नेपालकै ठूलो होलसेल कम्प्लेक्स


 होम नाथ गिरी   १२ असोज, २०७८



७५ हजार स्क्वायर फिट क्षेत्रफलमा पार्किङ सुविधा, भन्सारबाट आएका सामान सजिलै पसल तथा गोदामसम्म आउन सक्ने, ७७ वटै जिल्लामा सहजै सामान पठाउनको लागी भरपर्दो ढुवानी सेवा, फराकिलो लवि जस्ता सुविधै सुविधाले भरिएको छ ।

काठमाडौ । नेपालमा पहिलो पटक एकै छानामुनी करीब एक हजार होलसेल पसलहरु सहितको देशकै सबैभन्दा ठुलो कम्प्लेक्स संचालनमा आएको छ । 

कोरोना महामारी र भुकम्पीय जोखिमका बेला ग्राहकले बिना कुनै डर, त्रास निर्धक्कसंग आफुलाई आवश्यक विविध सामाग्रिहरु यस कम्प्लेक्सवाट खरिद गर्न सक्नेछन् । 

२०७७ सालदेखिनै व्यवसायिक रुपमा संचालनमा आएको National  Business Trade Centre (NBTC Wholesale Complex) कलंकी भाटभटेनी नजिक रिङरोडसंगै रहेको छ । 

यस कम्प्लेक्समा आठ तल्ला मध्ये पाँच तल्लामा व्यापारिक पसलहरु रहेको छ, विशाल अन्डर ग्राउन्ड पार्कीङ सुविधा साथै प्रयाप्त गोदामको व्यवस्था रहेको यो भबन करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

हामी आज यसै कम्प्लेक्ससंग आधारित भएर एनविटिसी व्यापार संघका अध्यक्ष होम नाथ गिरीसंगको कुराकानी प्रस्तुत गर्न गइरहेका छौं । 

होम नाथ गिरी, अध्यक्ष, एनविटिसी व्यापार संघ, कलंकी, काठमाडौं

 

अर्थ बुलेटिनः देशकै सर्वाधिक ठुलो होलसेल कम्प्लेक्स भन्ने आधारहरु के के हुन् ?

अध्यक्षः NBTC अर्थात National  Business Trade Centre जस्लाई नेपालीमा राष्ट्रिय व्यापार केन्द्र भनिन्छ । यो ५ लाख २३ हजार स्वायर फिटको क्षेत्रफलमा निर्माण भएको छ । यहाँ करिब एक हजार होलसेल पसलहरु छन् साथै दर्जनौ लिफ्ट र स्कालेटरस् तथा १०–१२ फिट चौडा सपिङ करिडोर इत्यादी भएकोले यो होलसेल कम्प्लेक्स (NBTC) ७७ जिल्लामा भएका जति पनि मल/कम्पलेक्स छन् ति भन्दा ठूलो भनिएको हो । 

फोटोः कलंकी रिङरोडवाट देखिने  NBTC को प्रबेशद्वार ।  

 

अर्थ बुलेटिनः कम्प्लेक्सको विशेषताहरु के के हुन् ?

अध्यक्षः कम्प्लेक्स भन्नासाथ हामीले के बुझ्नु पर्छ भने सुविधा, सुरक्षा, सहजता र समानता भएको स्थान हो । यस कम्पलेक्सको मुल गेट रिङ रोडसंगै जोडिएको फराकिलो बाटोमा छ । हामी ठूला ठूला कन्टेनरहरुवाट आएका सामान पल्टि नगरिकन सिधै एनविटिसीमा रहेको आफ्नो पसल वा गोदाममा झार्न सक्छौ । आवत–जावतको लागि सहजता छ । काठमाडौंका गल्ली–गल्ली र फुटपातमा भोगेको दुःख यहाँ भोग्नु पर्दैन । दुर्घटना हुँदा वा आपतकालीन स्थितिमा काठमाडौंका पुराना बजारहरुमा जुन डर भोग्नुपर्ने हुन्छ त्यो डर–त्रास यहाँ छैन । कम्प्लेक्स भित्र पनि प्रसस्त चाक्लो लवि छ । जसले गर्दा व्यापार र व्यापारी वर्गलाई एक प्रकारको सहजता र सन्तुष्टी प्राप्त हुन्छ । 

त्यस्तै, काठमाडौंका पुराना, अव्यवस्थित र ठेमलठेल बजारको तुलनामा भाडा दर, ढुवानी खर्च, गोदाम खर्च आदि जस्ता धेरै लगानीहरु यहाँ कम छन् । जसको कारण यसको प्रभाव दररेटमा देख्न सकिन्छ । भन्न खोजेको अन्तको बजार भन्दा हरेकजसो सामाग्रिहरुमा एनविटिसीमा दररेट सस्तो छ । 

फोटोः फराकिलो करिडोर ।

 

अर्थ बुलेटिनः यहाँ के कस्ता सामाग्रिहरु पाउन सकिन्छ ?

अध्यक्षः मानव जिवनमा आवश्यक पर्ने धेरै सामाग्रिहरु हुन्छन् त्यस मध्यका महत्वपूर्ण सामानहरु यँहा  एकै छाता मुनी  पाइन्छ । केही सामाग्रिहरुको नामै लिनुपर्दा रेडिमेड लत्ता–कपडा, जुत्ता–चप्पल, ब्याग, वेल्ट, पर्स, गार्मेन्ट, अन्डर गार्मेन्ट, घडी, चस्मा, मोबाइल, कस्मेटीक, कुर्ता–सुरवाल, साडी, सल, इलेक्टोनिक सामान लगायतका धेरै भेराइटीहरु यहाँ उपलब्ध छन् ।

फोटोः कम्प्लेक्सको भित्रि भाग ।

 

अर्थ बुलेटिनः ग्राहकलाई चाडवाड केन्द्रित कुनै विशेष योजनाहरु पनि छन् की ?

अध्यक्षः अब चाडै नै कम्प्लेक्सको औपाचरिक उद्घाटन हुदैछ । उद्घाटन पश्चात तुरुन्तै ‘ग्राण्ड सेल’, ‘फेस्टिभल डिस्काउन्ट’, उपहार कुपन/चिठ्ठा जस्ता आकर्षक योजनाहरु शुरु गर्नका लागि कम्पनी, व्यापार संघ र यहाँका व्यवसायिहरु विच छलफल भईरहेको छ । जुन चाडै नै ‘लञ्च’ हुदैछ । हामी यो बारेमा पनि तयारी अवस्थामा छौ । 

फोटोः एनविटिसी भित्र रहेको पसल ।​

 

अर्थ बुलेटिनः यातायात सुविधा, पार्किङ र ढुवानीका लागि यहाँ के कस्ता व्यवस्था छन् ?

अध्यक्षः मैले पहिला उल्लेख पनि गरेको छु कि यस कम्पलेक्सको मुल गेट रिङरोडसगै जोडिएको छ । सवारीसाधन भवनको गेट हुँदै जाने हुँदा यहाँ आउने ग्राहकवर्गहरुलाई यातायातको कुनै समस्या छैन । यहाँ आउने ग्राहकवर्ग  तथा यहाँका व्यवसायी दाजुभाई दिदी–बहिनीहरुको लागी प्रयाप्त पार्किङ हुनु धेरै हर्षको विषय हो । करिब १४/१५ रोपनी क्षेत्रफलमा फैलिएको पार्किङ सुविधा रहेको जानकारी पनि म यहाँ जोड्न चाहे, भन्सारबाट आएका सामान सजिलै गोदामसम्म आउन सक्ने र यहाँबाट बिक्री भएका सामानहरु ७७ वटै जिल्लामा सहजै पठाउनको लागी भरपर्दो ढुवानी सेवा पनि यहाँ रहेको हुँदा बेच्ने र किन्ने दुवैको लागि धैरै सजिलो छ ।

फोटोः पार्किङ क्षेत्र ।

 

अर्थ बुलेटिनः तपाई एनविटिसी व्यापार संघको अध्यक्ष भएकाले यहाँको व्यापार प्रबद्र्धन र व्यवसायिहरुको हक हितका लागि संघको भुमिका कस्तो छ ? संघको औपचारिक धारणा राखिदिनुस् न !

अध्यक्षः काठमाडौ उपत्यकामा वा देशका विभिन्न स्थानमा रहेका व्यापार संघको जस्तै यस व्यापार संघको पनि काम, कर्तव्य र अधिकार विधानमा लेखे बमोजिम नै हुन्छ । 

यस अघि पनि विभिन्न व्यापार संघको कार्य समितिमा रहि करिब एक दशक सेवा गरेको र त्यस दौरानमा देखेका, भोगेका र अग्रजहरुवाट सिकेका अनुभवलाई आत्म साथ गर्दै हामी अगाडी बढ्ने छौ भनी सम्पूर्ण कार्य समितिले सपथ खाएका छौ । 

छोटकारीमा भन्नुपर्दा हाल हाम्रो व्यापार संघले मूलरुपमा तिनवटा एजेन्डामा केन्द्रित भई काम गरिरहेको छ । जस्तैः पसलधनीहरुको हात–हातमा लालपूर्जा पुर्याउन पहल गर्ने तथा यहाँ रहेका यि सबै हजार पसलहरु यथासिघ्र संचालनमा ल्याउने र भाडामा दिने–लिनेका बिच कुनै विकृती आउन नदिने काममा हामि केन्द्रित छौ ।

म लगायत हाम्रो सम्पूर्ण कार्यसमिति होलसेल कम्प्लेक्सलाई देशभर प्रचार प्रसार गर्ने/गराउने, कम्पनीको चुस्त दुरुस्त व्यवस्थापनका लागि समन्वय गरिरहने, व्यापार संघ, कम्पनी र व्यावसायी बिच सुमधुर सम्वन्ध स्थापित गराउदै नियमित र दोहोरो छलफलका लागि बैठकहरु संचालन गरिरहने जस्ता समन्वयकारीको जिम्मेवारी पनि निर्वाह गरिरहेका छौ । यस्तै, स्वंयम आफ्नै पसलमा व्यवसाय गर्ने तथा भाडामा पसल लिई व्यापार गरिरहनुभएको सबै व्यवसायिहरुमा देखा पर्ने समस्या तथा अधिकारका वारेमा व्यापार संघ सम्वेदनशिल र सचेत छ । 

 

अर्थ बुलेटिनः यहाँका हजारौ पसलधनिहरु र शेयरधनिहरुलाई के भन्न चाहनुहुन्छ ?

अध्यक्षः यो समुदायमा आधारित भवन हो । प्रत्येक पसलधनीले आ–आफ्नो क्षत्रफल र स्थानको आधारमा लालपूर्जा पाउनु हुन्छ । सेयर होल्डरहरुले पनि आफ्नो भूमिका निभाउनु भएको छ । आफ्नो पसल कहिल्यै बन्द नराख्नुहोला, खोलि सक्नुभएकोलाई धन्यवाद दिदै, पसल नखोल्नु भएकालाई यथासिघ्र खोल्न यसै संचार माध्यम मार्फत नै अनुरोध पनि गर्दछु । जति छिटो हामि सबैले पसल संचालन गर्छौ त्यतिनै चाँडोे यो कम्प्लेक्सको विस्तार भएर जान्छ । कल्पना गर्नुस् त हजार पसलहरु खुल्दा यो होलसेल कम्प्लेक्स कस्तो देखिएला ?

अर्थ बुलेटिनः थप केह भन्न चाहानु हुन्छ ?

अध्यक्षः थप खासै भन्नु पर्ने म देख्दिन, सबै कुरा बोलेर वा लेखेर व्यक्तगर्न र बुझ्न संभव पनि हुदैन तसर्थ पाठक, श्रोता तथा दर्शक सबै वर्गलाई यस होलसेल कम्पलेक्समा एक पटक पाल्नुहोस र हामीलाई प्रोत्साहन गरिदिनु हुन विनम्र अनुरोध गर्दछु । मनमा भएका कुराहरु तपाई मार्फत राख्न पाए । त्यसको लागि तपाई लगायत अर्थ बुलेटिन परिवारलाई धन्यवाद दिन चाहन्छु ।


प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation