![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं ।दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ ।सरकारले एनसेलमाथि निर्धारण गरेको २२ अर्ब ६० करोड रुपैयाँमध्ये एनसेलले मंगलबार यो रकम ठूला करदाता कार्यालयमा दाखिला गरेको हो ।
सरकारले १५ दिनभित्र कर तिर्न भन्दै पत्र पठाएको दशौँ दिनमा एनसेलले रकम बुझाएको छ । यो रकमसँगै एनसेलले बाँकी रकम तिर्न किस्ताबन्दीको सुविधा पनि मागेको छ ।
आयकर ऐनले निर्धारण भएको कर करदाताले किस्ताबन्दीमा तिर्न सक्ने सुविधा दिएको छ । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीका अनुसार यस्तो सुविधा एनसेलले २०७७ साल असार मसान्तसम्म मात्र पाउने छ ।
गत माघमा सर्वोच्च अदालतले टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभ कर एनसेलले नै तिर्नुपर्ने फैसला गरेको थियो ।
वैशाखमा ठूला करदाता कार्यालयले एनसेललाई कुल ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर निर्धारण गरेकोमा एनसेलले केही रकम पहिल्यै तिरिसकेको थियो । त्यसबाट घटाएर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ तिर्न बाँकी रहेको ठहर गरेको थियो ।