मनी चेन्जरमाथि राष्ट्र बैंकले निगरानी बढायो

 अर्थ बुलेटिन संवाददाता   २० पौष, २०७६



काठमाडौँ । नेपाल राष्ट्र बैंकले मनि चेन्जरमाथि निगरानी बढाएको छ । पछिल्लो समय वित्तीय अपराध मौलाउँदै गएको स्रोत नखोजी त्यस्ता कम्पनीले पैसा साट्ने गरेपछि राष्ट्र बैंकले मनि चेन्जर कम्पनीमाथि निगरानी बढाएको हो ।

‘सीमाभन्दा बढी विदेशी मुद्रा साट्ने, रकमको स्रोत नखोज्ने, ग्राहकको परिचय नराख्ने कम्पनीमाथि राष्ट्र बैंकले निगारानी बढाएको छ,’ स्रोतले भन्यो ।

राष्ट्र बैंक स्रोतका अनुसार हालै मात्र राष्ट्र बैंकले नेपालय मनी एक्सचेन्ज र डेक्सो मनी एक्सचेन्जको लाइसेन्स नै खारेज गरेको छ । विदेशी मुद्रा सटही गर्दा मनी चेन्जरले रकमको स्रोत खोज्नुका साथै रकम साट्नेको परिचय खुलाउनुपर्ने भएपनि यी कम्पनीले कानुनविपरीत काम गरेको भन्दै राष्ट्र बैंकले लाइसेन्स खारेज गरेको हो ।

यी कम्पनीले गत भदौ १५ मा चिनियाँ नागरिकले एटीएम बुथबाट चोरी गरेको पैसा अमेरिकी डलरमा सटही गरिदिएका स्रोतको दावी छ । चिनियाँ नागरिक पक्राउ परेपछि उजुरीका आधारमा प्रहरीले नेपालयका सञ्चालक देवनाथ लामिछाने र डेक्सोका सञ्चालक रोशन प्रधान श्रेष्ठलाई पक्रिएको थियो ।

त्यसपछि राष्ट्र बैंकले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा दोषी भेटिएपछि लाइसेन्स खारेज गरिएको स्रोतको दावी छ । राष्ट्र बैंकले नेपालयलाई सन २००४ र डेक्सोलाई सन् २०१६ मा लाइसेन्स दिएको थियो । चिनियाँ नागरिकले एटीएम ह्याक गरेर निकालिएकोमध्ये २९ लाख ९९ हजार रुपैयाँ ती दुई मनी एक्सचेन्जबाट साटिएको थियो ।

ह्याकर बसेको हात्तीसारको होटलमा प्रहरी परिसर काठमाडौंको टोली पुगेलगत्तै भागेका चार चिनियाँ ट्याक्सी रिजर्भ गरेर सोझै ठमेलस्थित ती मनी चेन्जर कम्पनीमा गई नेपाली पैसा अमेरिकी डलरमा सटही गरेका थिए । अन्य कम्पनीमाथि समेत निगरानी भैरहेको स्रोतको दावी छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation