माघ ६ भित्रै सरकारले उखु किसानहरुको पाउन बाँकी रकम भुक्तानी गराइदिने

 अर्थ बुलेटिन संवाददाता   १८ पौष, २०७६



काठमाडौं । माघ ६ गते भित्रै सरकारले  उद्योगीहरुबाट उखु किसानहरुको पाउन बाँकी रकम भुक्तानी गराईदिने भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले समयसिमा दिदै भित्रै उद्योगीहरुबाट उखु किसानहरुको भुक्तानी गराईने बताए ।

‘आउने माघको ६ गतेभित्र उखु किसानहरुको माग पूरा हुन्छ’ मन्त्रालयमा किसानसँगको छलफलमा उनले भने, ‘म लिखित रुपमै प्रतिबद्धता व्यक्त गर्छु ।’उनले पुसभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो सातासम्म भुक्तानी गराई सकिने विश्वास दिलाए ।

‘सरकारको तर्फबाट म चिनी मालिकसँग किसानहरुको बाँकी भुक्तानी उठाईदिने प्रतिबद्धता व्यक्त गर्दर्छु’ उनले भने, ‘सरकारले नै अब किसानहरुको भुक्तानी उठाईदिने जिम्मेवारी लिएको छ ।’उनका अनुसार १३ वटामध्ये ३ वटा चीनी मिलले किसानहरुलाई भुक्तानी दिन बाँकी रहेको छ ।

‘उखु किसानहरुको माग र समस्याको दिर्घकालिन समाधान गर्न हामी आजै एउटा कार्यदल गठन गर्छौं’, किसानसँगको छलफलमा भट्टले भने, ‘त्यो कार्यदलले १५ दिनभित्र प्रतिवदन दिनेछ ।त्यो प्रतिवेदन आएपछि हामी त्यही अनुसार अघि बढ्छौं । अब उखु किसानहरुलाई दिईने हरेक अनुदान किसानकै खातामा हालिदिने व्यवस्था पनि गर्छौं ।’

उनले रुग्ण अवस्थामा रहेका वीरगन्ज चीनी कारखाना र लुम्बिनी चिनी कारखानालाई पनि छिट्टै सञ्चालनमा ल्याउने विश्वास दिलाएका छन् । मन्त्री भट्टले नेपालमा २ लाख ४० हजार मेट्रिक टक चिनी चाहिने आवश्यकत्ता औंल्याए ।उनले भने,‘तर, अहिले एक लाख ७५ हजार मेट्रिक टन उत्पादन हुन्छ ।

हामीलाई अझै ६५ हजार अभाव छ । सरकारले प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिएको छ ।’ उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले विभागीय मन्त्रीबाटै आफूहरुको माग पूरा गराउने प्रतिबद्धता आएको भन्दै खुशी व्यक्त गरे ।उखु किसानहरुले अब आफूहरु घर फर्किने पनि जानकारी दिए । उनीहरुले विभागीय मन्त्रीबाट नै माग पूरा गराउने प्रतिबद्धता आएकोले अब घर फर्किन आफूहरु तयार भएको स्पष्ट पारे ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation