नक्कली मोही कायम गरी आर्थिक अनियमितता गर्ने ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

 अर्थ बुलेटिन संवाददाता   २० पौष, २०७६



काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपाली सेनाका लागि अधिग्रहण गरिएको जग्गामा नक्कली मोही कायम गरी आर्थिक अनियमितता गर्ने विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

धनुषाको तत्कालीन भरतपुर गाविसमा गुठीको स्वामित्वमा रहेको जग्गा सेनाका लागि अधिगृहण गरिएकोमा गुठी संस्थानको जनकपुर शाखा कार्यालय कर्मचारीको मिलेमतोमा नक्कली मोही कायम गरी ७७ लाख १ हजार ६ सय ६७ रुपैयाँ मुआब्जाका नाममा वितरण गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा गुठी संस्थानको जनकपुर शाखाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे समेतको मिलेमतोमा भ्रष्टाचार भएको देखिएको हो ।

अख्तियारका अनुसार गुठी संस्थानको जनकपुर शाखा प्रमुख पाण्डेले १९ लाख ३० हजार रुपैयाँ घुस लिएर यागत्री देवी जयसवाललाई मोही कायम गरेर ७७ लाख १ हजार ६ सय ६७ रुपैयाँ मुआब्जाको नाममा निकासा गरेका थिए ।

उक्त प्रकरणमा गुठी संस्थान जनकपुर शाखाका तत्कालीन सहायक प्रमुख मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्यले ६ लाख ५० हजार रुपैयाँ तथा वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले ४ लाख ३० हजार रुपैयाँ घुस लिएका अख्तियारले जनाएको छ ।

यस्तै, यस्तै बिचौलियाको भूमिका निर्वाह गरेका सुमनकान्त ठाकुरले पटक पटक गरी नक्कली मोहीका नाममा ६३ लाख ३६ हजार ६ सय ६७ रुपैयाँ भुक्तानी दिलाएका थिए ।

यस्तै नक्कली मोही खडा गरिएकी गायत्री देवी जयसवालका छोरा शत्रुधन जयसवालले २७ असार २०६९ मा गुठी संस्थानबाट मुआब्जा वापतको रकम भनेर १२ हजार ८१ लाख ६ सय ६७ रुपैयाँ लिएकोमा १२ लाख ५० आफूले लिइ ७ लाख ३५ हजार रुपैयाँ संस्थानका कर्मचारीलाइ घुस दिएका थिए ।

अख्तियारले नक्कली मोही बनाइएकी जयसवालविरुद्ध ५६ लाख १ हजार ६ सय ६७ रुपैयाँ बिगो कायम गरी ८ वर्ष कैद सजाय मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । यस्तै, उनका छोरा शत्रुधनविरुद्ध ७ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता भएको छ ।

अख्तियारले नक्कली मोही कायम गर्ने प्रकरणमा संलग्न ठाकुरविरुद्ध ६३ लाख ३६ हजार ६ सय ६७ रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

गुठी संस्थान जनकपुरका तत्कालीन प्रमुख पाण्डेविरुद्ध १९ लाख ३० हजार रुपैयाँ बिगो कायम गरी ४ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

यस्त, गुठी संस्थान जनकपुर शाखाका तत्कालीन सहायक प्रमुख मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्यविरुद्ध ६ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी २ वर्ष ६ महिना कैद सजाय मागदाबी गरिएको छ । गुठी संस्थान जनकपुरका तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालविरुद्ध ४ लाख ३० हजार रुपैयाँ बिगो कायम गरी १ वर्ष ६ महिना कैद सजाय मागदाबी गरेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation