किनारा लाग्दै एमालेप्रधानमन्त्रीबाट ओली, मुख्यमन्त्रीबाट गुरुङपछि पोखरेल बाहिरिए

    २८ सावन, २०७८



रुपन्देही — पार्टीभित्रको आन्तिरक कलह र नेकपामा आएको विभाजनले २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाबाट शक्तिशाली बनेको एमालेले केन्द्रदेखि प्रदेशसम्मका सत्ता क्रमश: गुमाइरहेको छ ।

विपक्षी गठबन्धनमा बुहमत देखिने भएपछि बुधबार लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पद गएको थियो । उनले प्रदेश सभामा जेठ २८ मा विश्वासको मत प्राप्त गर्न नसक्दा पदमुक्त भएका थिए ।

प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गत असार २८ गते परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका थिए । योसँगै केन्द्र, गण्डकी र लुम्बिनी प्रदेशमा एमाले विपक्षी कित्तामा पुगेको छ । अब एमालेको नेतृत्वमा वाग्मती प्रदेश र प्रदेश १ मात्र बाँकी छ । यसअघि एमालेको केन्द्र र चारवटा प्रदेशमा नेतृत्व थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमा पार्टी भित्रैबाट प्रश्न उठेपछि नेकपाभित्र किचलो सुरु भएको थियो । त्यही किचलोको परिणाम नेकपा विभाजनदेखि अहिले एमालेको हातमा रहेका सरकारहरू पनि क्रमश: गुमिरहेका हुन् । वाग्मती र प्रदेश १ मा तत्काल कुनै अप्ठेरो परेको छैन । तर एमालेको माधव नेपाल समूहले दुवै प्रदेशमा खेल्ने भूमिकाले अब त्यहाँ सरकारको सम्भावित कोर्स कता जान्छ भन्ने तय हुन्छ ।

बुधबार लुम्बीनीबाट सत्ता गुमाएका पोखरेल, गण्डकीमा पृथ्वी सुब्बा गुरुङ दुवै एमालेका विश्वासपात्र नेताहरू हुन् । पार्टीभित्रको खटपटका कारण सिर्जित समस्याले ओलीसँगै पोखरेल र सुब्बा पनि सरकारबाट बाहिरिने परिस्थिति निर्माण भएको हो ।

बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेल तीन वर्ष बढी सत्ताको नेतृत्वमा बसे । प्रदेशको मुख्यमन्त्री भएपनि पनि ओली प्रधानमन्त्री रहँदासम्म केन्द्रीय राजनीतिमा परेका समस्या समेत सुल्झाउने भूमिका खेलिरहेका थिए । तर केन्द्रीय राजनीति प्रतिकूल बन्ने बित्तिकै चार महिनायता उनको सरकारपनि संकटमा पर्दै आएको थियो ।

उनले नेकपा विघटनपछि सबैभन्दा बढी चुनौती, अवरोध र आरोपको सामना गर्नुपर्‍यो । दाङको निर्वाचन– २ (क) बाट निर्वाचित पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । ४१ महिना २४ दिन सरकारमा बिताएका मुख्यमन्त्री पोखरेललाई पछिल्ला झण्डै ४ महिना सत्ता किचलोले सबै भन्दा बढी गिजोलेको थियो । आफ्नै पार्टीको राजनीतिक सन्तुलन मिलाउन र फुट्नै लागेको एमालेको एकता प्रकृयामा पनि उनी उत्तिकै सक्रिय भए । त्यसको फाइदा लिँदै तीन वर्ष सत्ता साझेदार बनेको नेकपा माओवादी उनै पोखरेललाई सत्ताबाट हत्याउन सबैभन्दा बढी क्रियाशिल बन्यो ।

प्रदेश सभामा दोस्रो दलको रुपमा प्रवेश गरेको माओवादी केन्द्रले आफ्ना दुई सदस्यलाई दल परिवर्तन अभियोगमा कारबाही गर्‍यो । त्यस्तै नेकपाबाट निर्वाचित दाङकै विमला वली खत्रीलाई आफ्नो दलमा प्रवेश गरायो । वलीको माओवादी प्रवेश नै पोरखेलका लागि सत्ता संकटको बिन्दु बन्यो । पोखरेलको बहिर्गमनका लागि लुम्बिनीमा कांग्रेस, जसपा र जनमोर्चाको पनि उत्तिकै भूमिका छ ।

किनारा लाग्दै एमाले

https://ekantipur.com/



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation