२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । सरकारको दबाबपछि साढे १८ अर्ब बाँकी कर तिर्न एनसेलले चासो देखाएको छ । लामो समयसम्म पुँजीगत लाभकर तिर्न आनाकानी गरेको एनसेललाई ठूला करदाताको कार्यालयले पुरा कर तीर्न दबाब दिएपनि किस्ताकिस्तामा गरी चार महिनामा बाँकी कर तीर्न एनसेल तयार बनेको हो ।
ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार चार किस्तामा सबै रकम भुक्तानी गर्नेबारे एनसेलले प्रतिबद्धतासहित निवेदन जाहेर गरेको छ । यसबारेमा निर्णय निर्णय हुनेछ ।केही दिनअघि २० प्रतिशत कर बुझाएको एनसेलले १८ अर्ब २३ करोड रुपैयाँ तिर्न बाँकी छ । उक्त निवेदनका विषयमा आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयसँग समन्वय गरेर निर्णय गरिने बताइएको छ ।
आयकर ऐन २०५८ को दफा ११० ले करदातालाई किस्ताबन्दीको सुविधा माग गर्ने अधिकार दिएको छ । तर दफा ११९ ले उक्त सुविधा लिँदा थप पाँच प्रतिशत ब्याज बुझाउनुपर्ने व्यवस्था गरेको छ ।हाल तोकिएको कर रकमको प्रत्येक महिना १५ प्रतिशत ब्याज तिर्नुपर्ने र किस्ताबन्दीको माग स्वीकृत भएमा उक्त ब्याज २० प्रतिशत पुग्नेछ ।
एनसेलले तिर्नुपर्ने कुल २२ अर्ब ४४ करोड पुँजीगत लाभकरमध्ये १८ अर्ब २३ करोड रुपैयाँ तिर्न बाँकी छ । सो रकमको हिसाब गर्दा चार महिनामा तिर्दा प्रत्येक महिना २३ करोड ब्याज लाग्नेछ । पाँच प्रतिशत थपिँदा उक्त ब्याज रकम २७ करोडसम्म हुनेछ ।