चट्याङ लागेर दुईको मृत्यु, नौँ घाइते, पाँच गम्भीर

 अर्थ बुलेटिन संवाददाता   ३० चैत, २०७६



खोटाङ ।  चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ भने, आठ जना घाइते भएका छन् । गएराति पानीसँगै परेको चट्याङ लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तोमानेका १३ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीया निर्मला विश्वकर्माको घटनास्थल मै मृत्यु भएको हो । 

घाइते हुनेमा मृतक निर्मलाको १४ वर्षीया छोरी मनकला, छ वर्षीय छोरा आसन विश्वकर्मा, स्थानीय ४५ वर्षीय धनिराम राई, १८ वर्षीया मनिषा विश्वकर्मा र ३८ वर्षीया मनकुमारी राई गम्भीर घाइते भएका छन् । सामान्य घाइते हुनेमा आठ वर्षीया शुष्मा राई, ४७ वर्षीया कमलकुमारी राई, ३८ वर्षीया विर्षिका राई र ६५ वर्षीया कृष्णमाया राई रहेका छन् । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ पठाइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले जानकारी दिनुभयो । गम्भीर घाइते मनकलाको खुट्टामा र आसनको टाउ तथा घाँटीमा चोट लागेको प्रहरी जनाएको छ । 

स्थानीय पर्खजीत राईको घरमा परेको चट्याङले उनको छोरा राजमनी र निर्मलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताउनुभयो । पर्खजीतको घरमा जडान गरिएको विजुलीको पावरसकेटमा चट्याङ परेपछि गाउँभरी करेण्ट प्रवाह भएको थियो । घाइते हुने अधिकांशलाई विद्युत्को झड्का लागेको हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् । घटना लगत्तै गाउँपालिका प्रमुख राईले स्वास्थ्यकर्मी र प्रहरीसहितको टोली लगेर उद्दार गर्नुभएको जनाइएको छ ।     



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation