२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । सेयर बजारमा नरूचाइएका अर्थमन्त्री डा. युवराज खतिवडा राजस्व वृद्धिदर बढाउन समेत चुकेका छन् । अर्थ मन्त्रालयका अनुसार मंसिर मसान्तसम्ममा राजस्व वृद्धिदर ३.७१ प्रतिशत कायम भएको छ । वार्षिक ११ खर्ब १२ अर्ब रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा मंसिर मसान्तसम्ममा ३ खर्ब १८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।
मंसिर मसान्तमा सरकारले ४ खर्ब २ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । अर्थ मन्त्रालयले डिजेल, सिमेन्ट क्लिंकरलगायतका वस्तुको पैठारीमा आएको कमीको प्रभाव भन्सार विन्दूबाट हुने राजस्व संकलनमा परेको जनाएको छ ।
यस अवधिमा आयकर तथा आन्तरिक मूल्य अभिवृद्धि करको संकलन गत वर्षको यही अवधिको तुलनामा ३१.३१ प्रतिशत र २९.४ प्रतिशतले बढेको मन्त्रालयको भनाइ छ । सरकारले वार्षिक ३० प्रतिशत राजस्व वृद्धि राखेर प्रक्षेपण गरेको भए पनि न्यून दरमा मात्रै राजस्व संकलन बढाएको छ ।
मन्त्रालयका अनुसार मंसिरसम्ममा स्थायी लेखा नम्बर लिनेको संख्या ३० लाख ६१ हजार पुगेको छ । असार मसान्तमा यस्तो संख्या २१ लाख ७२ हजार थियो । स्थायी लेखा नम्बर लिनेमध्ये व्यक्तिगतर्फको वृद्धिदर ७५.८ प्रतिशत र व्यावसायिकतर्फको वृद्धिदर ११.४ प्रतिशत छ ।
मन्त्रालयले यस अवधिमा स्थानीय तह र प्रदेशका लागि समपुरक अनुदानतर्फ १९ अर्ब ६ करोड रुपैयाँ हस्तान्तरण भएको पनि जनाएको छ ।