमा हालेर जाने अवस्थामा पार्टी पुगेको बताए।

उनले अहिले बुर्जुवाको बर्चस्व रहेको पनि बताए। ‘अहिले बुर्जुवाको बर्चस्व छ। कम्युनिस्ट पार्टीलाई कसरी अगाडि लाने ? नेता कार्यकर्तालाई अराजक भीड भन्‍नेहरु छन्। जनवादी केन्द्रीयता मान्‍ने कि व्यक्तिलाई केन्द्रमा राख्‍ने ? पार्टीको अधिनमा व्यक्ति हुने कि व्यक्तिको अधिनमा पार्टी हुने ?’  उनले प्रश्‍न गरे, ुविवेकले सत्ता चलाउने कि सत्ताले विवेक चलाउने ?  व्यक्तिगत निर्णयको जिम्मेवारी सामूहिक रूपमा लिनु पर्ने बाध्यता छ। एमसिसीमा सम्झौता गर्दा नवउदारवादी अर्थतन्त्र पालना गर्नुपर्ने भनिएको छ। यता कम्युनिष्टको सरकार नै नवउदारवादी पुँजीवादतिर जाँदैछ।

हामीले चुनावी घोषणा पत्रमा सार्वजनिक निजी र सहकारीको सहकार्यमा अघि बढ्न सकिन्छ भन्यौँ। पुँजीवादको बीऊ रोपेर समाजवादको बीऊ फलाउनु असम्भव कुरा हो। उनले अहिले नेकपामा नीति विधि केही होइन, नेता नै सर्वेसर्वा हो भन्‍नेहरुका कारण समस्या भएको उल्लेख गरे। दाहालले आफू पदको लोभमा नरहेको पनि बताए।

मैले यदि पार्टीको कार्यकारी अध्यक्ष पाए प्रधानमन्त्री हुने रूचि पनि छैन भनेको गत मंसिर ४ को सहमति पनि त्यही अनुसारको थियो। यो पदको लडाइँ थिएन। हाम्रा लागि पद प्राप्तिका लागि संघर्ष भन्‍ने कुरा गलत हो, उनले भने, ‘पार्टीलाई नीति र विधि अनुसार चलाऊँ भन्दा पोलिसी सिफ्ट गरे मलाई घेराबन्दी गर्न खोजियो, अराजकतातिर लैजाने प्रक्रिया सुरू भयो। पोलिसि सिफ्ट गरेपछि सबै बिग्रियो, ठूलो संकटतिर पार्टी गयो।’ दाहालले आफूसँग अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बदला लिन खोजेको पनि बताए। ‘मसँग बदला लिने गरी ओलीजी अघि बढ्नुभयो।

मलाई भेट्नेलाई बदला लिने काम भयो। नेतादेखि मलाई भेट्ने कर्मचारीमाथि समेत प्रहार भयो’, उनले भने, ‘नेकपाको बैठकस्थलमा मेरो कुर्सी हटाउने कुरा टेक्निकल मात्रै होइन, कुर्सी हटाउने कुरा निषेधात्मक सोचको उपज थियो।’



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation