काठमाडौं उपत्यका कोरोनाको केन्द्र बन्योसंक्रमितको संख्या धमाधम बढ्दै

    २३ सावन, २०७७



काठमाडौं ।  विश्व कोरोना कहरले आक्रान्त भइरहेका बेला काठमाडौं उपत्यकामा कोरोनाको केन्द्रजस्तै बनेको छ । कोरोना संक्रमण बढेसँगै उच्च ओहदामा आसिन व्यक्तित्व तथा उहाँहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी धमाधम संक्रमित हुँदै छन् भने मृतकको संख्या पनि अनपेक्षित रुपमा बढ्दै छ । २४ घण्टामा ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बिहीबार नियमित प्रेस ब्रिफिङमा ३ सय ६० जना कोरोना संक्रमित हुनुका साथै ५ जनाको मृत्यु भएको जानकारी गराउनुभयो ।

मृत्यु हुनेमा मोरङ रंगेली नगरपालिका–८ का ४५ वर्षे एक पुरुष, सर्लाही मलंगवा नगरपालिका–८ की ६५ वर्षीया एक महिला, धनुषा मिथिला नगरपालिका–१० लालगढका ७२ वर्षीय एक पुरुष र सप्तरी रुपनि नगरपालिका–५ का ४२ वर्षीय एक पुरुषको कोरोना संक्रमणको कारणले मृत्यु भएको छ ।
२४ घण्टामा कहाँ कहाँ संक्रमण बढ्यो

प्रदेश नम्वर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार बेलुका आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले सञ्चारकर्मीलाई जानकारी दिनुभएको हो । संक्रमण पुष्टि हुनुअघि मन्त्री यादव १४ साउनमा काठमाडौंमा प्रधानमन्त्रीसँगको छलफल कार्यक्रममा सहभागी हुनुभएको प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पुष्टि गरेको छ । छलफल कार्यक्रममा मन्त्री यादवले प्रधानमन्त्रीसँग पनि भेटघाट गर्नुभएको स्रोतले जनाएको छ ।

उहाँ काठमाडौंमा साउन १६ मा भएको प्रहरी समायोजनसम्बन्धी सम्मेलनमा समेत सहभागी भई जनकपुर फर्किनुभएको र १७ गते धनुषाको धनुषाधाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनुभएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रमुख (आईजीपी) शैलेश थापा पनि सहभागी हुनुभएको थियो । ठूलो संख्यामा सर्वसाधारण सहभागी पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवले भाग लिनुभएको थियो । पार्टी प्रवेश कार्यक्रमको दोस्रो दिन मन्त्री यादवले स्वाब परीक्षण गराउनुभएकोमा कोरोना पोजिटिभ देखिएको हो ।

यसका साथै पछिल्लो २४ घण्टामा काठमाडौंमा ७६, भक्तपुरमा १ र ललितपुरमा १० जना गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय २२ जनाको पीसीआर परीक्षण गर्दा उपत्यकाका ८७ जनासहित ३ सय ६० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १५ हजार ३ सय ८९ पुगेको डा। गौतमले जानकारी गराउनुभएको छ ।

राज्य सुरक्षाको प्रमुख जिम्मेवार निकाय प्रहरी प्रधान कार्यालयमा मात्र ८५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसै गरी सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा ४६ जनामा कोरोना पुष्टि भइसकेको छ । यसका साथै दुई नेपाली सेना र एक प्रहरीमा समेत कोरोना पुष्टि भइसकेको छ भने सर्वसाधारणसहित इलाममा मात्र कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २४ घण्टामा कोरोना संक्रमित कर्मचारीहरको संख्या ३५ पुगेको छ । गएको मंगलबार आयोगका १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

मुटुरोग अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र यतिबेला कोरोना संक्रमणको जोखिममा परेको छ । मंगलबार १ डाक्टर, १ नर्स र ३ जना बिरामीमा कोराना संक्रमण पुष्टि भएलगतै गरिएको कन्ट्रयाक ट्रेसिङ परिक्षण गर्दा बुधबार थप १२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेमा समुदाय रेन्डम सेम्पलिङ विधिबाट ३ हजार ३ सय ३८ जनामा गरिएको परीक्षणमा ८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । जिल्लामा ४ सय ७० जना कोरोना संक्रमितसँग समुदाय स्तरबाट पुष्टि भएको छ ।

यो संख्या रेन्डम सेम्पलिङ र कन्ट्याक्ट ट्रेसिङबाट पुष्टि भएको हो । अधिकांशको कुनै ट्राभल हिस्ट्री देखिँदैन । जसमा जनप्रतिनिधि, डाक्टर, इन्जिनियर, निजामती कर्मचारी, व्यवसायी रहेका छन् । समुदाय स्तरमा कोरोना संक्रमण भएपछि बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा बिहीबार एक चिकित्ससहित थप २८ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । काठमाडौं पनि कोरोना संक्रमणको उच्च जोखिममा पर्दै गएपछि सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी जोरबिजोर प्रणाली लागू गरेको छ ।

थापाथलीस्थित सेन्टर बिजनेस पार्क भवनमा रहेको रुङ्गटा व्यापारिक घरानाको कार्यालयमा कार्यरत एक महिलामा कोरोना संक्रमण देखिएपछि सो भवन परिसरमा रहेका अन्य कार्यालय कर्मचारीले पीसीआर परीक्षणका लागि आ–आफ्ना साहु तथा सञ्चालकलाई दबाब दिएका छन् ।

‘हामीले आफ्ना सबै २७ कर्मचारीको पीसीआर परीक्षण गर्दा एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखियो, त्यसपछि हामीले सात दिनका लागि कार्यालय बन्द गरिदियौं’, रुङ्गटा ग्रुपका कार्यकारी प्रमुख (सीईओ) प्रदीपकुमार रुङ्गटाले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘सात दिनपछि पुनः परीक्षण हुन्छ, कोरोना नेगेटिभ निश्चित भएपछि उहाँहरु पुनः कार्यालय आउनुहुन्छ ।’ अहिले बिदामा रहेका कर्मचारी क्यारेन्टाइनको अवस्थामा बसेको पनि उहाँले जानकारी दिनुभयो ।

टे«ड टावरलगायतका चर्चित १५ व्यापारिक समूह रहेको यस परिसरमा दुई हजारभन्दा बढी व्यक्ति रोजगारीमा छन् । सेन्टर बिजनेस पार्कको चौथो तलामा रुङ्गटा समूहका दुई कार्यालय छन्, संक्रमित देखिएको कार्यालय बन्द छ भने अर्को कार्यालय सामान्य रुपमा सञ्चालनमा रहेको सीईओ रुङ्गटाले जानकारी दिनुभयो ।

पोषक पेटेल दाना र दिव्य सोयाबिन तेललगायतका उत्पादनका लागि नाम कमाएको रुङ्गटा व्यापारिक घरानाले ओम एग्रो प्रोडक्ट, ओम चाओ बिरो फिड इन्डस्ट्रिज, पेटेल फिड, पोषक ब्रिड्स फर्म, फ्लोर मिल्स, जगदम्बा ट्रेडिङलगायतका कम्पनीको नामबाट व्यवसाय सञ्चालन गर्दै आएको छ । सीईओ रुङ्गटाका अनुसार केन्द्रीय कार्यालका कर्मचारीको जस्तै अन्य क्षेत्रीय कार्यालयमा कार्यरत कर्मचारीको पनि कोरोना परीक्षण गरिने तयारी भइरहेको छ ।  नेपाल समाचार पत्र दैनिकमा खबर छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation