मदन भण्डारी राजमार्ग सर्भेमा विवाद

 अर्थ बुलेटिन   ९ पौष, २०७६



सुर्खेत ।  स्थानीयवासीबीच सडक रुटमा सहमति नजुट्दा पश्चिम सुर्खेतमा मदन भण्डारी राजमार्गको सर्भे रोकिएको छ । सालकोट–बाबियाचौर खण्डको विवाद उत्कर्षमा पुगेपछि स्थानीयवासीले बड्डीचौर–गुटु सडकखण्ड अवरुद्ध पारेका छन् । स्थानीयको अवरोधका कारण राजमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) का लागि भइरहेको सर्भे रोकिएको हो ।

 राजमार्ग सालकोट र बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा स्थानीयबीच सहमति जुट्न सकेको छैन । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले सङ्घीय सडक बोर्डले ट्रयाक खोलिएका दुई सडकलाई राजमार्ग र सहायक मार्ग भनेर छुट्याउन नसक्दा विवाद बढेको बताउनुभयो । स्थानीयस्तरमा विवाद बढेपछि सडक बोर्ड र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदले सहजीकरण गर्नुपर्ने उहाँको सुझाव छ ।

नगर प्रमुख थापाका अनुसार पञ्चपुरी नगरपालिकाको वडा नं २ बेनीघाटदेखि वडा नं ६ जाने र वडा नं ३ को सालकोट हुँदै वडा नं ९ को विद्यापुर जोड्ने सडकमा विवाद देखिएको छ । पञ्चपुरी–५ का अध्यक्ष होमबहादुर रामजालीले विवाद समाधानका लागि तल्लो र माथिल्लो बस्तीका स्थानीयसँग छलफल अघि बढाएको जनाउनुभयो । उहाँले छोटो दूरी, वन क्षेत्रमा पर्ने असरका साथै अधिग्रहण गर्नुपर्ने घरजग्गा कम भएको स्थानलाई छनोट गर्नुपर्ने बताउनुभयो ।

“सहमतिका लागि स्थानीयस्तरमा प्रयास भइराखेको छ, धेरै दिन सर्भे रोकिनुहुन्न भन्नेमा हामी जनप्रतिनिधि सचेत छौँ”, उहाँले भन्नुभयो । डिपिआर तयार गर्ने जिम्मा सिल्टर सिआरसी र जिओकम जेभी ललितपुरले पाएको छ । आन्दोलित स्थानीयले पञ्चपुरी नगरपालिका–२ खम्बागाडे–सालकोट–चतुरे बाबियाचौरसम्म सर्भे हुनुपर्ने माग गरेका छन् ।

असन्तुष्ट स्थानीयले सङ्घर्ष समिति गठन गरेर सर्भे रोक्नुका साथै उक्त खण्डमा चल्ने सवारीसाधन ठप्प पारेका छन् । सङ्घर्ष समितिका संयोजक झक्कबहादुर सिजापतिले बढी जनसङ्ख्या भएको क्षेत्र राष्ट्रिय राजमार्गबाट लाभान्वित हुनुपर्ने तर्क गर्नुभयो । उहाँले आफूहरुको माग पूरा नभए आन्दोलन जारी राख्ने बताउनुभयो ।      



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation