ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गरे

 अर्थबुलेटिन संवाददाता   १२ मंसिर, २०७७



काठमाडौं । प्रधानमन्त्री एवम्  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गरेका छन् । प्रधानमन्त्री ओलीले    शनिबार बस्ने सचिवालय बैठकका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  लगाएका आरोपबारे जवाफ तयार गरेका हुन् ।

 गत कात्तिक २८ गतेको बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी अध्यक्ष ओलीले आफ्ना भनाइ राख्न लागेका हुन् ।

पूर्वनिर्धारित सचिवालयको बैठक शनिबार अपराह्न १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आधारभूतरुपमा प्रधानमन्त्री ओलीको जवाफ तयार भएको र त्यसले उनीमाथि लगाएका आरोपबारे स्पष्ट गर्ने बताए ।

नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख थापाले भने, “राजनीतिक आरोपबारे सामना गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ ।” यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए ।

आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्णरुपमा हेरिएको छ ।

अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप  बदर हुनुपर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क गरेका थिए । पार्टीका अधिकांश स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य पार्टीको अन्तरिम विधान, एकता र सहमतिका पक्षमा रहेको थापाको भनाइ छ ।

गत सचिवालय बैठकले स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेकाले शीर्ष तहको विवाद सचिवालयमा मिल्न नसकेमा ती निकायका बैठकमा प्रवेश हुनेछन् ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation