कुलमान घिसिङ र नेपाल विद्युत प्राधिकरण

 लिला बल्लभ नेपाल, विराटनगर   १० भदौ, २०७७



           दैनिक १८ घण्टा सम्मको लामो र टिठ लाग्दो लोडसेडिङको पूर्ण रुपमा अन्त्य गर्दै नेपाल र नेपालीको लागि उज्यालोको ज्योति बन्दै समृद्ध नेपालको मनोबल उच्च बनाउँदै सम्पूर्ण नेपालीहरुको मानसपटलमा बस्न सफल रामेछापको दुर्गम गाउँ बेथानको एक साधारण परिवारमा २०२७ मंशिर १० गते बुधवार जन्म भई सम्पूर्ण  राष्ट्रप्रेमीहरुको प्रेरणाको स्रोत तथा सबैका आदरणिय व्यक्तित्व बन्न सफल भएका छन् कुलमान घिसिङ ।

सम्पूर्ण नेपालीहरुको घर र मनलाई उज्यालो बनाउने मूल अभियानका साथ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक बन्न पुगेका घिसिङले नियुक्ति हुनु भन्दा अघि विना कारण जिम्मेवार विहिन अवस्थामा पुग्नु पर्योा भने नियुक्तिको चरणमा केहि सीमित स्वार्थ समूहद्वारा उनको नियुक्ति बदर गर्न अदालतमा रिट समेत हाल्न भ्याए ।

तर अन्ततः अदालतले उनको नियुक्तिको बाटो खोलि दियो र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्न सफल भए ।यो चार वर्षको कार्यकालमा साँच्चै नै आफ्नो अभियानलाइ पुरा गर्न सफल भएका छन् घिसिङ । आज गाउँ गाउँका टुकी र लालटिनहरु सहजै विस्तापित भएका छन् साथै नेपाल विद्युत प्राधिकरणको खस्कदो साख पनि चम्किएको छ । ूगरे के हुँदैनू भन्ने सिद्धान्त आज चरितार्थ भएको छ ।

असम्भव भन्ने कुरा मुर्ख को डायरीमा मात्र हुन्छू भन्ने भनाई कार्यकारी निर्देशक घिसिङले आज प्रमाणित गरिदिएका छन् । नेपालको लोडसेडिङ जिन्दगिभर हट्दैन र कसैले हटाउन पनि सक्दैन र कसैले हटाएर देखायो भने कान काटेर पातमा राखिदिन्छु भन्नेहरु आज यसको जस आफुले लिन घिसिङलाई विस्तापित गर्दै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्ने होडबाजीमा देखिन्छन् ।
१८ घण्टा लोडसेडिङ
कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनु भन्दा अगाडि नेपालमा पुरै अन्धकार थियो । १८ देखी २२ घण्टा सम्म लोडसेडिङ हुन्थ्यो । नेपालीहरुले विजुलीको अनुहार नै देख्न पाउँदैन थिए । राती सुत्दा विजुली हुँदैन थियो, विहान उठ्दा पनि विजुली हुँदैन थियो । राति १२ बजे तिर आएर विहान ४ बजे तिर लाइन गईसक्थ्यो । अन्धकारमा खाना पकाउने र अन्धकारमै खाने नेपालीहरुको नियति नै बनिसकेको थियो ।

केही हुने खानेहरुले सोलार तथा इन्भर्टर जडान गरे पनि आम मानिस त्यसको पहुँचबाट टाढा थिए । बजारमा ब्याट्री, इन्भर्टर तथा सोलारको बजार खुब चलेको थियो । नेपालीहरुको नियति नै बनिसकेको थियो ऋण गरेर भए पनि ब्याट्री किन्नु र घरलाई उज्यालो बनाउनु । ब्याट्री, इन्भर्टर तथा सोलारको ब्यापार र कमिसनको खेलले नेपाली समाज आक्रान्त बनिसकेको थियो ।

लोडसेडिङको जरा यति गहिरिएको थियो कि यसको दलदलवाट नेपाली समाजलाई बचाउन कसैले सपनामा समेत चिताउने अवस्था थिएन । ‘त्यसैले लाग्थ्योकी नेपालमा मौलाएको लोडसेडिङ र कमिसनको खेल हटाउनु कुनै हालतमा सम्भव नै देखिदैन थिएनू । विद्युत प्राधिकरण लोडसेडिङको दैनिक तालिका बनाउन मै व्यस्त देखिन्थ्यो । नेपाल सरकारसँग उज्यालो नेपालको कल्पना गरिएको कुनै योजना नै देखिदैन थियो ।

समाजका भ्रष्ट तथा ‘एनी हाउ पैसा कमाउ’ भन्ने भावना भएका सेवा प्रवाह सँग सम्वद्ध व्यक्तिहरुमा केही पहुँचवाला उद्योगहरुलाई बिजुली दिएर कमिसन कुम्ल्याउने होडबाजी नै चल्थ्यो । यस्तो समयमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनु र नेपालमा लोडसेडिङ अन्त्य गर्नु त्यती सहज थिएन । यस्तो विकराल परिस्थितिमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएका घिसिङ उज्यालो नेपालको एक मात्र अभियानमा लागि परे, वर्षौ देखि कमाउ सेटिङमा लागेका विद्युत प्राधिकरणका हजारौ कर्मचारीहरुको एकमुष्ट सरुवा गर्दै अत्यन्त चुनौतिका बीच आफ्नो उज्यालो नेपालको अभियान शुरु गरे र अन्ततः आफ्नो अभियानलाई सफल पार्दै यो ४ वर्षको अवधीमा नेपाललाई पूर्ण रुपमा लोडसेडिङ मुक्त बनाउन सफल भए । उनले नेपाली जनतालाई लगाएको यो गुण वर्तमान पिढीले मात्र हैन भावी पुस्ताहरुले पनि अवश्यै सम्झने छन् ।


घिसिङको विगतः

१.२०५१ सालमा इन्जिनियर, सातौ तहवाट नेपाल विद्युत प्राधिकरणमा उनको आधाकारिक प्रवेश भयो ।
२.नेपाल विद्युत प्राधिकरणमै कार्यरत रहँदा उनी चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशक बन्न सफल भए ।
३.२०७३ भाद्र २९ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भए ।
४.तत्कालिन उर्जा मन्त्री जनार्दन शर्माले पत्याएका व्यक्तित्व हुन् उनी ।
५.उनी नियुक्त भएको २०७३ सालमा काठमाण्डौ पहिलो पटक लोडसेडिङ मुक्त भयो ।
६.दोस्रो चरणमा भरतपुर र पोखरा लोडसेडिङ मुक्त भयो ।
७.    तेस्रो चरणमा २०७५ सालमा पुरै नेपाल लोडसेडिङ मुक्त भयो ।
८.खस्कदै गएको प्राधिकरणको छवि एकाएक चम्किलो भयो ।
९.सरकारले उनी माथी गरेको विश्वास, निरन्तर सहयोग र प्राधिकरणको समग्र टिमको योगदानले उनलाई सफल बनायो ।
१०.विद्युत चुहावटको ठुलो समस्या समाधान भयो र विद्युत खपतमा वृद्धि भयो ।
११.विगत ४ वर्षमा नेपाल विद्युत प्राधिकरण निरन्तर नाफामा जान सफल भयो ।
१२. विद्युत पहुँचमा वृद्धि भयो ।

त्यस्तो लोडसेडिङमय अन्धकार नेपालको बिकराल परिस्थितको विभिन्न चुनौतिसँग लड्दै आफ्नो उज्यालो नेपाल अभियान सहित समृद्ध नेपालीको मुल लक्ष्यमा सफल घिसिङ आफ्नो निष्ठापूर्ण राष्ट्रसेवामा समर्पित हुँदाहुँदै उनका केही कार्य तथा आफ्नो कार्यकालमा पूरा गर्न नसकेका केही कमजोरीहरुलाई लिएर जनमानसमा आलोचित समेत बन्नु पर्यो  । सधैं सकारात्मक सोचका साथ राष्ट्रसेवामा समर्पित हुँदाहुँदै आलोचनाको पात्र बन्न पुग्नु उनको व्यक्तिगत जीवन तथा समग्र राष्ट्रकै लागि दुःखद् अवस्था हो भन्दा अतिसयुक्तिपूर्ण नहोला ।

के थिए त घिसिङ आलोचित बन्नुपर्ने कारणहरु ?

१.एल.इ.डि. बल्ब खरिद काण्डको कमिसन विवादमा आलोचित हुनु पर्दा उनले पारदर्शिताको माध्यमवाट आफु यस्तो विवादमा पर्नु नपर्ने कारण सहित प्रष्ट रुपमा उपस्थित हुन नसक्नु ।
२.प्रशस्त समय पाउँदा समेत माथिल्लो तामाकोशीलाइ पूर्णता दिन नसकेको अवस्थामा किन पूर्णता पाउँन सकेन माथिल्लो तामाकोशीले भन्ने प्रष्ट आधार जनमानसमा पेश गर्न नसक्नु ।
३. ग्यासरपेट्रोलियम विस्थापनको मूर्त योजनारखाका तयार पार्न नसक्नु ।
४.विद्युत खपतमा वृद्धि गर्ने दिर्घकालिन आधार तयार गर्न नसक्नुको पछाडी के थियो त बाधक यस विषयमा कहि कतै आफ्नो धारणा सम्प्रेषण गर्नबाट चुक्नु ।
५.पेट्रोल डिजेलको प्रयोगलाई विस्तापित गरी विद्युतीय सामाग्री प्रयोगको दिर्घकालिन आधार तय गरे पनि यसको कार्यान्वयन किन हुन सकेन ?  के थियो त उनलाई असफल बनाउने कारण ? यस विषयमा उनले खुलेर आफ्नो धारणा व्यक्त गर्न नसक्नु ।
६.रुग्ण बनेका ३६ वटा जलविद्युत आयोजनाको उद्धार गर्न निर्देशक घिसिङ किन चुके ? के उनले नचाहेरै ती जलविद्युत आयोजनाको अवस्था रुग्ण भएको हो ? उनको प्रश्ट धारणा आउन सकेन, जसवाट उनी आलोचित बन्न पुगे ।
७. बिद्युत खपतको दर बढाउन प्रभावकारी योजना किन ल्याउन सकेनन् कार्यकारी निर्देशक घिसिङले ? के उनलाई कहि कतैवाट काममा वाधा उत्पन्न भएको हो ? खुलेर बोल्न सक्नु पर्थ्यो, जहाँ उनी चुके ।
८. प्राधिकरणका वितरण केन्द्रहरुको सेवा प्रवाहमा सुधार गर्न नसक्नु र सम्वन्धित कर्मचारीहरुलाई आफ्नो सेवा प्रति जवाफदेही बनाउन नसक्नु उनको कार्यकालको ठुलो कमजोरी हो ।
९. हामी भारतलाई विजुली बेच्न तयार छौ तर नेपालकै लगभग १४ प्रतिशत  जनसंख्या ग्रिडको विजुलीको पहुँच वाहिर हुनु दुखद् कुरा हो जसले घिसिङलाई आलोचित बनाउनवाट रोक्न सक्दैन ।
१०.झ्याप्प–झ्याप्प बिजुली गईरहनु, ग्रामिण तथा कतिपय शहरीक्षेत्रमा समेत लो भोल्टेजको समस्या समाधान हुन नसक्नुले निर्देशक घिसिङलाई आलोचित बनायो ।
११.    सोलु करिडोर, कालीगण्डकी करिडोर, हेटौंडा(भरतपुर बर्दघाट, सिंगटी लामेसाँघु, हेटौंडा-ढल्केबर-इनरुवा लगायतका आन्तरिक प्रसारण लाईनहरु किन उनको कार्यकालमा बन्न सकेनन् ? के थियो यसको पछाडीको कारण उनले खुलेर सबैलाई स्पष्ट बनाउनु जरुरी थियो । तर त्यसो गरेनन् जसले उनलाइ आलोचित बनायो ।
१२. लोडसेडिङ त अन्त्य भयो तर वितरण लाइनमा किन सुधार हुन सकेन ? एक झर पानी पर्नासाथ लाइन काटिने समस्याको समाधान के हो ? एसी, हिटर जस्ता विद्युतिय सामाग्रीहरुको लोड धान्न सक्ने वितरण प्रणाली विस्तार गर्न नसक्दा निर्देशक घिसिङ आलोचित बन्न पुगेका छन् ।
१४.४५६ मेगावाटको माथिल्लो तामाकोसी जस्ता ठुला विद्युत आयोजनाहरु सफल पार्न सकेको भए आज उनको कार्यकालमा विद्युत प्राधिकरण फाईदामा जाने मात्र हैन भारत लगायत अन्य देशहरुलाई विद्युत बेचेर नेपालले समृद्धिको यात्रा समाईसकेको हुने थियो, यस्तो हातैमा आईसकेको ठुलो सफलता सम्पूर्ण नेपाल र नेपालीलाई दिन नसक्नुले उनी आलोचित बन्न पुगे ।

चार वर्षे कार्यकालमा घिसिङका उपलब्धिः

१ं बित्तीय सुधारः आर्थिक वर्ष २०६७/०६८ सम्म सञ्चित घाटा करिब २७ अर्ब रुपैयाँ रहेको नेपाल विद्युत प्राधिकरण आर्थिक वर्ष २०७६/०७७ सम्म आइपुग्दा करिब ११ अर्ब रुपैयाँ खुद मुनाफा कमाउन सफल भयो । यसले प्रमाणित हुन्छकी नेपाल विद्युत प्राधिकरण निरन्तर रुपमा नाफामा गई वित्तीय सुशासनमा बढोत्तरी हुदै गएको अवस्था छ ।
२. प्रशासनिक सुधारः Right Man Right Place को अवधारणाले सार्थकता पाएको छ । सेवा प्रवाहमा, विद्युत चुहावट नियन्त्रण तथा महशुल बक्यौता असुलको क्षेत्रमा उल्लेख्य रुपमा सुधार भएको छ । प्राधिकरणलाई सूचना मैत्री बनाउन सफल भएको छ । कम्पनी मोडलमा जलविद्युत उत्पादन गर्ने कार्यको शुरुवात भएको छ।
३. उत्पादनमा सुधारः आर्थिक वर्ष २०७२/७३ मा नेपालमा जम्मा कुल ८०१.७ मेगावाट जलविद्युत उत्पादन भइरहेको थियो भने आर्थिक वर्ष २०७६/७७ सम्म आइपुग्दा जलविद्युत उत्पादन ५७ प्रतिशतले बृद्धि भई १२५८.७ मेगावाट पुगेको छ । प्राकृतिक प्रकोप तथा अन्य विविध कारणले अलपत्र अवस्थामा रहेका निर्माणाधिन जलविद्युत आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिई विद्युत उत्पादनको क्षेत्रमा उल्लेखनिय सुधार गरेको अवस्था छ ।

४. विद्युत प्रशारणमा सुधारः देश भर २२० के.भी. सम्मका प्रशारण लाईनहरु जस्तै खिम्ती/ढल्केवर, कोहलपुर/महेन्द्रनगर, हेटौडा कुलेखानी/स्यूचाटारको निर्माण तथा स्तरोन्नती गरी विद्युत प्रशारणमा उल्लेख्य सुधार गरेको तथा विकट भौगोलिक अवस्थाका ठाउँहरुलाई समेत केन्द्रीय प्रशारण लाइनमा जोडेको देखिन्छ । घाटाको कलंक अन्त्य गरेर नाफाको युग सुरु गरेको नेपाल विद्युत प्राधिकरण बिगतका वर्षमा सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्न सफल भएको छ ।
५.विद्युत चुहावट नियन्त्रणमा सुधारः आर्थिक वर्ष २०७२/०७३ मा २५.७८ प्रतिशत विद्युत चुहावट रहेकोमा आर्थिक वर्ष २०७६/७७ सम्म आइपुग्दा विद्युत चुहावट १५.२७ प्रतिशतमा खुम्चन पुग्यो । यसलाई विद्युत चुहावट नियन्त्रणमा भएको उल्लेखनिय सुधारको रुपमा मान्न सकिन्छ ।
६ .विद्युत खपतमा सुधारः आर्थिक वर्ष २०७२र७३ मा नेपालमा वार्षिक विद्युत खपत ३ अर्ब ७१ करोड ५८ लाख युनिट थियो भने आर्थिक वर्ष २०७६/७७ मा कूल खपत ६ अर्ब ५२ करोड ८७ लाख युनिट पुग्यो । समग्रमा चार वर्षको अवधिमा विद्यु खपत ८० प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाउँछ ।
७. विद्युत पहुँचमा सुधारः आर्थिक वर्ष २०७२/७३ मा नेपाल विद्युत प्राधिकरको जम्मा ग्राहक संख्या २९ लाखको हाराहारीमा थियो भने आर्थिक वर्ष २०७६/७७ मा कूल ग्राहक संख्या बढेर ४८ लाख हाराहारीमा पुगेको छ । यो चार वर्षको अवधिमा थप २३ प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारणमार्फत बिजुली सेवा पुगेको तथ्यांकले देखाउँछ ।
८. वितरणमा सुधारः ग्राहकले गुणस्तरीय सेवा पाउने किसिमवाट विभिन्न सुधारहरु जस्तै E-Payment System मिटर तथा ट्रान्सफरमर वितरणमा सरलता, स्मार्ट मिटर, स्मार्ट ग्रिड जस्ता सुविधासम्पन्न सेवा सञ्चालन गरेको साथै भूमिगत तार विछ्याउने कार्यको प्रकृया थालनी गरेको अवस्था देखिन्छ ।

 अव आउने कार्यकारीका अवशर र चुनौतिः

अवशरः
१. देशलाइ आर्थिक रुपमा सम्पन्न बनाउन उर्जामा पूर्णरुपमा आत्म निर्भर बनाउने ।
२.    बैकल्पिक उर्जाको सम्वर्धन तथा प्रवर्धन गरी उत्पादनमा एक रुपता ल्याउने ।
३. देश भित्र तथा अन्तरदेशीय उच्च भोल्टेजका प्रसारण लाईनहरु निर्माण गर्ने ।
४.विद्युत प्राधिकरणको हालको साखलाइ जोगाई अझ चम्किलो बनाउने
५स्मार्ट ग्रिड तथा स्मार्ट मिटर सिस्टमलाई प्रभावकारी रुपमा प्रयोगमा ल्याउने ।
६.भूमिगत तार विछ्याउने कार्यलाई पूर्णाता दिने ।
७.    विद्युत व्यापारको दायरा अन्तर्राष्ट्रिय स्तरमा पुर्याुउने ।
चुनौतिः
१.विद्युत प्राधिकरणको हालको साखलाई जोगाई उज्यालो नेपालको समृद्ध लक्ष पुरा गर्ने ।
२.आन्तरिक रुपमा सेटिङ मिलाई कमिसन खाने प्रवृत्तिको पूर्ण रुपमा अन्त्य गर्ने ।
३. ठुला जलविद्युत आयोजना भित्र हुने राजनीतिकरण र भ्रष्टाचारको अन्त्य गर्ने ।
४.विद्युत प्राधिकरणको प्रशासनिक कार्यमा हुने राजनीतिक हस्तक्षेपको पूर्ण रुपमा अन्त्य गरी स्वस्थ सबल र जिम्मेवार संस्थाको रुपमा स्थापित गर्ने ।
अन्तमा,
नेपाल विद्युत प्राधिकरणको चार वर्ष अघि र अहिलेको अवस्थालाई हेर्दा आन्तरिक, संस्थागत, प्रशासनिक, व्यापारिक, वित्तीय, उत्पादन, वितरण लगायत सबै क्षेत्रमा उल्लेख्य सुधार भएको अवस्थामा हालका कार्यकारी अधिकृतलाई नै निरन्तरता दिनु उचित हुन सक्छ कथम् कदाचित निरन्तरता दिन नसकिएको खण्डमा समेत अव बन्ने नयाँ कार्यकारी अधिकृतले समेत हालका कार्यकारी अधिकृतले संचालन गरेका प्रणालीहरुलाई निरन्तरता दिई तथा अझ मझवुद प्रणालीहरुको अवलम्वन गरी समृद्ध नेपाल सुखी नेपालीको लक्षलाई आत्मसात गर्दै अगाडि बढ्न सक्नु नै राष्ट्रिय हित अनुकूल हुन सक्दछ ।  
स्रोतः Website/New Channel मा प्रकाशित विभिन्न लेख तथा रचनाहरु

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation