जाडो छल्न बेसी झर्ने बेला भाेट हाल्न जिल्ला भित्रिँदै मनाङी

 अर्थ बुलेटिन   २५ कार्तिक, २०७९



लमजुङ । हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएको छ । जाडो बढेसँगै मनाङी  जाडो छल्न बेसी झर्ने गर्दछन् । तर यसपटक भने मनाङवासी जाडो छल्न बेसी झर्ने बेलामा जिल्ला भित्रिँएका  छन् । 

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङवासी मतदान गर्न जिल्ला फर्किएका छन् । काठमाडौ , पोखरा लगायतका सहरमा जाडो छ्ल्न मनाङबासीले जिल्ला छाड्ने गर्दछन् । तर अहिले भने अवस्था फरक छ । निर्वाचनमा मतदान गर्न उनिहरु गाउँ फर्कीएका छन् । विगतका वर्षमा कात्तिक अन्तिम साताबाट जिल्लावासी जाडो छल्न बेँसी झर्ने गर्दथे । 

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको मनाङमा उम्मेदवारले निर्वाचनको प्रचारप्रसारलाई तीव्र पारिरहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए । यहाँको मौसम जुनसुकै बेला प्रतिकूल हुनसक्ने भएकाले सुरक्षित व्यवस्थापन गरिएको उनले बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र र ६१ प्रकारका सामग्री जिल्लामा आइसकेको शर्माले बताए । ‘प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र र सामग्री मतदान केन्द्रमा पठाउनका लागि सटिङको काम भइरहेको छ । १ मंसिरभित्र प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र मतपत्रसहित पठाउनेछौं’, उनले भने ।

प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ र एमालेका पाल्देन छोपाङ गुरुङ चुनावी मैदानमा छन् । कांग्रेसको तर्फबाट प्रदेश ‘क’ मा मुनिन्द्रजंग गुरुङ र राजन गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसअघि नै प्रदेश ‘ख’ मा राजीव गुरुङ सर्वसम्मत निर्वाचित भइसकेका छन् । मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी ६ हजार सात सय ७९ मतदाता छन् ।

नासोँ गाउँपालिकामा एक हजार आठ सय ४७, चामेमा सात सय ७७, मनाङ ङिस्याङमा तीन हजार छ सय ८७ र नार्पाभूमिमा चार सय ६८ मतदाता छन् । जिल्लामा कैदीबन्दीका लागि एक अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अस्थायी मतादन केन्द्रसहित जिल्लामा २९ मतदान केन्द्र छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation