प्रभावकारी बन्दै अनलाइन क्लास

    ३० असोज, २०७७




काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने औँल्याइएको छ । वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने तथा दुई पक्षबीच दोहोरो संवाद हुनसक्ने हिसाबले यसको पहुँचमा वृद्धि गर्दा न्यूनतम सिकाइ सुनिश्चित गर्न सकिने जनाइएको छ ।

अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी भौतिक कक्षा सञ्चालन हुन नसकेको अहिलेको अवस्थामा अनलाइन माध्यमबाटै विद्यार्थीको पठनपाठन अगाडि बढाउनुपर्ने बताउनुहुन्छ । रेडियो, टेलिभिजनको तुलनामा दोहोरो संवाद हुनसक्ने तथा कतिपय अवस्थामा शिक्षकले निगरानीसमेत गर्न सक्ने भएकाले यसलाई बढी प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । न्यूनतम सिकाइबिना नै विद्यार्थीको कक्षा चढाइएको अवस्थामा शैक्षिक गुणस्तरसमेत कायम हुन नसकी शैक्षिक क्षेत्रमा ठूलो क्षति हुन सक्नेसमेत औँल्याइएको छ ।

सरकारले पनि अनलाइन माध्यमबाट हुने पठनपाठनलाई जोड दिने नीति बनाएको छ । हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्ने भनी घोषणा गरिएको छ । यस क्रममा इन्टरनेट सेवाको पहुँच नपुगेका विद्यालयमा इन्टरनेट सुविधा पु¥याउने कार्ययोजना तयार गरी लागू गर्ने र असोजबाट यसलाई निरन्तर सञ्चालन गरिने उल्लेख छ ।

सरकारी तथ्याङ्कअनुसार हालसम्म १३ प्रतिशत सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच छ । महासङ्घका अध्यक्ष भण्डारी अब विद्यालयमा रहेको इन्टरनेटको पहुँचलाई विद्यार्थीको सिकाइ उपलब्धिसित जोड्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुहुुन्छ । विद्यार्थीसित इन्टरनरेटको पहुँच वृद्धिका लागि विद्यार्थीको घरसम्म इन्टरनेट पुग्नुपर्ने र कम्युटर तथा डिभाइस जरुरी हुन्छ । यसका लागि सरकारले लगानी वृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सरकारले वैकल्पिक विधिका माध्यमका रूपमा रेडियो र टेलिभिजनसमेत प्रयोग गरे पनि त्यसमा कति विद्यार्थी सहभागी भए, उनीहरूको सिकाइ उपलब्धि कस्तो रह्यो भन्ने बारेमा खासै केही भन्न सकिने अवस्था नरहेको जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation