भदौ १ देखि अन्तर्राष्ट्रिय हवाइ उडान खुल्ने सम्भावना न्यून

 अर्थबुलेटिन संवाददाता   २२ सावन, २०७७



काठमाडौं । भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय हवाइ उडान र लामो दूरीका यातायात खुल्ने सम्भावना न्यून जस्तै देखिएको छ । सरकारले भदौ १ गतेदेखि यो  परिस्थिति बनिनसकेको जनाएको हो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले केही दिनमा सीसीएमसीको बैठक बसेर यसबारे निर्णय लिइने  बताए ।
प्रवक्ता खतिवडाले बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलमा साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै  अहिले नै लामो दूरीका यातायात, स्कूल र अन्तर्राष्ट्रिय हवाइ उडान खोल्ने अवस्था बनिनसकेको बताए ।

‘मन्त्री खतिवडाले भने, ‘जोखिम बढ्दैछ, त्यसकारण अहिले सार्वजनिक यातायात, अन्तर्राष्ट्रियतर्फ अतिआवश्यक बाहेक उडान नगरौं, आन्तरिक हवाइ सेवा सञ्चालन नगरौं भन्ने पनि आइरहेको छ । तर केही न्युनतम आवश्यकताका कुरा नगरे आर्थिक रूपमा श्वास फेर्न कठिन हुन्छ भन्ने कुरा आइराखेको छ ।’ उनले थपे,  ‘हामी केही दिनभित्र सीसीएमसीको बैठक बसेर यी कुरालाई रिभ्यु गर्छौं तर अहिले जसरी जोखिम बढेको छ, यस्तोमा अति उदार भएर सार्वजनिक यातायात खोल्ने, स्कूल सञ्चालन गर्ने या उडानलाई सञ्चालन गर्ने परिस्थिति अहिले बनी नसकेजस्तो प्रारम्भिक पृष्ठपोषणबाट पनि गर्न सकिन्छ ।’


उनले विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भने अन्तर्राष्ट्रिय उडान गर्न सकिने प्रष्ट पारे । शुरूमा एकदमै अलपत्र परेका नेपाली हजार भन्यौं, ५ हजार, १० हजार अलपत्र भनिएपनि ४५ हजार जतिको उद्धार भएको र अरू ४५ हजारभन्दा बढीको लिष्ट दूतावासमा रहेको उनको भनाइ थियो ।

उनले भने, ‘सरकारको सोच जो अलपत्र हुनुहुन्छ जसलाई उद्धार गर्नुपर्नेछ, उहाँहरूलाई ल्याउनुपर्नेछ, जो अलपत्र हुनुहुन्न उहाँहरूलाई अलि सहज भएपछि ल्याउने गरी हामीले छलफल गरिरहेका छौं ।’  यद्यपि, गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठक भदौ १ देखि स्कूल, लामो दूरीका यातायात र अन्तर्राष्ट्रिय उड्न खोल्ने निर्णय गरेको थियो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation