सन्दीपले क्यानलाई भने– प्रतियोगिता सक्काएर फर्कन्छु क्यान भन्छ–सन्दीप आरोपित मात्रै हुन्, सहयोग गर्छौं

 अर्थ बुलेटिन   २३ भदौ, २०७९



काठमाडौं । एक किशोरीविरुद्ध बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)लाई कानुनी सहयोग गर्दिन आग्रह गरेका छन् । लामिछानेले क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लसँग उक्त आग्रह गरेका हुन् ।

कार्यवाहक सचिव मल्लले सन्दीपसँग सम्पर्क भएको स्वीकारेका छन् । सन्दीपले क्यान समक्ष आफू निर्दाेष रहेको बताएको उनले जनाए ।  ‘क्यानलाई सन्दीपले आफू निर्दोष भएको बताएका छन् । कानुनी उपचारका लागि क्यानले सहयोग गर्नु प¥यो भनेका छन् । सन्दीपले क्यानलाई वकिल खोजिदिन आग्रह गरेका छन्,’ मल्लले न्युज कारखानासँग भने ।

राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका सन्दीपले एक किशोरीमाथि जवरजस्ती करणी गरेको अभियोग लागेपछि नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । टी–२० र एकदिवसीय शृंखलाका लागि केन्या प्रस्थान गर्नुअघि भदौ ५ गते ती किशोरीलाई जवरजस्ती करणी गरेको आरोप सन्दीप माथि छ । 

कार्यबहाक सचिव मल्लले सन्दीपलाई आरोपमात्रै लागेको र संस्थागत रुपमा क्यानले एक खेलाडीलाई पर्दा आवश्यक सहयोग गर्ने बताए । ‘उ हाम्रो खेलाडी हुन्,’ मल्लले भने, ‘आरोप लाग्दैमा उबाट हामी टाढा भयौं भने बाँकी खेलाडीले हामीलाई कसरी विश्वास गर्ने ? सन्दीप आरोपित मात्रै हुन् । सन्दीपलाई हामीले सहजीकरण नगरे अरु खेलाडीको मानसिकता के हुन्छ । हामीलाई पर्दा भाग्दो रहेछ भन्ने खेलाडीमा नजिर बन्छ,’ मल्ले भने । 

सन्दीप हाल भने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट विन्डिज छन् । उनले क्यानलाई प्रतियोगिता सक्काएर फर्कने प्रतिवद्धता जनाएका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation