संस्थागत सुशासन, संस्कृति र मुल्यहरुः एक बैंकरको दृष्टिकोण

 सुन्दर पन्थी, रानीवन काठमाण्डौ   २ भदौ, २०७७



संस्थागत सुशासन, कुनै पनि कानुनी संस्थालाई जिम्मेवार र उत्तरदायि तरिकाले चलाउने एउटा पद्धति हो । व्यवसायिक संस्थाहरुको आकार र कारोवार बढ्दै गई संस्थाको स्वामित्व र व्यवस्थापन अलग अलग समुहको हातमा रहने अवस्था आएपछि सस्थाभित्र निहित स्वार्थ, अपारदर्शिता, अनुत्तरदायिता र पुर्वाग्रहको प्रभाव कम गर्ने पद्धतिको खोजीका क्रममा सस्थागत सुशासनको अवधारणा विकास भएको हो ।

सुशासन एउटा बैंकको सन्दर्भमा बैंकलाई सहि तरिकाले चलाउन मात्र होइन, यो त देशको अर्थतन्त्रलाई ब्यबस्थित तरिकाले चलाउन समेत अपरिहार्य छ । बित्तिय क्षेत्रलाई मजबुद नवनाई अर्थतन्त्रका अन्य अवयवहरु बलिया हुन सक्दैनन्, न त बैंक आफैनै । बैंक त्यस्तो संस्था हो जसले देशमा छरिएर, संचित भएर बसेको निष्कृय पूजीलाई बैकिंग प्रणालीमा ल्याई यसको परिचालनद्वारा उत्पादन, उपभोग र रोजगारी मार्फत आर्थिक बिकासलाई गति प्रदान गदछ । बित्तिय संस्थाहरुको स्वस्थताले नै बित्तिय क्षेत्रको सवलता मापन गर्ने हो । यी संस्थाहरुले आफ्नो ब्याबसाय कुन स्तरको कुशलतासाथ संचालन गर्दछन् त्यसले नै अर्थतन्त्रको सवलता निर्बलता देखाउने हो । 

बित्तिय संस्थाको सुशासनमा कमजोरी देखिन शुरु हुनुको अर्थ हो बित्तिय क्षेत्रमा रोग लाग्नु, जसको अन्तरआवद्धताको कारण क्रमशः पूरै अर्थतन्त्रमानै यसको असर फैलिने सम्भावना रहन्छ ।

संस्थागत सुशासनले संस्थाको संञ्चालक समिति तथा उच्च ब्यबस्थाले आफ्नो अधिकार र जिम्मेवारी ब्याबसाय र बैंकको कार्य संञ्चालन गर्दा कसरी बाँडढफाँड गर्दछन् भन्ने जनाउनुको साथै उनिहरुले कसरी बैंकको रणनिति तथा उदेश्य निर्धारण, कर्मचारीको छनौट तथा संम्प्रेक्षण, दैनिक ब्यबसाय संञ्चालन, निक्षेप कर्ताको हित संरक्षण तथा लगानी कर्ताको उत्तरदायित्व निर्वाह र अन्य सरोकारवाला प्रति उत्तरदायित्व निर्वाह गर्दछन् भन्ने जनाउछ ।

संस्थाको संस्थागत संस्कृति, संस्थागत कृयाकलाप र ब्यबहारलाई संस्थाको हितको लागी कसरी जोड्ने ताकी संस्था स्वस्थ, सुरक्षित र निस्ठापुर्ण तरिकाले बिद्यमान ऐन कानूनको परिपालन गर्दै दिर्घकालसम्म नियन्त्रित रुपमा संञ्चालन होस् ।

संचालक समिति नै त्यो जिम्मेवार निकाय हो जसले बैंकको बित्तिय स्वस्थता तथा ब्यावसायिक रणनिति, मुख्य ब्यक्तिको चयन, आन्तरिक संरचना तथा सुशासन संरचना र ब्यबहार, जोखिम ब्यबस्थापन र अनुपालन दायित्व निर्वाह गर्दछ समितिका सदस्यहरुले "Duty of care'' तथा''Duty of loyalty''  अनूसरण गरी संस्थालाई एउटा स्विकार्य योग्य बिधि भित्र ऐन कानून, निति नियमको पालना गराउँदछन् । सुपरिवेक्षयिकिय मापदण्डको दायराभित्र ल्याउदछन् । 

त्यसैगरि, समितिलेः ब्यावसायिक लक्ष्य तथा रणनिति निर्धारण संस्थागत संस्कृति तथा मूल्यको स्थापना, सुशासन संरचनाको पर्याप्तता निर्धारण, जोखिम बहन गर्न सक्ने क्षमता निर्धारण, उच्च ब्यबस्थापनसँग मिलेर ब्यावसायिक प्रतिष्पर्धा र नियामक परिदृश्यको आँकलन गरी दिगो रुपमा बैंक हितको प्रवद्र्धन साथै जोखिमको मात्रा र त्यसको प्रभावकारी ब्यबस्थापन गर्दै जोखिम निति तथा जोखिमका सिमाहरु निर्धारण गरी त्यसको अनुगमन गर्ने कार्यहरु गर्दछ ।

यस्तै, विद्यमान प्रावधानहरु र मान्यता बमोजिम संस्थाको जोखिम ब्यबस्थापन, आन्तरिक नियन्त्रण प्रणालीको ब्यबस्थापन, उच्च पदाधिकारीहरुको कार्यसम्पादन ब्यबस्थापन उनिहरुको सेवाका शर्त तथा सूविधा निर्धारण गर्ने परिपाटी तथा संचालन गर्ने कार्य गर्दछ ।

संचालकहरुको असल क्रियाकलापबाट सम्बन्धित संस्थाका साथै देशको समग्र बित्तिय प्रणालीमा अनुकुल प्रभाव पर्न जाने हुदाँ संचालकहरुले संस्थाको अनुगमन तथा सूपरिवेक्षण कार्य बढि बिबेकपुर्ण र प्रभावकारी तरिकाले गर्न सक्षम हुनुपर्दछ । संम्पुर्ण प्रणालीमा अपेक्षित जोखिम संस्कृती निर्माण गर्नु संचालक समितिको दायित्व हो । 

आधारभुत कुरा के हो भने सुशासन संस्थाको संस्कृतिबाट सुसजित हुने गर्दछ । संस्थागत संस्कृति जहिले पनि जिम्मेवार र नैतिक ब्यबहारबाट दर्शीने गर्दछ । त्यसैले, सुशासन भनेकै जिम्मेवार र नैतिक ब्यबहारको लागी उपयूक्त मापदण्ड प्रवर्धन गर्ने संस्थागत संस्कृति वा परिपाठि हो । यिनिहरु बिशेषगरि, बैंकको जोखिम प्रतिको जागरुकता, जोखिम लिने क्षमता र जोखिम ब्यबस्थापनको सन्दर्भमा महत्वपूर्ण छन् । 

स्वस्थ संस्थागत संस्कृतिलाई प्रवर्धन गर्न संचालक समितीले उच्च तहको एउटै आवाज अनुभुत हुने वातावरण स्थापना गर्न नेतृत्व प्रदान गर्नुपर्दछ । संस्थागत मूल्यहरु आफ्नै लागि पनि निर्माण गर्ने र स्वयमं पनि पालना गर्ने तथा उच्च ब्यबस्थापन र अन्य कर्मचारीहरुमा समेत नैतिक तथा कानूनी अनुपालनाको सुनिश्चितता हुने किसिमले बैंक ब्यबसाय संञ्चालन हुनुपर्दछ भन्ने अपेक्षा सिर्जना गर्नुपर्दछ ।

कडा ब्यावसायि प्रतिष्पर्धाको लागि गैरकानूनी र अनैतिक तरिका प्रयोग संचालक समितिले समर्थन गर्दैन र गर्नेलाई दण्डनिय गर्दछ, समर्थन गर्दैन भन्ने सबै कर्मचारी तथा सरोकारवाला (Stakeholder) लाई लाग्ने बाताबरण नै बास्तवमा जोखिम संस्कृती र ब्याबसायिक ब्यबहार र मुल्यहरु हुन् ।

सञ्चालकहरुले जहिलेपनि के कुरा सुनिश्चित गर्नुपर्दछ भने संस्थाका मुल्य र मान्यताहरु, ब्यावसायिक मानकहरु र आचारसंहिताहरु सहित आवश्यक सहयोगी नीतिहरु तथा कार्यविधिहरु उच्च ब्यबस्थापन सहित अन्य कर्मचारीहरुमा संचार भएको छ  कि छैन र उनिहरु सचेत छन् वा छैनन् अुनुचित ब्यबहार, कार्यहरु र अपराधहरु दण्डनिय छन् भन्ने अनूसरण भएको छ कि छैन । 

स्पष्ट रुपमा संस्थाको प्रतिष्ठा जोखिम अनुचित गतिविधि जस्तै बित्तिय दुरुपयोग, मनि लाउण्ड्रिङ, जालसाझि, प्रतिष्पर्धी विरोधका अभ्यासहरु, घुसखोरी र भ्रष्टाचार वा उपभोक्ता अधिकार उल्लंघन जस्ता कार्यहरु र ब्यबहार अस्विकार योग्य हो भनि संस्थागत मुल्यको रुपमा स्थापित नगरेसम्म सुशासनको नारा देखावटी नाटक मात्र हुन्छ र संस्थागत सुशासान संस्कृतिमा उत्र्तिदैन र मान्यताको रुप पनि लिदैन । कर्मचारीमा नैतिक ब्यबहारका साथै कानूनहरु, नियमहरु र कम्पनिका नीतिहरुको पालना नै कर्मचारीबाट अपेक्षित ब्यबहार हो, कुनै ब्यक्तिको मोलमोलाई, अनुचित प्रभाव, आदि संस्थागत संस्कृतिको आयाम हुनुहुदैन ।

यदि संथामा उपरोक्त व्यबहारहरु निशंकोच राख्न सक्ने वातावरण कायम रहेको र त्यसबाट उच्च व्यवस्थापनले सकारात्मक सूझाव प्राप्त गरेको छ भने यसले संस्थामा दोहोरो सम्वाद र सकारात्मक मुल्य मान्यताको संस्कृति विकास गरेको छ भन्ने बुझ्न सकिन्छ । गलत संस्कृति र मुल्यले संस्थाले सहि उचाहि पाउन सक्दैन । त्यसैले संस्थाले कर्मचारीहरुका चासो र सरोकारका बिषय उठान गर्ने ह्वीसल ब्लोअर पोलिसि(Whistle blower Policy) लाई समेत बैधानिक बाटो (Channel) मार्फत अनूमति दिनूपर्छ ।

बैंकको नीति, नियम र व्यवाहारसंग सम्बन्धित आन्तरीक नियन्त्रण प्रणालिमा रहेका कमी कमजोरी र सोको सुधार संञ्चार गर्न, प्रत्यक्ष वा अप्रत्यक्षChain of Command  भन्दा बाहिर बाट हुनेगरी स्वतन्त्र आन्तरिक लेखापरिक्षण वा अन्य त्यस्तै निकायबाट संम्प्रेणको ब्यबस्था मिलाउनु पर्दछ । उक्त निकाय कदापि कार्यकारी शक्तिको कोपभाजनको सिकार हुन सक्ने वनाउनु हुदैन, उक्त निकायका कर्मचारी, स्वतन्त्र निकायको रुपमा रहनु पर्दछ । संचालक समितिले यस्ता बैधानिकताहरुको अनुसंन्धान गरी कुनै स्वतन्त्र आन्तरिक वा बाह्य निकाय वा वोर्ड आफैले समाधान गर्न सक्ने निकायको निर्धारण गर्नुु पर्दछ अन्यथा बैधानिक चिन्ता बिना, सम्बाद गर्ने बातावरण बन्दैन र आन्तरी विसंगति माथि प्रश्न गर्नेे आट कसैले गर्न सक्दैन ।

कर्पोरेट संस्कृतिको परिभाषा चुनौतीपूर्ण छ किनकि मानिस र संस्कृतिको बिभिन्न विविधता जो एक कर्पोरेट संस्कृति को हिस्सा बन्न सक्छ । उच्चतहले उनीहरूको संस्कृतिको परिभाषालाई संकुचित गर्नु अघि उनिहरूले कर्पोरेट वातावरण सिर्जना गर्नु आवश्यक छ जहाँ कामदारहरूले महसुस गरुन कि उनीहरूको इनपुटमा योग्यता छ अन्यथा संसागत सुसानको नाममा कुशासनको जग बलियो बन्दै जानेछ ।

‘सीईओे’ ले कर्पोरेट संस्कृतिमा प्राथमिक भूमिका खेल्ने भएकोले जब ‘सीईओे’ लाई पूरा कार्यकाल रहन नसक्ने अवस्था सृजना गरिन्छ, यसले संस्कृति बिग्रन सक्ने सम्भावना खोलिदिन्छ । समितीको मनोनयन समितिले नयाँ कार्यकारी प्रमुखको लागि छनौट संकुचित गर्दा सांस्कृतिक विकाससँग सम्बन्धित विगतको प्रदर्शन, उद्योग अनुभव र सार्वजनिक प्रतिष्ठामा विचार गर्नु आवश्यक छ ।

उम्मेद्वारी प्रक्रियाको बखत संस्कृतिमा कडा जोड दिनाले कुनै अपेक्षित वा अप्रत्याशित नेतृत्व परिवर्तन भए पनि कर्पोरेट संस्कृतिलाई बलियो बनाउन मद्दत गर्दछ । यी मुद्दाहरूलाई सम्बोधन गर्न असफल भएमा भविष्यमा विचलनको प्रकोप शिर्जना  हुन्छ ।

संस्कृति शीर्ष तहवाट सुरू हुन्छ र संस्कृति को सबै भन्दा राम्रो परिक्षण पनि शिर्ष तहमानै हुन्छ । जब विषयहरु गलत हुन्छन् । तव, बोर्ड र वरिष्ठ अधिकारीहरूले कसरी संकट र कठिन समयलाई सम्हाल्छन् भन्ने कुरामा कर्पोरेट संस्कृति सधै प्रतिबिम्बित हुन्छ । वरिष्ठ अधिकारीहरूले कर्पोरेट संस्कृतिको बारेमा उनीहरूका शब्दहरू र कार्यहरू मार्फत धेरै कुरा सम्प्रेशण गर्छन् । प्रबन्धकहरू जो स्वाभाविक रूपमा चाहिएको कर्पोरेट संस्कृतिमा राम्रोसँग फिट हुन्छन् सजिलै सकरात्मक परिवर्तन गर्न सक्षम हुनेछन् र संथामा सकारात्मक संकृतिले मान्यताको, Corporate Value को, मुल्यको रुप लिने छ ।

अन्यथाः अन्धेर नगरी चौपट राजा टके मन भाजी टके मन खाजा । 

इतिश्री ।

(लेखकः नेपाल बैंक लिमिटेडका बाग्मती प्रादेशिक कार्यालयका प्रमुख हुन् )



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation