प्रचण्डले लिए गोरखा २ बाट निर्वाचित प्रमाणपत्र, बाबुराम गएनन्गण्डकीमा कांग्रेस १६, एमाले ११ सिटमा विजयी

 अर्थ बुलेटिन   ९ मंसिर, २०७९



प्रचण्डले लिए गोरखा २ बाट निर्वाचित प्रमाणपत्र, बाबुराम गएनन्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित प्रमाणपत्र बुझेका छन् । शुक्रबार गोरखा पुगेर उनले निर्वाचित प्रमाणपत्र बुझेका हुन् । उनलाई जिल्ला निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

प्रचण्ड बिहीबार फराकिलो मतान्तरले गोरखा २ बाट विजयी भएका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनौती दिएका थिए । तेस्रो स्थानमा एमालेका अब्दुस मिया रहे ।

गोरखा २ को प्रदेश सभा सदस्यमा निर्वाचित भएका सुरेन्द्र पाण्डे र फणिन्द्र देवकोटाले पनि प्रमाणपत्र बुझेका छन् ।

प्रचण्डले प्रमाणपत्र बुझ्ने कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए । तर नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई उपस्थित भएनन् ।

गोरखा २ बाट प्रचण्डले उम्मेदवारी मनोनयन दर्ता गर्ने बेला बाबुराम पनि सँगै गएका थिए । त्यसबेला प्रचण्ड, बाबुराम र नारायणकाजी श्रेष्ठ सँगै थिए । तर, यसपटक प्रचण्ड र श्रेष्ठ मात्रै पुगे । बाबुराम गएनन् । आफ्नी छोरी मानुषी प्रतिनिधिसभा सदस्यमा निर्वाचित नभएकाले पनि उनी नगएको बुझिएको छ ।

गण्डकीमा ३३ सिट टुंगियो : कांग्रेस १६, एमाले ११ सिटमा विजयी

गण्डकीमा प्रदेश सभातर्फ ३३ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये ३३ क्षेत्रको टुंगो लाग्दा कांग्रेसले १६ सिट जितेको छ । 

एमालेले ११ सिट जित्दा माओवादीले ५ सिटमा विजय हासिल गरेको छ । मनाङको एक सिटमा स्वतन्त्रले जितेका छन् । कांग्रेसले गोरखा १ (ख), गोरखा २ (ख), बागलुङका ४ वटा निर्वाचन क्षेत्र, मुस्ताङका दुवै निर्वाचन क्षेत्र, तनहुँ  १ (क), तनहुँ २ (ख), मनाङ १ (क) मा जितेको हो । यसैगरी कास्की २ (ख), ३(ख), नवलवुर १ (क), लमजुङका दुवै क्षेत्रमा विजय हासिल गरेको छ ।

एमालेले नवलपुर १ को (ख), २ (क) र (ख), कास्की १ (क), १(ख), २ (क) र ३ (क) तथा तनहुँ २ (क) मा चुनाव जितेको छ । पर्वतका दुवै क्षेत्रमा एमालेले जित निकालेको छ ।

स्याङ्जा १ (क) मा पनि एमालेले जितेको छ । माओवादीले गोरखा १ (क) र २ (क) तथा म्याग्दीका दुवै क्षेत्रमा जित निकालेको छ । तनहुँका १ (ख ) मा पनि माओवादीले जितेको छ ।  

मनाङ (ख) मा भने राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका थिए । अब स्याङ्जाका ३ क्षेत्रको परिणाम आउन बाँकी छ । स्याङजाका २ क्षेत्रमा गणना नै सुरु भएको छैन । एक क्षेत्रको गणना अन्तिम अवस्थामा पुगेको छ । 

 

बाराको १० स्थानको परिणाम आउँदा एमाले पाँच स्थानमा विजयी

बाराको चारवटा निर्वाचन क्षेत्रअन्तर्गत तीन प्रतिनिधिसभा र सात प्रदेशसभाको नजिता आइसकेको छ । १० वटा निर्वाचन क्षेत्रको परिणाम आउँदा नेकपा एमालेले पाँच स्थानमा जित हात पारेको छ ।

एमालेले दुई प्रतिनिधिसभा र तीन प्रदेशसभामा विजय प्राप्त गरेको छ । बारा क्षेत्र नं. १ मा एमालेका पोलिटव्युरो सदस्य अच्युत मैनाली र बारा क्षेत्र नं. ३ मा अर्की पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह निर्वाचित भएकी छिन् ।

मैनालीले नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई नौ हजार एक सय ३९ मतको मतान्तरले पराजित गरेका हुन् । मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गर्दा चौधरीले ३० हजार ५६ मत पाएका छन् ।

यसैगरी बारा क्षेत्र नं. ३ मा पूर्वमन्त्रीसमेत रहेकी साहले जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवलाई दुई हजार नौ सय ८२ मतको मतान्तरले पराजित गरिन् । साहले २० हजार दुई सय ५१ मत पाएर निर्वाचित हुँदा जसपा मधेस प्रदेश अध्यक्षसमेत रहेका यादवले १७ हजार दुई सय ६९ मत पाएका छन् ।

प्रदेशसभातर्फ बारा क्षेत्र नं. ४(१) मा देवनारायण चौधरी तीन हजार ६ सय १९ मतको मतान्तरले निर्वाचित भए । चौधरीले १३ हजार ६ सय ८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ सय उनानब्बे मत पाएका छन् ।

यसैगरी प्रदेशसभा ३(१) मा एमालेका रवीन्द्रदास श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले माओवादी केन्द्रका मुकेश साहलाई आठ सय ८६ मतले पराजित गरेका हुन् । श्रेष्ठले आठ हजार एक सय ९५ मत प्राप्त गर्दा साहले सात हजार तीन सय नौ मत पाएका छन् ।

बाराको प्रदेशसभामा तेस्रो जित निकाल्ले क्रममा क्षेत्र नं. १(१) मा एमालेका त्रिलोकी चौधरी निर्वाचित भए । उनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा चौधरी निर्वाचित भएका थिए ।

दोस्रो पटक प्रदेशसभा निर्वाचित हुने क्रममा चौधरीले १६ हजार सात सय ९८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश दंगालले १४ हजार दुई सय ७० मत पाएका छन् । चौधरी दुई हजार पाँच सय २८ मतको मतान्तरले निर्वाचित भएका हुन् ।

बारामा अब एमाले उम्मेदवार रहेको एउटा प्रदेश निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ । बारा क्षेत्र नं. ३(२) को परिणाम आउन बाँकी रहेको हो । उक्त निर्वाचन क्षेत्रमा पनि एमालेका उम्मेदवार महम्मद समिर अग्र स्थानमा छ ।

एमालेले बाराको चार प्रतिनिधिसभा र आठ प्रदेशसभामध्ये सात स्थानमा उम्मेदवारी दिएको थियो । जसमध्ये दुई स्थानमा पराजय व्यहोरेको छ । बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभामा पूर्वमन्त्री एकबाल मिया र क्षेत्र नं. २(१) को प्रदेशसभामा बलवीर चौधरी पराजित भएका छन् ।

जसपासंग चुनावी तालमेल गरेको एमालेले बारा क्षेत्र नं. २, क्षेत्र नं. २(२), क्षेत्र नं. १(२) र क्षेत्र नं. ४(२) मा उम्मेदवारी दिएको थिएन् । उक्त क्षेत्रमा जसपाका उम्मेदवारले निर्वाचन लडेका थिए । जसपाका उम्मेदवारमध्ये १(२) मा सरोज यादव, २(२) मा बच्चा राउत अहिर निर्वाचित भईसकेका छन् भने ४(२) मा आत्माराम साह पराजित भएका छन् ।

बारा क्षेत्र नं. २ को मतगणना जारी छ । उक्त निर्वाचन क्षेत्रको पछिल्लो मतपरिणामअनुसार जसपाका उम्मेदवार रामसहाय यादव दोस्रो स्थानमा छन् । उक्त क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता लिइरहेका छन् ।

जिल्लाको अन्य सबै क्षेत्रमा तालमेल गरेको एमाले र जसपाले बारा बारा क्षेत्र नं. ३ मा भने मित्रवत प्रतिस्पर्धा गरेको थियो ।

 

यी हुन् राप्रपा उम्मेदवारसँग पराजित पूर्वमन्त्रीहरू

काठमाडौैं, ९ मंसिर । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइरहँदा बहालवाला मन्त्री, पूर्वमन्त्री र पार्टी पदाधिकारी पराजित भएका छन् । 

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित राजनीतिक दलका पदाधिकारी पराजित भएका छन् । प्रचलित संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतासहितका विषयमा फरक विचार राख्दै आएको राप्रपाका उम्मेदवारसँग केही पूर्वमन्त्री पराजित भएका छन् । 

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग कांग्रेस नेता तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौला पराजित भए ।लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याएर निर्वाचित हुँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत पाएर पराजित हुन पुगे ।

मकवनापुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंहसँग राप्रपा नेपालका अध्यक्ष तथा पूर्वमन्त्री कमल थापा पराजित भए । सिंहले २७ हजार ८१६ मत ल्याएर निर्वाचित हुँदा पूर्वउपप्रधानमन्त्री थापा २५ हजार ४२० मतसहित पराजित हुन पुगे । 

यसैगरी, ध्रुवबहादुर प्रधानले पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेललाई पराजित गरेका छन् ।  नवलपरासी–२ मा प्रधानले कांग्रेसका उम्मेदवार कंडेललाई १९ हजार ५९५ मतान्तरले हराएका हुन् । प्रधानले ३४ हजार ९५९ मतसहित निर्वाचित कँडेलले १९ हजार ५९४ मत मात्र ल्याए ।

रुपन्देही ३ मा बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका दीपक बोहराले अग्रता लिइरहेका छन् । पछिल्लो अपडेटअनुसार बोहराले २७ हजार ६३१ मतसहित अग्रता लिइरहँदा खाणले २७ हजार १५८ मतसहित पछ्याइरहेका छन् । 

बाँके २ मा राप्रपाका महामन्त्री धवल शमशेर राणासँग पूर्वमन्त्रीसमेत रहेका जसपाका मोहम्मद इश्तियाक राई पराजित भए । राणाले २९ हार ५७७ मत ल्याएर निर्वाचित हुँदा राईले २३ हजार ५२० मत ल्याएर पराजित हुन पुगे । 

 

प्रदेशसभा सदस्यमा एमालेको बारामा तेस्रो जित, चौधरी पुनः निर्वाचित

बारा १ (क) को प्रदेशसभा सदस्यमा त्रिलोकी चौधरी पुनः निर्वाचित भएका छन् । उनी दुई हजार पाँच सय २८ मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन् ।

चौधरीले १६ हजार सात सय ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार रमेश दंगालले १४ हजार दुई सय ७० मत प्राप्त गरेका छन् । चौधरी  २०७४ को निर्वाचनमा पनि निर्वाचित भएका थिए ।

चौधरीको जितसँगै एमालेले बारामा उम्मेदवारी दिएको चार प्रदेशसभामध्ये तीनमा जित हात पारेको छ । यसअघि बारा ४(क) मा देवनारायण चौधरी, ३ ( क) मा रवीन्द्रदास श्रेष्ठ निर्वाचित भइसकेका छन् ।

बारा २ (क) मा भने एमाले उम्मेदवार बलवीर चौधरी पराजित भएका छन् । उनले उम्मेदवारी दिएको क्षेत्रमा स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार निर्वाचित भएका छन् ।

 

काभ्रे २ बाट गोकुल बास्कोटा निर्वाचित, कांग्रेसका हुमागाई पराजित

एमाले नेता गोकुल बास्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सुरुदेखि नै कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईसँग पछाडि परेका गोकुल बिहीबार बिहानदेखि मात्र अगाडि लागेका छन् ।

मतपरिणामअनुसार बास्कोटा झन्डै ६ हजार मतान्तरले निर्वाचित भएका छन् । उनले ४५ हजार ३४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंले ३९ हजार ४८२ मत ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरे । अघिल्लो पटक ०७४ मा पनि बास्कोटा यही क्षेत्रबाट निर्वाचित भएका थिए । ५५ हजार ५२६ मत ल्याएका उनी धेरै मतान्तरसहित विजयी हुनेमा थिए । तर, यसपटक भने उनले कांग्रेस उम्मेदवारसँग निकै प्रतिस्पर्धा गर्नुपरेको छ ।

एमालेका धेरैजसो पदाधिकारीले निर्वाचन हार्दै गर्दा बास्कोटा भने विजयी भएका छन् । काभ्रे १ मा पनि एमालेकै रेशम लामाले माओवादीका उम्मेदवार सूर्यमान दोङलाई पछाडि पारेका छन् । काभ्रेका चार प्रदेशसभा सदस्यमा भने कांग्रेस, माओवादी र एकीकृत समाजवादीले चुनाव जितेका छन् ।

 

म प्रतिको विश्वास र माया नै मेरो जित हो : कृष्णप्रसाद सिटौला

काठमाडौं, ९ मंसिर । झापा क्षेत्र नम्बर ३ मा पराजित भएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफूले पाएको मत र विश्वास नै आफ्नो जित भएको बताएका छन् । 

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित हुन पुगेका हुन् । लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याएर निर्वाचित हुँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत पाएर पराजित हुन पुगे । तर, आफूले पाएकै मत पनि आफ्नो जित भएको सिटौलाले प्रतिक्रिया दिएका छन् । 

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा सिटौलाले लेखेका छन्, ‘अग्रगमनको पक्षमा मलाई मत दिनु हुने ३७३७२ को म प्रतिको विश्वास र माया नै मेरो जित हो ।’ 

प्रतिनिधिसभा सदस्यमा निर्वाचित लिङ्देन र प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशी र छविलाल चुडाललाई बधाई तथा शुभकामना दिँदै सिटौलाले  जनताको चाहनाबमोजिम देश विकासमा लाग्न सधैँ प्रेरणा मिलोस् भनेर कामना पनि गरेका छन् । 

सिटौलाको स्टाटस :

झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित राजेन्द्रप्रसाद लिङ्देन एवं प्रदेश सभामा निर्वाचित भूमिप्रसाद राजवंशी र छबिलाल चुडाललाई म बधाई एवं शुभकामना व्यक्त गर्दछु। नेपालीहरुको चाहना बमोजिम देश विकासमा लाग्न तपाईंहरुलाई सँधै प्रेरणा मिलीरहोस्। 

निर्वाचनमा सहभागी सम्पूर्ण मतदाताहरुलाई म धन्यवाद दिन चाहन्छु। तपाईंहरुको यो सहभागिता नै लोकतन्त्रको बलियो आधार हो।

चुनावमा हार जित त हुन्छ नै। तर आफ्नो क्षेत्रको, यहाँका जनताको र देशको अनवरत सेवा गर्नबाट मलाई कुनै चुनावको नतिजाले रोकेको थिएन, र भविष्यमा पनि रोक्ने छैन। अग्रगमनको पक्षमा मलाई मत दिनु हुने ३७३७२ को म प्रतिको विश्वास र माया नै मेरो जीत हो। यसले नै मलाई क्षेत्र र देशको विकास र समृद्धिका लागी डटिरहन अझ हौसला दिएको छ।

चुनावी अभियानमा हामीलाई सक्रिय सहयोग गर्नुहुने सबै साथीहरुलाई म धेरै धन्यवाद दिन चाहन्छु। लोकतन्त्र र गणतन्त्र प्रतिको तपाईंहरुको आस्था र तपाईंहरुको उत्साह र कर्मशीलताले मलाई नेपालको भविष्य सुदृड र समृद्ध छ भन्ने कुरामा पुनः विश्वास दिलाएको छ। चुनावको नतिजाले नआत्तिनुहोस्। देश सेवामा म सँधै तपाईंहरुको साथमै हुनेछु।

निर्वाचनलाई सफल बनाउन खट्नु भएका निर्वाचन अधिकृत एवं सम्पूर्ण कर्मचारी, स्वयम् सेवक र सुरक्षाकर्मीहरुलाई म धन्यवाद दिन चाहन्छु। निर्वाचनमा जनताले निर्धक्क भएर आफ्नो मत खसाल्न पाउनु लोकतन्त्रको निम्ति अपरिहार्य हो। यसमा तपाईंहरुको योगदान प्रशंसनिय छ। 

जय नेपाल
 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation