दोस्रो अध्यक्ष दिन्छु भन्दा पनि माधव नेपाल मानेनन् : ओली

 अर्थ बुलेटिन   ७ सावन, २०७८



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो अध्यक्ष बनाउन आफू तयार हुँदा पनि वरिष्ठ नेता माधवकुमार नेपाल सहमतिमा नआएको बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गरेका ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो भएको बताए । ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ’ उनले भने, ‘१० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु ।’

पार्टीमा एकता कायम भए सबै संरचनाहरु ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने समते उनले बताए । नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग राखेको र आफूले कार्यदलका सदस्यहरुलाई त्यसका लागि तयार छु भनेको उनले सुनाए ।

‘मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु’ ओलीले भने, ‘यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ । केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन् । किन ? हामीलाई पार्टीबाट निकाल्न ?’

एक केन्द्रीय सदस्यका अनुसार ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु अनैतिक, अराजनीतिक र आपराधिक कार्य भएको बताएका छन् । उनले अघि भने, ‘तै पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथ्यै छु । एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन ।’

२७ असारमा एमाले एकताका लागि १०बुँदे सहमति जुटाएको तत्कालीन कार्यदलका नेताहरुका अनुसार त्यसबेला पनि औपचारिक र अनौपचारिक माध्यमबाट नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउने सकिने प्रस्ताव नेता नेपालसम्म पुगेको थियो । तर त्यसबारे थप को कुनै विश्वसनीय आधार थिएन । सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा रहेको एमाले सांसदहरुको हस्ताक्षर फिर्ता गराउन मात्र यस्तो भनिएको हुनसक्ने वरिष्ठ नेता नेपालको विश्लेषण थियो ।

२८ असारमा सर्वोच्चले संसद पुनर्स्थापना मात्र गरेन, एमालेका २३सहित १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो । ३ साउनमा नेता नेपालसहित एमालेका २२ सांसदले फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिए ।

त्यही प्रकरणलाई लिएर ओलीले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन्, जसमा फ्लोर क्रसबारे केही बोलिएको छैन । तर पार्टीभित्र गुटबन्दी गरिएको, विपक्षी गठबन्धनलाई सघाएको जस्ता आरोप छ ।

नेपाल समूहले भने पार्टी एकताको प्रयासमा भाँजो हाल्ने गरी स्पष्टीकरण सोधिएको बताएको छ । साथै माधव नेपालसहित फ्लोर क्रस गर्ने सांसदहरुविरुद्ध भइरहेको नाराबाजी रोक्न र एकताका लागि गम्भीर पहल गर्न आग्रह गरेको छ ।

साथै दोस्रो अध्यक्ष दिने प्रस्तावमा अध्यक्ष ओली टिकिरहने हो भने छलफल हुन सक्ने नेपाल समूहका नेताहरुले बताएका छन् । तर ओली पक्षका कतिपय नेताहरुले भने यो सर्वोच्च अदालतको फेसला पूर्वको अवस्था भनिएको भन्दै अहिले त्यसमा नअड्ने संकेत गरेका छन् ।

अनलाइन खवरवाट



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation