आँधिखोला जलबिद्युुतबारे ऊर्जा मन्त्री पुन र भूमि मन्त्री अर्यालबीच छलफल

 अर्थबुलेटिन संवाददाता   १४ असोज, २०७७



काठमाडौं । आँधिखोला जलाशययुक्त जलविद्युत प्रस्तावित आयोजनाको विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उर्जामन्त्री वर्षमान पुन अनन्तसँग छलफल गर्नुभएको छ । मन्त्री अर्यालको गृहजिल्ला स्याङ्जाबाट आएको स्थानीय सरकारहरुका प्रमुखहरु, सरोकारवाला सम्मिलित डेलिगेशन टोलीसँगै आँधीखोला जलविद्युत आयोजनाको सम्भावना र हालसम्म भएका प्रगतिका बारेमा मंगलबार उर्जा मन्त्रालयमा छलफल भएको हो ।

त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले जलस्रोतलाई प्रयोग गरेर नेपाल बनाउने अभियान अहिले नै गर्नुपर्ने बताउनुभयो । अबको १० वर्षपछि जलस्रोत प्रयोग गरेर बनाउने परियोजनाको सम्भावना नहुनसक्ने भन्दै उहाँले त्यस्तो बताउनुभयो । आँधिखोला जलविद्युत आयोजनाको सम्भावना के छ भन्ने सबै कुरा अध्ययन गरेर निष्कर्ष निकाल्न आग्रह गर्नुभयो ।

‘यो आयोजना गर्ने हो भने हामीले छिट्टै गर्नुपर्छ । यसको महत्व कम हुँदै गएको बेला पछि बनाउदा त्यो अर्थ रहदैन’, मन्त्री अर्यालले भन्नुभयो, ‘यो आयोजनाबारे अध्ययन गरेर यहाँहरुले निष्कर्ष निकाल्नुभएको होला । हामीले जतिसक्दो छिटो यो परियोजना अगाडी बढाउनुपर्छ ।’ मन्त्री अर्यालले प्राविधिक रुपमा के कस्तो सम्भावना रहन्छ त्यो कुरा बुझाइदिन आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘यो आयोजनामा अगाडी बढ्न सकिने हो भन्ने हो भने, अगाडी बढ्नुपर्छ । हामीले योजना बनाएर जाउ भन्ने हो भने लगानीको कुरा दोस्रो कुरा हो । अहिले प्राविधिक रुपमा तपाईहरु के भन्नुहुन्छ ? हामीले बुझ्न खोजेको कुरा यति हो ?’

जवाफमा उर्जामन्त्री अनन्तले आधिखोला आयोजनाको अध्ययनमा नै धेरै समय लागेको र अहिलेसम्म डकुमेन्ट प्राप्त हुन नसकेको बताउनुभएको थियो । आर्थिक तथा सबै हिसाबले आयोजना कत्तिको फाइदाजनक छ भन्ने कुरा अध्ययनले छिटो डकुमेन्ट दिनुपर्ने मन्त्री अनन्तले बताउनुभयो ।

अध्ययन पुरा भएपश्चात् सरकारले आयोजनालाई नीजि क्षेत्रमा दिएर व्यवसायिक बनाउनुपर्ने भएमा नीजि क्षेत्रलाई आह्वान गर्ने बताउनुभयो । आधिखोल जलविद्युत आयोजना व्यापारिक रुपले त्यति नाफामूल नभएको भन्ने देखिएकोले त्यसका लागि अरु उपायहरु के हुन सक्छन् ? आयोजना के गर्ने भन्ने विषयमा के सम्भावना हुनसक्छ भनेर खोजी हुने मन्त्री अनन्तले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘व्यापरिक हिसाबले नाफामूलक नहुँदा अरु उपाय के हुनसक्छ वा होइन आयोजना छाडौ भन्ने हुन्छ की ।

माछा पालन गरेमा के हुन्छ ? पर्यटकीय हिसाबले के हुन सक्छ ? सबै हेरेर सम्भावना के हुनसक्छ ? भनेर अध्ययन गर्नुपर्छ ।’ त्यस क्षेत्रको पर्यटकीय महत्वका लागि आयोजना गरौं वा अन्य सबै पुर्वाधारका लागि आयोजना अगाडी बढाऔं भन्ने पनि हुनसक्ने बताउनुभयो ।
‘अर्को उपाय नीजि लगानीकर्ता खोज्ने । सरकारले जग्गा खोजिदिन्छौ । बाटो बनाइदिन्छौ । ट्रन्समिशन गरिदिन्छौ । यति सरकारको अनुदान भयो’, उर्जामन्त्री पुनले भन्नुभयो, ‘बाँकी अरु त्यहाँको स्थानीय तह, प्रदेश सरकार, विद्युत प्राधिकरण र व्यक्ति व्यक्ति मिलेर गर्नुर भनेर भन्ने । नाफामूलक बनाउने । बुढीगण्डकीमा पनि हामीले यही गरेका थियौं । यस्ता उपायहरु पनि छन् ।’

प्राविधिक विषय आइसकेपछि यसलाई सकेसम्म सकारात्मक नै बनाउने मन्त्री पुनले बताउनुभयो । २० औं वर्षसम्म होल्ड गरिसकेपछि ल हामीले सकेनौ भनेर सरकार पन्छिन नमिल्ने भन्दै उहाँले हिजो सरकारमा को थियो भन्ने कुराले अर्थ नराख्ने बताउनुभयो । ‘हिजो को मन्त्री थियो ? को प्रधानमन्त्री थियो भन्ने कुरा रहेन । सरकार भनेको अविछिन्न निरन्तर उत्तराधिकारी हो । हिजो को थियो भन्ने कुरा रहेन’, उर्जामन्त्री पुनले त्यसक्रममा भन्नुभयो, ‘२० वर्ष सरकारले होल्ड ग¥यो त्यहाँका जनताहरुका लागि । हामी सकेसम्म निराश हुन दिँदैनौ । यसलाई सराकात्मक रुपमा अगाडी बढाउनेगरी हेर्छौ ।’

अहिलेपनि २५० मेगावाट विद्युत बेच्न नसकेर खेर गइरहेको बताउदै मन्त्री पुनले बजार नभएका कारण त्यस्तो समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब यो आयोजना बनाउदासम्म त्यो भन्दा बढी भयो भने त सबै नाफा भन्ने तर बनाएर स्टोर हुन्छ । अहिले हाम्रो कति आयोजना राती बन्द हुन्छ । आयोजना छ तर खर्च नभएर त्यत्तिकै बसेको छ । त्यस्तै बन्द हुनेगरी बनाउनुस भन्नु त हुदैन । जनताले पनि त्यस्तो त भन्दैन ।’

आगामी १० वर्षमा सरकारले १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने भन्दै मन्त्री पुनले १० हजार मेगावाट आफैले प्रयोग गरेर बाँकी उत्पादन क्षेत्रीय बजार भारत र बङ्गलादेशमा बिक्री गरिने बताउनुभयो ।

यसैगरी त्यस अवसरमा बोल्दै नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणले लामो समयदेखि अध्ययन गरेको आधिखोला जलविद्युत आयोजना अहिलेको कन्सेप्टमा १८० मेगावाट देखिएको जानकारी दिनुभयो ।

आयोजना अध्ययनकै क्रममा रहेको भन्दै उहाँले आयोजनाहरु ¥याङकिङ गर्ने क्रममा अली पछि परेको बताउनुभयो । स्याङ्जाको रमणीय ठाउँमा रहेको यो आयोजना बहुउद्देश्यीय आयोजना भएको भन्दै उहाँले पर्यटकीय हिसाबले समेत महत्वपुर्ण रहेको बताउनुभयो । लागतको हिसाबले अरु आयोजना भन्दा महङ्गो आयोजना भएको भन्दै उहाँले प्राविधिक रुपमा उर्जा भने कम कम रहेको बताउनुभयो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation