नेपाल दूधमा आत्म निर्भर बन्ने कहिले ?निर्यात भन्दा आयात १२ गुणा धेरै

 डा. बालक चौधरी, डेरी विज्ञ   २५ जेठ, २०७८



पशुपालन क्षेत्र अन्र्तगतको दुग्ध क्षेत्रले नेपाली अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान दिएको छ । कूल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब एक तिहाई (३१.६९ प्रतिशत) रहेको छ । कूल ग्रार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रले लगभग ९ प्रतिशत योगदान दिएको छ । यसले भोजन र पोषण सुरक्षा कायम गर्ने, ग्रामीण रोजगारी सिर्जना गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । 

प्रति व्यक्ति वार्षिक कम्तिमा पनि ९१ लिटर दूधको उपभोग गर्नु पर्नेमा उपलब्धता ७९ लिटर देखिन्छ । 

 

उपभोक्ताको माग बमोजिम स्वदेशमा दुग्ध पदार्थ उत्पादन नहुनुले आयात गर्नु पर्ने हुन्छ ।

स्वदेशमा उत्पादन नहुने अथवा उत्पादन कम हुने अवस्थामा उपभोक्ताको माग बमोजिम अन्य देशबाट आयात गर्नुलाई पैठारी भनिन्छ । स्वदेशी माग बमोजिमको भन्दा अधिक उत्पादन भएमा विदेश विक्री गर्नुलाई निकासी भनिन्छ । 

छरीएर रहेको विश्वको जनसंख्यालाई २१ औं शताब्दिमा माग र आपूर्ति आवश्यक सम्झी जनवरी १, १९९५ मा विश्व व्यापार संगठन (डब्लुटीओ) को स्थापना भएको हो । नेपालले सो संगठनको सदस्य अप्रिल २, २००४ मा लिई विश्व व्यापारको बाटो खुल्ला गरेको छ । 

नेपालले आ.व. २०७६/०७७ मा रु. ११,९६,७९९ मिलियन बरावरको विभिन्न मालसामानहरुको पैठारी गरेको छ । सो मध्ये डेरी प्रोडक्टस रु. २,०३५ मिलियन (कूल पैठारीको ०.१७ %) वरावरको भएको पाइन्छ । त्यस्तै, रु. ९७ हजार ७ सय ९ मिलियन बरावर रकमको कूल निकासी मध्ये रु. २५.४७ मिलियनको डेरी प्रोडक्टस (कूल निकासीको ०.०२६%) भएको देखिन्छ । कुल निकासी र पैठारीको अनुपात (१ः१२) ले व्यापार घाटा भएको संकेत गर्दछ । त्यस्तै, दुग्ध क्षेत्रको मात्रै अवस्थालाई अध्ययन गर्दा १ः८० को अनुपातमा निकासी पैठारीको अवस्था देखिन्छ । निकासीको भन्दा पैठारी अधिक हुनुलाई अर्थ शास्त्रमा व्यापार घाटा शव्दले चिनिन्छ । 

विश्व व्यापारले देशहरु बीचको अन्तर सम्वन्ध कायम गर्ने, जीवनस्तर बढाउने, रोजगारी सृजना गर्ने र उपभोक्ताहरुले रुची अनुसारको सामानको उपयोग गर्न पाउने, कूल ग्रास्थ उत्पादनमा सहयोग पुग्ने (Tejvan Pettinger, 2019) आदि सकारात्मक पक्षहरु हुन् । असन्तुलित अन्तराष्ट्रि व्यापारले समस्या निम्तयाउने समेत यसका नकारात्मक पक्ष हुन सक्दछ । 

 

१. दूध उत्पादन

आ.व. २०७६/०७७ मा कूल गाई र भैंसीको २२% (चित्र-१) मात्र दुधालु रहेको छ । दूधालु पशुको औषत वृद्धिदर २.८५% रहेको छ । सो अवधिमा कूल दूध उत्पादन २३०१००० मे.टन (बर्षिक वृद्धिदर औषत ५.१८%) रहेको छ । कूल उत्पादित दूधको करिव १७% औपचारिक क्षेत्रमार्फत खरीद, विक्री हुने गरेको छ ।

औपचारिक क्षेत्र भन्नाले अनुज्ञापत्र प्राप्त दुग्ध उद्योगलाई वुझिन्छ । उद्योगले संकलन गरेको दूधको करिव ८२% प्रशोधन गरी बजारमा विक्री गर्ने र बाँकी १२ % लाई धूलो दूध, दही, पनिर, दुग्ध मिठाई, आइसक्रिम, छुर्पी, चीज आदि बनाइन्छ । 

 

२. पैठारी

नेपालबाट डेरी प्रडक्ट्स ठुलो परिमाणमा भारत पैठारी हुने गरेको छ । अन्य मुलुकहरु अमेरीका, अष्ट्रेलिया, चीन, डेनमार्क, जर्मनी, भारत, नेदरलैंण्ड, न्युजीलैंड, पोलैंण्ड, थाइलैंण्ड, बेल्जियम, कतार, सिंगापुर, वेलारुस, बेलाय आदि ठाउँबाट डेरी प्रडक्टस पैठारी हुदै आएको छ । दूध, क्रिम, धुलो दूध, बटर, बटर मिल्क, कन्डेन्सड मिल्क, चीज, शिशुको दूध आदि बर्सेनी ठुलो परिमाणमा पैठारी हुने  भन्सार विभागको तथ्याँड्ढबाट देखिन्छ  ।

डेरी प्रडक्टस आ.व.०७३/०७४ मा पछिल्लो वर्षको तुलनामा ५०.३८ प्रतिशतले पैठारीमा बृद्धि भएको छ भने आ.व. २०७४/०७५ मा ११.६७ प्रतिशतले (तालिका-२) बढेको छ । आ.व. २०७५/०७६ मा ३४.५९ प्रतिशतले कमी आएको छ भने ०७६/०७७ मा ३८ प्रतिशतले बृद्धि भएको छ । उपरोक्त तालिकामा उल्लेख गरेको रकम वरावरको डेरी प्रडक्टस्को पैठारी भएको हो । पैठारी जति बढ्छ, मुलुक उति परनिर्भर भएको सम्झनु पर्दछ । माग बमोजिमको उत्पादन नहुदा निकासी, पैठारी गर्ने दुवै देशलाई फाइदा हुने अर्थ विदहरुको तर्क रहेको छ ।

त्यस्तै, आ.व. २०७६/०७७ को १० महीना (श्रावण देखी बैशाखसम्म रु.१६८७३२ हजार) को तुलनामा चालु आ.व. २०७७/०७८ मा (रु.१४४७०४१ हजार) पैठारी १४.२५ प्रतिशतले घटेको भन्सार विभागको तथ्याँकबाट देखिन्छ । 

२.१ पैठारी गर्नुका कारण

होटल, रेष्टुरेन्ट, सुपर मार्केट, भाटभटेनी, सेल्सवेरी, खाद्य उद्योग (विस्कुट, चकलेट, चिजवल, फाष्ट फुड खाद्य उद्योग) मा ठुलो परिमाणमा कच्चा पदार्थको रुपमा डेरी प्रोडक्टसको माग देखिन्छ । पैठारी गर्नु पर्ने मुख्य कारणहरुः

क) सस्तो र भरपर्दो 

नेपालमा पैठारी गरीने डेरी प्रोडक्टसको उत्पादन लागत मूल्य स्वदेशी उत्पादनको दाजोमा कम हुनु, असल उत्पादन अभ्यासको प्रयोग गर्नु, भण्डारण क्षमता अधिक हुनु, आकर्षक प्याकमा हुन्छ ।

ख) ठुलो परिमाणमा सहज उपलब्ध हुनु

पैठारी मालसामान माग बमोजिम थोक विक्रेता, भाटभटेनी, सुपर मार्केटमा सहज उपलब्ध हुन्छ । स्वदेशी उत्पादन तोकेको मात्रामा सरल र सहज उपलब्ध नहुनुले प्रतिस्थापन भएको हो ।

ग) उपभोक्ताको प्राथमिकता

कतिपय डेरी प्रोडक्टस व्राण्डको उत्पादन हुदाँहुदै उपभोक्ताहरुले चलन चल्तीको ब्राण्ड अधिक मन पराउँदछन् । उदाहरणका लागि अमुल, नेस्ले अन्तराष्ट्रिय व्राण्डको शाख हो । ब्राण्डेड मालसामानहरु  गुणस्तर कायम भएकोले एक किसिमको छाप परेकोले उपभोक्ताको रोजाइमा पर्दछ ।

घ) प्रतिष्पर्धा बढ्ने

उत्पादन हुने स्वदेशी–विदेशी प्रोडक्टस्को बजार एउटै भएमा पदार्थको गुणस्तर प्रतिष्पर्धामा जाने, एकधिकार मूल्य नहुने, उपभोक्ताले आफ्नो औकात र स्वाद अनुसार छानी छानी उपभोग गर्ने अवसर पाउनेछ र उत्पादनहरु बीच गुणस्तर एवं मूल्यमा प्रतिष्पर्धा हुन्छ ।

ङ) टैक्स नीति

पैठारी गरेको मालसमानको प्रति युनिट कर लगाई अर्थ व्यवस्थामा सहयोग पुग्ने सरकारले नीति लिइएको हुदा पैठारी खुल्ला गरेको हुन्छ । अर्को तर्फ, टैक्स नीतिले पैठारी गर्ने सामानको आयातमा सीमितता ल्याउनुका साथै स्वदेशी उत्पादनलाई बढावा दिन्छ । 

२.२ पैठारीले निम्त्याउने समस्याः देश पैठारीमा निर्भर भएमा निम्न समस्याहरु निम्त्याउन सक्ने अनुमान गर्न सकिन्छ ।

क) घरेलु उद्योग लोप हुने 

नेपालको दुग्ध क्षेत्र परम्परागत प्रणालीमा आधारीत छ । दुग्ध क्षेत्रको मूल्य श्रृँखला अन्य कृषि व्यवसायको भन्दा धेरै माथि रहेकाले रोजगारी सृजना गर्नुका साथै आर्थिक, सामाजिक क्षेत्रमा पनि योगदान गरेको छ । नेपाल विश्व व्यापार संगठनको सदस्यको कारण ट्रेड स्वतन्त्र छोड्नाले स्वदेशी प्रडक्ट विस्थापित हुने, रोजगारी गुम्ने, घरेलु उद्योग बन्द हुने, लगानी डुब्ने तथा देश पर निर्भरता तर्फ धकेलिने सम्भावना हुन सक्दछ ।   

ख) स्वदेशी उत्पादन विस्थापित हुने

व्यवसायिकरणमा आधारीत विदेशी उत्पादनको प्रशोधन लागत खर्च स्वदेशी भन्दा कम हुन्छ । उत्पादन लागत कम गराउने कारक तत्वहरु अत्याधुनिक प्रविधि, प्राविधिक, यान्त्रिकीकरण, कच्चा पदार्थको उपलब्धता, उद्योगको क्षमता आदि हुन । स्वदेशी सामान उत्पादन गर्न उपरोक्त कारक तत्वहरुको अभावका कारण उत्पादन लागत बढि हुन्छ । उपभोक्ताले सस्तो भरपर्दो सामान रुचाउने हुदा स्वदेशी सामान विस्थापित हुने एक कारण हो । 

ग) म्याद नाघेका सामान विक्री हुने

बहुराष्ट्रिय कम्पनीहरुले ठुलो परिमाणमा सामान उत्पादन गरी निर्यात प्रवद्र्धन नीति अपनाएको हुन्छ । सामाने निर्धारीत समयसिमाभित्र उपभोग गरी सक्नु पर्दछ । कारणबश विश्व बजारमा असन्तुलन पैदा भई समयमा विक्री नभई म्याद नाघेका वा नाघ्न लागेको उत्पादनलाई लागत मूल्यभन्दा पनि कम मूल्य निर्धारण गरी निर्यात गरेको पाइन्छ । यस प्रकारको उपभोग्य सामानले स्वास्थ्यलाई समेत असर गर्दछ ।

 

३. निर्यात

नेपालबाट अन्य मुलुकमा पठाइने (निर्यात) विभिन्न लेवलका चिल्लो पदार्थ भएको दूध, क्रिम, बटर, घिउ, बटर मिल्क, चीज आदि हुन् । यस्ता डेरी प्रडक्टस् भारत, चीन, जापान, अमेरीका, हङकङ आदि मुलुकहरुबाट माग भए अनुसार निर्यात भएको पाइन्छ । आ.व.२०७३/०७४ को तुलनामा सो भन्दा अघिल्लो बर्षको निर्यात ४१.७९ प्रतिशले (तालिका-२) बृद्धि भएको छ । आ.व. २०७४/०७५ मा झण्डै ३ प्रतिशतले कमी आएको छ । आ.व. २०७५/०७६ र ०७६/०७७ मा झण्डै ३८ प्रतिशत र ८५ प्रतिशतले कमी आएको छ । 

त्यस्तै, आ.व. २०७६/०७७ को १० महीना (श्रावण देखी बैशाखसम्म ११,६४७ हजार) को तुलनामा चालु आ.व. २०७७/०७८ मा (रु.६५,६५२ हजार) निर्यात ४६४ प्रतिशतले बढेको भन्सार विभागको तथ्याँकबाट देखिन्छ । कोभिड १९ र दोश्रो लहरको नयाँ भेरियन्टको प्रभावले विश्व २०७६ देखी हालसम्म बन्दाबन्दिको अवस्थामा छ । बन्दा बन्दिले आयात निर्यातरमा समेत असर परेको जग जाहेर छ । चालु आ.व.मा नेपालवाट पहिलोपटक ठुलो परिमाणमा (११ हजार ११५ केजी) घिउ जापान निर्यात गर्नुले निर्यात प्रवद्र्धन उच्च देखिएको हो ।  

३.१ निर्यातबाट हुने फाइदा

निकासीबाट हुने मुख्य फाइदाहरुः

  • विदेशी मुद्रा आर्जन गर्न सहयोग पुग्ने, देश संकटको घडीमा पनि विदेशी मुद्राले सहयोग गर्ने ।
  • कूल ग्राहस्थ उत्पादनमा सहयोग पुग्नुका साथै देशको अर्थ व्यवस्था मजवुत हुने ।
  • रोजगारीको अवसर सृजना हुने, निकासी हुने उत्पादनमा मनग्गै वृद्धि हुने ।
  • निकासी र पैठारी गर्ने मुलुकहरुवीचको सम्वन्ध घनिष्ठ हुने ।
  • कम्पनीको अन्तराष्ट्रिय स्तरमा शाख बढ्ने । 

३.२ निर्यात गर्न देखिने कठीनाईः निर्यात गर्न आइपर्ने मुख्य कठीनाइहरु निम्न अनुसार रहेको छ ।

क) तोकेको गुणस्तर वा खाध स्वच्छता

निकासी गर्ने डेरी प्रोडक्टसको खाद्य स्वच्छता एवं मानक गुणस्तरको हुनु पर्दछ । निर्यात गर्दा अपनाउनु पर्ने विदेशी मापदण्डहरु पूरा गर्नु पर्ने आवश्यकता निर्यातको सवै भन्दा ठुलो चुनौती हो । निर्यात पूर्व सम्पूर्ण मापदण्ड पूरा गर्न सुधार गरीसकेको हुनु पर्दछ । 

ख) प्रतिष्पर्धी मूल्य

यान्त्रिकीकरण एवं प्रविधिको प्रयोग गरी ठुलो परिमाणमा उत्पादन गरीने डेरी प्रडक्टस तुलनात्मक रुपमा घरेलु उत्पादन विधिको भन्दा कम लागतमा सामान तयार हुने हुदा घरेलु उत्पादन खुुला बजारसंग प्रतिष्पर्धा गर्न नसक्नु एक मुख्य कारण हुन ।

ग) ढुबानी खर्च 

नेपाल भूपरीवेष्ठीत देश हो । तेश्रो मुलुकमा निकासी गर्न वायुमार्ग एवं स्थल मार्गको प्रयोग गर्नु पर्ने बाध्यताले उत्पादन लागत मूल्यमा ढुवानी खर्च नजोडेपछि विक्री मूल्य बढेर निर्यात प्रवद्र्धनमा कठीनाई रहेको हुन्छ ।

घ) रोगमुक्त घोषणा

पशुमा लाग्ने खोरेत लगायत अन्य जुनोटिक रोगहरु रोग मुक्त भएको घोषणा हुनु पर्दछ । अन्तराष्ट्रि कानुनको मापण्ड बमोजिम उत्पादन गरीने डेरी प्रडक्टस निर्यात योग्य हुन्छ । तोकेका रोगहरु नेपालबाट उन्मुलन भएको घोषणा गर्न अझ पर्खनु पर्ने हुन्छ ।

ड.) बजारको खोजी 

पैठारी गर्ने मुलुकको पहिचान, बजार विश्लेषण, योजना तर्जुमा, उपभोकताको किसिम एवं विक्री गर्न सक्ने बजार मूल्यको पहिचान, आपूर्ति सम्वन्धी आपसी सम्झौता, पेशेवर प्रतिनिधि वकिल, भन्सार सेवा, प्रज्ञापत्र, बैंक जमानत आदि वारे कम जानकारी हुनु निर्यात प्रवद्र्धन गर्न नसक्नु हो ।    

 

४. नेपालमा मौज्दात डेरी प्रडक्टस

नेपालमा सिजन अनुसार दूध उत्पादनमा घटिबढि हुने गरेको पाइन्छ । बढि दूध उत्पादन हुने सिजनमा दूध विक्री नभई मिल्क होलिडे हुनबाट रोक्न अधिक समयसम्म भण्डारण गर्न सक्ने छुर्पी, बटर, घिउ तथा धुलो दूध हुन् । नेपालमा बटर २५०० मे.टन र धुलो दूध ४१०० मे.टन मौज्दात छन् । यसले स्टकको खर्च वृद्धि गराउनुका साथै चालु पूजिं समेत सञ्चालनमा नआई महीनौ सम्म कृषकको भुक्तानी गर्न नसकेको अवस्था छ ।

विकास तर्फ लम्कीरहेको नेपाली दुग्ध उद्योगलाई प्रवद्र्धन गर्न स्वदेशमा उत्पादन नहुने बेवी फुड बाहेक अन्य दुग्ध पदार्थमाथि अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सरकारले पैठारीमा प्रतिवन्ध लगाई रचनात्मक काम भएको छ ।

 

५. निष्कर्ष

डेरी प्रोडक्टसको निकासी भन्दा पैठारी प्रतिवर्ष अधिक रही व्यापार घाटा भएको देखिन्छ ।

डेरी क्षेत्रमा गरेको करोडौको लगानीको प्रबद्र्धन गर्न विश्व बजारको खोजी गर्ने, विदेशी मुलुकसंग दौत्य सम्वन्ध कायम गर्ने, तोकेको मापदण्ड र गुणस्तर कायम हुने गरी उत्पादन विविधिकरण गर्ने, नेपालमा उत्पादन नहुने डेरी प्रोडक्टस वाहेक अन्यमाथि केहीं समयसम्म आयात प्रतिवन्ध लगाउने व्यवस्था हुनु पर्दछ । हाल मौज्दात धुलो दूध, बटर तथा छुर्पी पैठारी गर्ने सरकारी पक्षबाट व्यवस्था मिलाउनु आजको आवश्यकता हो ।


(प्रस्तुत लेखको तथ्याङकको आधिकारीकता लेखकसंगनै निहित छ । लेखकः राष्ट्रिय दुग्ध विकास वोर्डका डेरी विज्ञ हुनुहुन्छ ।)

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation