कोरोना उपचारमा लुम्बिनी प्रदेशको मात्रै आधा अर्ब खर्चएउटा बिरामीलाई २ लाख

    १ कार्तिक, २०७७



 काठमाडौं । लुम्बिनी प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि अहिलेसम्म ५० करोड ६० लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । जुन प्रदेशअन्तर्गतका अस्पताल, प्रयोगशाला र स्वास्थ्य कार्यालयमा उपकरण, औषधि एवं स्वास्थ्यकर्मीको जोखिम भत्तामा खर्च भएको हो । यसमध्ये २० करोड ९९ लाख २० हजार रुपैयाँ कोरोना कोषबाट खर्च भएको छ ।

सरकारी खर्चअनुसार कोरोना उपचार, रोकथाम र नियन्त्रण भने प्रभावकारी हुन नसकेको गुनासो छ । जटिल खालका बिरामीले उपचार अभावमा ज्यान गुमाएका छन् । कोरोना विशेष अस्पतालमा बेड नपाएर छटपटाउँदाछटपटाउँदै १५ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।

संक्रमित बढेपछि प्रदेशमा दुई महिनायता लक्षण देखिएका बिरामीलाई पनि निस्शुल्क स्वाब परीक्षण गर्न पनि छोडिएको छ । कोरोना सर्ने प्रबल सम्भावना रहेका यात्रा इतिहास भएका व्यक्तिलाई पनि पीसीआर परीक्षण गरिएको छैन ।

१२ जिल्लाका जटिल खालका बिरामीलाई उपचार गर्न प्रदेशमा चारवटा कोरोना अस्पताल सञ्चालनमा छन् । सामाजिक विकास मन्त्रालयका सहायक लेखापाल कृष्णबहादुर पौडेलका अनुसार ती अस्पताल व्यवस्थापन र सञ्चालनमा प्रदेश सरकारले अहिलेसम्म २१ करोड ६१ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । प्रदेशमा शुक्रबार दिउँसोसम्म १४ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये कोरोना अस्पतालमा १ हजार ८५ जनाले मात्रै उपचार गराएका छन् । अस्पतालमा भर्ना भएका ६६ जनाको मृत्यु भएको छ । यस हिसाबले एक जना बिरामी बराबर प्रदेश सरकारले १ लाख ९९ हजार २ सय ७ रुपैयाँ लगानी गरेको छ ।

बुटवल, भैरहवा, दाङ र बाँकेमा रहेका कोरोना अस्पतालमा जम्मा १ सय ९५ बेड मात्रै छन् । चारवटै अस्पतालमा गरेर ३४ आईसीयू, ३३ मोनिटर र १२ वटा भेन्टिलेटर रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा। पुष्पराज पौडेलले बताए । जसमध्ये ७ वटा भेन्टिलेटर मात्रै सरकारले व्यवस्थापन गरेको हो । बुटवलमा रहेका ४ वटा भेन्टिलेटर र ८ वटा आईसीयू गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले दिएको हो । बाँकी एउटा भेन्टिलेटर लुम्बिनी प्रादेशिक अस्पतालमा यसअघिदेखि नै सञ्चालनमा थियो ।

सरकारले कोरोना अस्पतालमा लगानी बढाइरहेको बताए पनि धेरै संक्रमित बेड अभावले र जटिल खालका संक्रमित महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । सामाजिक विकासमन्त्री सुदर्शन बरालले जटिल खालका बिरामीलाई मध्यनजर गर्दै बुटवलस्थित कोरोना अस्पतालको क्षमता विस्तार थालिएको बताए ।  कान्तिपुर दैनिकमा समाचार छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation