वामदेव गौतमको मुद्दा हेर्दा हेर्दैमा, १६ गते फेरि बहस हुने

 अर्थबुलेटिन संवाददाता   १४ असोज, २०७७



काठमाडौं । सर्वोच्च अदालतले  नेकपा उपाध्यक्ष वामदेव गौतमको मुद्दा हेर्दा हेर्दैमा राखेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि गौतमलाई  हेर्दा हेर्दैमा राखिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार गौतमको मुद्दाको  असोज १६ गते फेरि बहस हुनेछ । आज साढे ४ घण्टा बहस भएको थियो । मुद्दामाथि वकिलहरुको बहस नसकिए वा समय सकिए त्यो मुद्दा हेर्दा हेर्दैमा जान्छ ।

गौतमको पक्षबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, राघवलाल बैद्य, प्रेमबहादुर खड्का चन्द्र कान्त ज्ञवाली र कुमार आचार्य लगायत १३ जना भन्दा बढी चर्चित अधिवक्ताहरुले बहस गरेका थिए । अझै सरकारी वकिलका तर्फबाट एक जनाले बहस गर्न बाँकी हुँदै समय सकिएको हो ।

अब शुक्रबार हुने बहसमा सरकारी एकजना वकिलपछि रिट निवेदक दिनेश त्रिपाठी पक्षका अधिवक्ताले बहसमा भाग लिनेछन् । त्यसपछि मात्र गौतमको राष्ट्रियसभा सदस्यका विषयमा अदालतको फैसला आउनेछ ।

गौतमलाई राष्टिरयसभा सदस्य बनाउन भदौ २९ गते सरकारले राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो ।
गौतमले १ गते शपथ लिएका थिए ।

गौतमको नियुक्तिविरुद्ध असोज ५ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले नियुक्ति बदरको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation