‘वेदको सामान्यज्ञान’ नामक पुस्तक सार्वजनिक

 अर्थ बुलेटिन संवाददाता   ९ पौष, २०७६



  काठमाडौँ  । जरो किलो प्रतिष्ठान नेपालले ‘वेदको सामान्यज्ञान’ नामक पुस्तक सार्वजनिक गरेको छ । काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक तथा जरो किलो प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा निर्मलमणि अधिकारीले लेख्नुभएको ‘वेदको सामान्यज्ञान’ पुस्तक वेदलाई नेपालीमा अनुवाद गर्नुभएका आचार्य तिलकप्रसाद लुइँटेलले लोकार्पण गर्नुभएको हो ।   

पुस्तक लोकर्पण गर्दै वेद अनुवादक आचार्य तिलकप्रसाद लुइँटेलले वेदका बारेमा जानकारी लिन चाहने सर्वसाधारणका लागि पुस्तक प्रवेश विन्दु भएको बताउनुभयो । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले वेदमा सबै कुरा छ भनिए पनि यसमा भएको वैज्ञानिक पक्षका बारेमा चर्चा हुनुपर्नेमा जोड दिंनुभयो । वेदमा भएका ज्ञानको विषयगत पुस्तक प्रकाशित हुनुपर्ने उहाँको भनाइ थियो ।  

प्राडा आनन्दप्रसाद घिमिरेले वेदको विविध पक्षका बारेमा चर्चा गर्दै लोकार्पित पुस्तकले सामान्य पाठकलाई पनि वेदका बारेमा जानकारी राख्न सघाउने बताउनुभयो । कार्यक्रममा डा गोविन्दशरण उपाध्यायले पछिल्लो समय वेदका बारेमा सर्वसाधारणमा बढेको जिज्ञासाको समाधान पुस्तकले गर्ने विश्वास व्यक्त गर्नुभयो । 

 पुस्तकका लेखक अधिकारीले विभिन्न माध्यमबाट वेदबारेमा सयौँ प्रश्न सोधिने गरेकामा सबैको प्रतिनिधि ३० प्रश्नको उत्तर समेटेर पुस्तक तयार पारिएको बताउनुभयो । पुस्तकमा नेपाली, हिन्दी तथा अङ्ग्रेजीमा उपलब्ध सन्दर्भ सामग्रीको अधिकतम् प्रयोग गरिएको सो अवसरमा जानकारी गराइयो ।

वेदको सामान्यज्ञान जस्तै आगामी दिनमा उपनिषद्, पुराणलगायत स्मृति गन्थहरुको पनि समान्यज्ञान प्रकाशन हुने लेखक अधिकारी प्रतिबद्धता थियो ।   वेदमा सबै ज्ञानको सार समेटिएको बताउँदै वाल्मीकि विद्यापीठका सहप्राध्यापक माधवप्रसाद पाण्डेयले वर्तमान समयमा वेदको वैज्ञानिक पक्षमा धेरै जिज्ञासा भएकाले यस विषयमा छुट्टै पुस्तक आवश्यक भएकामा जोड दिनुभयो ।    



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation