मन्त्रिमण्डल पुनर्गठनमा ओली–प्रचण्ड मतभेदकहाँ अड्कियो हलो ?

 अर्थबुलेटिन संवाददाता   १३ असोज, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर अध्यक्षद्वयबीचको छलफल निकै पेचिलो बनेको छ । मंगलवार पनि  नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच  छलफल भयो तर, निष्कर्ष निस्किएन । ओली र प्रचण्डबीच निरन्तर मन्त्रिपरिषद्  पुनर्गठनको विषयलाई लिएर छलफल भइरहेको छ ।

आजको  भेटमा  पनि प्रचण्डले अपवादबाहेक पुराना मन्त्रीलाई हटाएर नयाँलाई अवसर दिनुपर्ने प्रस्ताव गरेका थिए तर, ओली त्यसमा सहमत भएनन् । प्रचण्डले नयाँ सन्देश  जानेगरी पूरै सेट परिवर्तन गरौं भन्दै आईरहेको प्रचण्डनिकट स्रोतले बताएको छ ।

पूर्व माओवादी खेमाका एक स्थायी कमिटी सदस्यले सेट नै परिवर्तन गरौं भन्ने प्रचण्डको प्रस्ताव ओलीले नमान्दा ढिलाइ भइरहेको बताए । ‘स्थायी कमिटीको स्पिरिड अनुसार नै मन्त्रिमण्डल पुनर्गठन गरौं भन्ने प्रचण्डको प्रस्ताव छ ।

मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर ओली र प्रचण्डबीच बिहीवारदेखि लगातार छलफल भइरहेको छ ।

ओलीले भने सबै मन्त्री हटाउँदा राम्रो काम गरेका समेत हट्ने भन्दै आंशिक पुनर्गठनको पक्षमा अडान लिइरहेको ती सदस्यले बताए ।

व्यापक पुनर्गठन नगरेमा पूर्व माओवादीको कोटामा परेका मन्त्रालयमा आफूले चाहेअनुसार फेरबदल गर्न पाउनु पर्ने अडान प्रचण्डले राखिरहेका छन् । पूर्व माओवादीको भागमा गृहलगायत शिक्षा, ऊर्जा, वन तथा वातावरण, श्रम तथा रोजगार, खानेपानी उद्योग वाणिज्य र आपूर्ति मन्त्रालय परेका छन् ।

प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टलाई निरन्तरता दिन प्रस्ताव गरेको स्रोतको दाबी छ । ऊर्जामन्त्री पुनलाई प्रचण्डले नै पुनः दोहोर्‍याउन खोजेको नेकपाभित्र टिप्पणी भइरहेको छ ।

आजभोलिमा सहमति भएन भने मन्त्रिमण्डल पुनर्गठन दशैंपछि धकेलिने सम्भावना रहेको पूर्व एमाले खेमाका एक स्थायी कमिटी सदस्यले बताए । मन्त्रिमण्डल पुनर्गठनको चर्चासँगै नेकपाभित्रका दुवै समूहका सांसद मन्त्री बन्नका लागि तीव्र लबिङमा लागेका छन् ।

गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी र असोज ४ गते सम्पन्न सचिवालय बैठकले सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

२०७४ साल चैत्रमा पूर्णता पाएको मन्त्रिमण्डल २०७६ मंसिरमा आंशिक पुनर्गठन भएको थियो ।

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation