होटेल तथा रेस्टुराँ क्षेत्रमा लगानी बढ्यो ५२ लगानीकर्ताले १४ अर्ब लगानी गर्दै

 अर्थ बुलेटिन संवाददाता   १० पौष, २०७६



काठमाडौं । होटेल तथा रेस्टुराँ क्षेत्रमा लगानी बढ्दै गएको छ ।होटेल तथा रेस्टुराँमा चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो पाँच महीनामै रू. १४ अर्ब ७३ करोड लगानीका उद्योग व्यवसाय दर्ता भएका छन् । चालू आवको मंसिर तेस्रो हप्तासम्ममा उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीकर्ताले उक्त लगानीका ६३ ओटा होटेल/रेस्टुराँ तथा क्यासिनो दर्ता गरेका हुन् ।

उद्योग विभागको तथ्यांकअनुसार झण्डै पाँच महीनाको अवधिमा ५२ विदेशी लगानीकर्ता तथा व्यवसायीले होटेल तथा रेस्टुराँमा लगानीको प्रतिवद्धतासहित व्यवसाय दर्ता गराएका छन् । यसैगरी यो क्षेत्रमा यस अवधिमा ११ स्वदेशी लगानीकर्ताले व्यवसाय सञ्चालन गर्न होटेल तथा रेस्टुराँ दर्ता गराएका छन् । विभागमा दर्ता भएकामध्ये अधिकांश स्वदेशी तथा विदेशी लगानीकर्ताको छनोटमा पर्यटन क्षेत्रका चर्चित गन्तव्यहरू काठमाडौं र पोखरा नै पर्ने गरेका छन् ।

विभागको तथ्यांकअनुसार काठमाडौंमा ४४, झापामा १, ललितपुर ५, कास्की (पोखरा)मा ८, चितवन २ र अन्य झापा, बाँके र बारामा भने १/१ ओटा होटेल तथा रेस्टुराँ दर्ता भएका छन् । २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारीका बिच होटेल तथा रेस्टुराँ व्यवसाय अन्य पर्यटकीय गन्तव्यमा भने विस्तार हुन नसकेको यो तथ्यांकले देखाउँछ ।

यीमध्ये ११ ओटा स्वदेशी ५२ विदेशी लगानीकर्ताले उक्त लगानीका होटेल तथा रेस्टुराँहरू दर्ता गराएका छन् । यीमध्ये झापा र बाँकेमा दुई ओटा कम्पनीमार्फत क्रमश रू. २५/२५ करोड करोडमा दुईओटा क्यासिनो सञ्चालनका लागि क्यासिनो व्यवसाय दर्ता भएको छ ।

झण्डै पाँच महीनामै पर्यटन व्यवसायमा दर्ता भएका ती व्यवसायहरू र लगानी उच्च भए पनि लगानीकर्ताहरू अन्य क्षेत्रमा आकर्षित हुन नसक्नुको मुख्य कारण नीतिगत स्पष्टता नहुनु रहेको पर्यटन व्यवसायीहरूको बुझाइ रहेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation