राष्ट्र बैंकले मोबाइल र इन्टरनेट बैंकिङमार्फत गरिने भुक्तानीको अधिकतम सीमा तोक्यो

 अर्थ बुलेटिन संवाददाता   १८ पौष, २०७६



काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङलगायत विद्युतीय माध्यमबाट गरिने भुक्तानीको अधिकतम सीमा तोकेको  छ । राष्ट्र बैंकले मोबाइल  बैंकिङको माध्यामबाट  प्रतिदिन ५० हजार र प्रतिमहिना २ लाखसम्मको कारोबार गर्ने सकिने जनाएको छ ।

त्यस्तै,  इन्टरनेट बैंकिङमार्फत प्रतिदिन १० लाख  र प्रतिमहिना ३० लाखसम्म भुक्तानी  गर्न सकिनेछ भने प्रतिदिन १० लाख र प्रति महिना ५० लाखसम्म रकम पठाउन सकिने  राष्ट्र बैंकले जनाएको छ ।

क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने भए पनि ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म नगद झिक्न भने पाइने व्यवस्था गरिएको छ । क्रेडिट कार्डबाट नगद कारोबार गरी कार्डबाट प्रयोग भएको रकम भुक्तानी गर्ने समय समाप्त नहुँदै कार्डमा भएको रकमको सीमा समाप्त भएको अवस्थामा यस्तो रकम बंैकमा जम्मा गरी समयावधिअगावै तोकिएको सीमासम्मको नगद झिक्न सकिने व्यवस्था मिलाइएको छ ।

मोबाइल बैंकिङ गर्दा प्रतिदिन अधिकतम ५० हजार रुपैयाँसम्मको कारोबार गर्न पाउने व्यवस्था गरिएको छ । कारोबारको बिल वा विवरण प्राप्त हुने अवस्थाबाहेक मासिक २ लाख रुपैयाँभन्दा बढीको भुक्तानी गर्न भने पाइनेछैन । यसको सीमा यसअघि १ लाख रुपैयाँसम्म मात्रैको थियो ।

मोबाइल बैंकिङ सेवाअन्तर्गत क्यूआर कोडको माध्यमबाट भुक्तानी तथा रकमान्तर गर्दा पनि यसैअनुसार गर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी, इन्टरनेट बैंकिङको माध्यमबाट भुक्तानी कारोबार गर्दा प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने भएको छ । मासिक रूपमा अधिकतम ३० लाख रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार गर्न नपाइने राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation