अब होलसेल सपिङका लागि सस्तो, सूलभ अन्तराष्ट्रिय स्तरको गन्तब्य


 दिपक अर्याल   १९ मंसिर, २०७८



सुख्खा वन्दरगाह यहि क्षेत्रमा बनिरहेको छ, फलफुलको ठुलो बजारनै यसको नजिकै छ, अत्याधुनिक अन्य होलसेल कम्प्लेक्सहरु यसै क्षेत्रमा निर्माणधिन अवस्थामा रहेकाले कलंकी देखि बल्खु क्षेत्र विजनेस हवका रुपमा विकास भइरहेको छ ।

देशको राजधानी वा संघिय सरकारको केन्द्रस्थल तथा देशभरीको मुख्य व्यापारिक केन्द्र काठमाडौंको मुख्य प्रवेशद्वार हो कंलकी । काठमाडौं प्रवेशका लागि मुख्य ३ वटा नाकाहरु भएको भएपनि धेरै सवारी साधन भित्रने र वाहिरिने प्रमुख नाकाका रुपमा कंलकीलाई नै लिने गरिन्छ । काठमाडौं भित्रदा प्रमुख प्रवेश नाका कंलकी चोकवाट दायाँ (दक्षिण) मोडिएर क्रमश पूर्ब हुदै कोेटेश्वर पुग्न सकिन्छ । कोेटेश्वर तर्फ मोडिएपछि करिब २ सय मिटर अघिवाटनै काठमाडौंको नव निर्मित व्यापारिक क्षेत्रमा प्रवेश हुन्छ । 

यो क्षेत्रको पहिलो व्यापारिक केन्द्र ‘भाटभटेनी सुपरमार्केट’ कंलकी चोकवाट करिब २ सय मिटरमानै आउछ । त्यसको अर्को सय मिटर दुरीमा १ हजार भन्दा धेरै सटर, क्यूएफएक्स मिनेमा हल, वृहत फुटकोट, १३ सय क्वायर मिटरपार्किङ क्षेत्र सहितको ‘एनविटिसी’ नामक होलसेल कम्प्लेक्स आउछ । त्यसको केहि मिटर पेरीफेरीमा निर्माणधिन मोवाइल सपको होलसेल कम्प्लेक्स आउछ । त्यसको अर्को सय मिटर भित्रनै निर्माणाधिन २५ सय सटर रहेको ‘आधार’ नामक होलसेल कम्प्लेक्स रहेको छ । यहि पेरिफेरी भित्रनै निर्माणाधिन सुख्खा बन्दरगाह रहेको छ । हेटौडा, विरगंज लगायतका तराईका क्षेत्रमा निस्कनका लागि सुमोको स्टेशन समेत याँहीनै रहेको छ । 

यि र यस्तै दर्जनौ व्यापारिक क्षेत्र बन्दै गरेको कंलकी वल्खुको उज्जल भविश्य र संचालनमा आइसकेको ‘एनविटिसी’ होलसेल कम्प्लेक्सको बारेमा एनविटिसी व्यापार संघका महासचिव दिपक अर्यालसंगको कुराकानी ।

अर्थ बुलेटिनः National Business Trade Center (NBTC) भनेको के हो ? र यहाँ ग्राहक किन आउने ?

महासचिवः यो एउटा फरक र नयाँ ‘कन्सेप्ट’ हो । आधुनिक भौतिक पूर्वाधार सहितको कुनै समस्या नभएको ग्राहक मैत्री होलसेल कम्प्लेक्स हो । 

नयाँ ‘टेस्ट’ लिन चाहने, सजिलै सस्तो दरमा खरिद गर्न चाहने, गुणस्तरीय सामानहरुको खोजी गर्ने ग्राहकहरुका लागि एक पटक आएपछि पटक पटक आइरहन मन लाग्ने होलसेल व्यापारीक कम्प्लेक्स हो । व्यवसायिक रुपमा परिबर्तन चाहनेहरुको लागि यो एक नयाँ गन्तव्य हो । वर्षैदेखि रिटेल व्यवसाय गरिरहेकाहरुलाई पनि होलसेल गर्नका लागि यो अवसरको ठाउँ र फरक गन्तव्य हो । केहि गरौं भन्ने सोच धारणा भएकाहरुका लागि पनि यो उपयुक्त वातावरण भएको ठाउँ हो । 

अर्थशास्त्रको सिद्धान्तले ‘नो रिक्स – नो गेन, हाइ रिक्स – हाइ गेन’ भन्छ तर यो बजार यस्तो बजार हो यहाँ ‘लो रिक्स, हाई गेन’ छ । त्यसैले, व्यापारी र ग्राहक दुबैका लागि आउनै पर्ने महत्वपूर्ण गन्तव्य बनेको छ ।

अर्थ बुलेटिनः पुराना होलसेल बजारहरु भन्दा एनविटिसी के फरक छ ?

महासचिवः पुरानो भन्नासाथ पुरानै भयो नि होइन र ? नयाँ भन्नासाथ धेरै कुरा फरक हुन्छ । जुन कुरा एक पटक यो भवनमा पसेपछि मात्रै अनुभूत गर्न सकिन्छ । चाहे यातायात सूविधाको विषयमा होस् वा चाहे पार्किङको विषयमा होस्, चाहे करिडोरमा हिडडुल गर्नका लागि होस् वा विभिन्न तल्लाहरुमा तल र माथि गर्नका लागि होस्, सामान ढुवानी गर्न होस् वा आफैले सामान बोकेर सार्बजनिक सवारी साधन सम्म लैजान होस्, हरेक सेवा सहजै उपलव्ध छ ।

सबै सामाग्रि एकै भवनभित्र प्राप्त हुने जस्ता सबै गुणहरुले भरिपूर्ण भएकाले पुरानो बजार भन्दा यो नयाँनै छ । यस कम्प्लेक्सभित्र प्रवेश गरिसकेपछि हरेकलाई एक पटक आफू विकसित राष्ट्रमा पुगेको अनुभूति हुन्छ । 

अझै, नयाँ पुस्ता केन्द्रित होलसेल विजनेस कम्प्लेक्स भएकाले अरुभन्दा निकै फरक छ । यसलाई हामिले अरुकुनै पनि कम्प्लेक्स र बजारहरुसंग तुलना गर्न नै मिल्दैन । 

अर्थ बुलेटिनः ग्राहकहरुका लागि विशेष योजना केहि छन् त ?

महासचिवः भवनको विशेष औपचारिक उद्घाटन हुन नै वाँकी छ । त्यसैले, तत् पश्चात यहाँ भित्रका व्यपारी साथिहरुसंग समन्वय गर्दै व्यापार संघले ग्राहकमैत्री विशेष योजनाहरु बनाउदै अघि बढ्ने रणनीतिमानै रहेको छ । यद्यपी, अन्यत्रको बजार भन्दा यो कम्प्लेक्सको बजारमा दररेट धेरैनै सुपथ छ, यो हाम्रो पहिलो प्रयास  हो जुन कुरा यहाँ खरिद गर्न आउने खरिदकर्ताहरुले सहजै महसुस गर्न सक्नुहुनेछ । 

अर्थ बुलेटिनः एनविटिसी कम्पनी संचालक (मिलाल्याण्ड)र व्यापार संघले यहाँको व्यवसाय प्रवद्र्धनका लागि के गरिरहेका छन् ?

महासचिवः यो महत्वपूर्ण कम्प्लेक्सको प्रचार प्रसारका लागि हामिले हालका दिनमा देशैभरनै होडिङवोर्डहरु राखिसकेका छौ । सामाजिक सञ्जाल र विभिन्न संचार माध्यमहरुवाट प्रचार प्रसार गरिरहेका छौ । त्यसको बजार रेस्पोन्स पनि राम्रोनै आइरहेको छ । तर, अझैपनि धेरैनै गर्न वाँकी छ भन्नेमा हामिले पनि महसुुस गरेका छौ । 

हाम्रो समाज परिबर्तनलाई सजिलै आत्म साथ गर्ने खालको होइन । एनविटिसी भनेको विल्कुल नयाँ अवधारणा भएकाले सबैलाई बुझाउन र बुझ्न केहि समय लाग्न सक्छ । यद्यपी, कम्प्लेक्स मात्रै नभईकन यो वरपरको क्षेत्रनै तिब्र विकासमा अघि बढेको छ । यसको १ किलोमिटरको दुरीमानै ठुलो सुख्खा वन्दरगाह बनिरहेको छ, फलफुलको ठुलो बजारनै यसको नजिकै बनिरहेको छ, अत्याधुनिक अन्य होलसेल कम्प्लेक्सहरु यसै क्षेत्रमा निर्माणधिन अवस्थामा रहेकाले कलंकी देखि बल्खु क्षेत्र विजनेस हवका रुपमा विकास भइसकेको छ । हाल विश्वव्यापि कोभिड समस्याका कारण यसको गतिमा केहि कमि देखिएको हो । तर, अवको ५ वर्ष भित्रमा यो क्षेत्रमा आमुल परिबर्तन हुने म देख्छु । 

अर्थ बुलेटिनः अझै प्रयाप्त सटरहरु खुल्न र ‘फुल फेज’ मा एनविटिसी संचालन हुन सकेन भन्ने यहाँका व्यापारी र ग्राहकहरुको गुनासो रहेको छ नी, यो विषयमा व्यापारसंघ किन मुकदर्शक मात्रै बनेको ?

महासचिवः गुनासो स्वभाविकै हो । यसमा खासगरी जो सटरधनी हो उहाँहरुको चासो कमि भएको देखिन्छ यद्यपी बजार भने अघि बढिनै रहेको छ । उहाँहरुको निजी सम्पत्तिमा ब्यापारसंघले हस्तक्षेप गर्न मिल्दैन । तर, कम्पनीले भने उसको सहमति (सम्झौता) अनुसार आवश्यक हस्तक्षेप गर्दै सटरहरुलाई ‘फुल फेज’ मा संचालनमा ल्याउनुपर्छ त्यो कम्पनीको नै दायित्व हो । 

आज संचालनमा रहेका बजार पनि व्यापरसंघकै भूमिका कारण यत्तिको भएको हो । हामिले सुरुदेखिनै कम्पनीसंग हातेमालो गर्दै बजारलाई यहाँसम्म ल्याएका छौ । 

केहि आन्तरिक कमि कमजोरीहरु हुन सक्छ त्यसमा तत्कालै हामिले हात हाल्ने कुरा पनि त भएन, तरपनि हाम्रो दवाव भने जारी नै रहेको छ । यसमा अहिले देखिएको समस्या सामाधानका लागि शेयरधनी पनि उत्तिकै जिम्मेवार छन् । हालका दिनमा ३ वटै पक्ष (कम्पनी, शेयरधनी, सटरधनी) विच सौहार्दपूर्ण छलफल हुदैछ यसले चाडैनै सकारात्मक नतिजा निकाल्ने देखिन्छ ।

यो सामुदायिक अवधारणमा बनेको कम्प्लेक्स भएकाले समुदायको हितमा सबै पक्ष लाग्नु पर्दछ । व्यक्तिगत समस्याहरुलाई सामुहिक विषयमा ल्याएर जोड्नु हुदैन । कसैको व्यक्तिगत समस्याहरु छन् भने त्यसलाई छलफलवाट टुंग्याउने पाटोमा जानुपर्छ । त्यसका लागि व्यापार संघको आवश्यकता पर्छ भने हामि भूमिका निर्वाह गर्न तयार छौ । 

यस्ता ठुला संरचना र सामुहिक लगानी भएका ठाउँहरुमा सानातिना समस्याहरु आइनै रहन्छन् जुन कुरा सहजै समाधान भएर जान्छन् । त्यसका लागि सबैले सकारात्मक सोच राख्नुपर्दछ । 
यति ठुलो अवधारणा ल्याएर कार्यन्वयनको यो अवस्थासम्म ल्याइपु¥याउनु नै पनि ठुलो कुरो हो । अव सबै मिलेर यसलाई अघि बढाउने व्यापारीहरुको साझा दायित्व हो । 

अर्थ बुलेटिनः एनविटिसीका लागि व्यापारसंघको भावि रणनीति के हो ?

महासचिवः बजारलाई छिटो भन्दा छिटो संचालन गर्ने हो । त्यसका लागि सम्पूर्ण स्टेकहोल्डरहरुलाई हाम्रो दवाव जारी छ । कतिपय कुराहरु हाम्रो बसमा पनि नहुने रहेछ । कोभिडका कारण धेरै समस्याहरु उत्पन्न भएका छन् । मुलतः यो बजारमा अन्तराष्ट्रिय उत्पादनहरुनै आउनेमा हाल इम्पोर्टका लागि वातावरण नभएकाले पनि केहि अप्ठयारो परेको छ । 

यो विषम परिस्थितिमा पनि बजारलाई प्रभावकारी ढगंवाट संचालनका लागि हामिले हाम्रो तर्फवाट रणनीतिक कदमहरु चालिरहेका छौ, ठुला मुख्य व्यापारीहरुले यो कम्प्लेक्समा निकै चासो दिइरहेको देखिन्छ । उहाँहरुको आगमन पछि बजारले सोचेभन्दा तिब्र गति लिनेमा निश्चित छ । हामी हालका दिनमा त्यस्ता ठूला व्यापारी साथिहरुलाई यो भवनमा भित्र्याउनका लागि लविङ गरिरहेका छौ । 

जहाँसम्म रणनीतिक योजनाहरुको पाटो छ, त्यसलाई हामीले अल्पकालिन र दिर्घकालिन गरी २ मोडलका विभाजन गरेर रणनीति बनाई कार्यन्वयन गर्दैछौ । जसको परिणाम अब छिटै देखिने छ ।

अर्थ बुलेटिनः निजी क्षेत्रको यस्ता प्रयासलाई राज्य र जिम्मेवार निकायहरुले कस्तो भूमिका निर्वाह गर्नुपर्ला?

महासचिवः निजी क्षेत्रको यस्ता सर्हानायोग्य कामलाई राज्यले सहयोग गर्नुपर्ने देखिन्छ । राज्यले गर्नुपर्ने काम निजी क्षेत्रले गरेको छ । आम नागरिकको लगानी भएको यस्ता ठूला कम्प्लेक्सहलाई प्रवद्र्धनका लागि राज्यले सजिलो नीतिहरु बनाइदिनु पर्दछ । 

अहिले सरसरती मैले हेर्दा लालपुर्जा दिने विषयमा राज्यसंग धेरैनै दुविधा रह्यो र यसलाई व्यवस्थापन गर्न निकै समय खर्चनु प¥यो । यि र यस्ता विषयहरु सहज हुनेगरी नीति बन्नुप¥यो । 
काठमाडौ ऐतिहासिक शहर हो । यसका कतिपय ठाउँहरु विश्व सम्पदा सूचिमा सूचिकृत छन् त्यसैले त्यसलाई सोहि रुपमा विकास गर्दै पर्यटकिय गन्तव्य बनाउनु पर्छ । 

शहरभित्रका भिडभाड क्षेत्रहरुलाई व्यवस्थित गर्दै कम भिडभाड हुने, यातायातको सहज पहुँच हुने स्थानहरु जस्तोकी रिङरोड पेरीफेरीका क्षेत्रहरुलाई नयाँ व्यापारीक क्षेत्रका रुपमा विकास गर्नुपनि राज्यको दायित्व हो । 

जसले गर्दा शहरको सुन्दता पनि बढ्छ, फोहर व्यवस्थापन पनि सजिलै गर्न सकिन्छ, शहर भित्रको अनावश्यक भिडभाड पनि कम गर्न सकिन्छ । यसतर्फ राज्यले ध्यान पुरयाउनुपर्ने देखिन्छ । विशेषत महानगरपालिका पनि यस विषयमा बढिनै जिम्मेवार हुनुपर्ने हो । 

त्यतिमात्रै होइन, जसले नेतृत्व गर्छ उनिहरुसंग पनि केन्द्रिय राजधानीको विकसित अवधारणा कस्तो हुने भन्ने पनि हेर्न जरुरी छ । नयाँ पुस्ताले के चाहन्छन्, सबै चिज बदलिसकेको छ अब राज्यको सोच पनि बदलिनु जरुरी छ । शहर विकासको बारेमा सबै बर्ग, तह र तप्काले अब सोच्ने बेला आइसकेको छ र यस्ता भित्रि शहरभन्दा बाहिरका व्यापारीक क्षेत्रहरुलाई प्रर्बद्धन गर्न राज्य र नेतृत्व सबै लाग्नु पर्दछ । 

हाम्रा नेताहरु विभिन्न देशहरु घुमेर आउनुभएको छ विकसित देशहरुमा जस्तै यो भवन निर्माण भएकाले हाम्रो नेतृत्व वर्गले पनि एक पटक यो भवनको अवधारणालाई अवलोकन गरिदिनुभयो भने त्यसले हामीलाई र समग्र यस्ता कम्प्लेक्सहरु अघि बढ्न सजिलो हुन्छ । 

अर्थ बुलेटिनः यहाँ आउन चाहने नयाँ व्यापारी र ग्राहकहरुलाई के भन्न चाहनुहुन्छ ?

महासचिवः व्यापारीहरुका लागि त यो सुनौलो अवसर हो । अहिले ठाउँ खालि छ सजिलै पाइन्छ भोलिका दिनमा त्यो अवसरवाट बच्चित भईन्छ । त्यस कारणले व्यापार नै गरेर अघि बढ्नेहरुका लागि म यो कम्प्लेक्समा स्वागत गर्न चाहन्छु । 

यत्तिका सुविधा सम्पन्न कम्प्लेक्समा ग्राहकको कमि त छदै छैन बरु व्यापारीको कमि भने देखिन्छ । अहिले बसेर पसल गरिरहेका व्यापारी साथीहरुले एकलौटी व्यापार गरिरहेका छन् । भवनमा ५/६ वटा सहकारीहरु संचालनमा छन् । त्यहाँको दैनिक डिपोजिट (दैनिक जम्मा गरिएको रकम) लाई हेर्दा ठुलो भोल्यूममा विजनेश भईरहेको प्रष्ट देखिन्छ । 

कतिपय साथिभाइहरुले आफुले ल्याएको सामाग्रिहरु साता दिनमानै सकिएको भन्ने पनि गर्नुभएको छ । सामान भए त व्यापार भयंकर भएको छ भन्नुहुन्छ । कतिपयले चाजोपाजो मिलाउन नसक्दा व्यापार सामान्य अवस्थामा भएको देखिएको हो । जो आँट गरेर आउनुहुन्छ उहाँहरुको लागि भने अबसरै अवसर मात्रै छ । 

ग्राहहरुको लागि त सस्तो सुलभ र सजिलो खरिद केन्द्र हो यो । एकपटक आएको मानिस पटक पटक आइरहेको छ । उहाँहरुकै कारण बजार अगाडि बढेको छ । 

कम्प्लेक्स भित्रनै एटिएम बैकिङ सुविधा, खाजा घर, हाललाई निशुल्क पार्किङ, फराकिलो क्षेत्रफल, बिजुली व्याकअपको राम्रो व्यवस्था, हिडडुल मैत्री करिडोर, झन्डै २ दर्जन लिफ्ट भएको अत्याधुनिक कम्प्लेक्स भएकाले नयाँ व्यापारी, ग्राहक सबैका लागि उचित गन्तव्य हो । 

अर्थ बुलेटिनः एनविटिसी व्यापारसंघको जिम्मेवार महासचिव पदमा हुनुहुन्छ, त्यसैले यहाँका लगानीकर्ता, सटरधनी, व्यपारी तथा ग्राहकहरुलाई के भन्न चाहनु हुन्छ ?

महासचिवः हामी जिम्मेवार रुपमानै अगाडि बढिरहेका छौ । धेरैले आफु सु्रक्षित हुन चाहनुहुन्छ । मुख्य कुरा लालपुर्जा हो । त्यो वितरण सुरु भइसकेको छ । विविध कारणले ढिला भएको हो यद्यपी यो क्रम बढेको छ । 

धेरैले अबको केहि महिना भित्रमा आ–आफ्नो सटरको लालपुर्जा पाइसक्ने देखिन्छ । यसमा हामिले कम्पनीसंग बारम्वार छलफल गरी त्यो वातावरण बनाएका छौ । 

उहाँहरु पनि जतिसक्दो चाडो लालपुर्जा दिएर आफ्नो दायित्व पूरा गर्न अग्रसर भएको देखिन्छ । केहि समय भित्रनै उहाँहरुको प्रतिवद्धता पुरा होला । त्यसमा केहि कमि कमजोरी देखिएमा हामि पूनः पहल गर्नेछौ । 

अर्थ बुलेटिनः समय र सम्वादका लागि धन्यवाद ।

महासचिवः  यो महत्वपूर्ण कुरा हो, कतिपयलाई यो कम्प्लेक्सको वारेमा थाहा नहुन सक्छ । तपाईको संचार माध्यमा मार्फत आज धेरैले यो कम्प्लेक्सका वारेमा थाहा पाउनुभयो होला भन्ने अपेक्षा गरेको छु र म अब एक पटक यो कम्प्लेक्पमा पाल्नुहुन र यहाँको वास्तविक अवस्थाको अनुभूत गर्नुहुन सबैलाई आग्रह गर्दछु । हाम्रा शुभचिन्तक, लगानीकर्ता, सटरधनी, व्यापारी एबं ग्राहकहरुका लागि केहि भनाई राख्ने अबसर दिनुभएकोमा अर्थ बुलेटिन र यहाँको टिमप्रति आभारी छु धन्यवाद । 


प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation