के यो जायज छ?


 राजेश हमाल   ३ माघ, २०७५



यो वर्ष काठमाडौंमा जाडो मौसाममा ८० मेगावाटसम्म बिजुलीको माग बढेको छ । गत वर्ष ३२० मेगावटसम्म मात्रै माग हुन्थ्यो । अहिले बढेर ४०० मेगावाटसम्म पुगेको छ । यो हाम्रा लागि निकै सकारात्मक हो । किनभने अहिले हामीलाई बिजुली अभावको समस्या छैन । प्रणालीको मागअनुसारको बिजुली दिन हामी सक्षम छौं । हामीले उद्योगमा पनि लोडसेडिङ हटाइसकेका छौं । केही समयपछि त हामीले लौन बिजुली बढी खपत गरिदिनुपर्‍यो भन्ने अवस्था नै आउँदैछ । त्यसैले अहिले डिमान्ड बढेर हामीलाई राम्रै भएको छ ।

जाडो मौसममा नेपालमा बिजुलीको माग बढ्छ । यो वर्षको वृद्धिदर विगतको भन्दा निकै उच्च छ । यो जाडो मौसममा एसी, हिटरलगायतका धेरै बिजुली खपत हुने यन्त्र उपकरणहरु चल्छन् । अहिले शहरमा एसी राख्ने क्रम तीव्र भएको छ । लाइन जाँदैन भन्ने प्रत्याभूतिले पनि सिंगल लाइनका ग्राहकहरू थ्री फेज लाइनमा जाँदै हुनुहुन्छ । अहिले एसी चलाउनकै लागि धेरै ग्राहकले थ्री फेज जोड्दै हुनुहुन्छ । यसैका कारण हाम्रो वितरण प्रणालीमा लोड बढेको छ ।

पर्याप्त बिजुली भएर मात्रै हुँदैन, त्यसलाई वितरण गर्नका लागि भरपर्दो सिस्टम पनि हुुनुपर्छ । लोड बढेपछि पुरानो सिस्टम फेल हुनु स्वाभाविक नै हो ।

विगतमा हामी बिजुलीको अभावकै कारण संकटमा थियौं । त्यतिबेला सिस्टम सुधारबारे ध्यान दिइएन । अहिले अभावको व्यवस्थापन भयो, त्यसले जनतामा निरन्तर बिजुली आपूर्तिको विश्वास नयाँ उचाइमा पुग्यो । र, खपत दर बढ्दै गयो । तर, सिस्टम त हामीसँग त्यही पुरानै थियो ।

सबैले बुझ्नुपर्ने कुरा के हो भने जुन क्षेत्रमा जुन परिमाणको लोड छ, त्यसअनुरुप नै सब स्टेशनदेखि तार, जम्पर ट्रान्सफर्मरहरु हुनुपर्छ । बिजुलीको लोड सधंै एकैनास भएर आउँदैन । कुनै समय बढ्छ, कुनै समय घट्छ । हामीले सम्भाब्य उच्चतम् लोडलाई हेरेर सिस्टमलाई तयार राख्नुपर्छ ।

जाडोमा लोड बढ्दै जाँदा सब स्टेसन, टान्सफर्मर र वितरण सञ्जाललाई पनि अपग्रेड गर्नुपर्छ । जाडोमा लोड बढेपछि धान्न नसकेर अहिले तार नै जलेर छिन्ने, ट्रान्सफर्मर पड्किने लगायतका समस्या देखिँदैछन् । हामी त्यसलाई तुरुन्त समाधन पनि गर्दैछौं ।


प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation