इन्भेष्टमेन्ट बैंकको साधारण सभाः ‘उत्पात’ मच्चाउने को थिए ?

 अर्थ बुलेटिन संवाददाता   २८ पौष, २०७६



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभामा हात हालाहालको अस्था निम्तिएको छ । बैंकको सोमबार भएको वार्षिक साधारणसभामा बोल्दै गर्दा दुई लगानीकर्ताबीच हात हालाहाल भयो । बैंकका लगानीकर्ता शिवप्रसाद पौडेल र चन्दननारायण श्रेष्ठबीच बैंकले दिएको लाभांश र बैंकको खर्चबारे बहस हुँदा हात हालाहाल हुन पुगेको हो ।  पौडेलले श्रेष्ठलाई हातपात गरेका थिए । 

बैंकका शिवप्रसाद श्रेष्ठले बैंक ३३ वर्ष पुगेको उपलक्ष्यमा लगानीकर्ताले ३३ प्रतिशत नै लाभांशको आशा गरेको तर बैंकले कम लाभांश दिएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए । साधारणसभामा लगानीकर्ताको प्रतिनिधित्व गर्दैै श्रेष्ठले इन्भेस्टमेन्ट बैंकभन्दा एनआईसी एसिया राम्रो भएको बताएका थिए । यत्तिकैमा पौडेलले श्रेष्ठलाई कम बोल्न सुझाव दिँदै थिए ।

पौडेलले श्रेष्ठलाई कम बोल्न सुझाव दिदाँ श्रेष्ठले ल भयो ठिमीलेली अब कम बोल्छु भन्दै भाषण सकाए । भाषण सकिएपछि दुवै जना तल झरे । झर्दै गर्दा पौडेलले ठिलाठेली भन्दै ठिमिका मान्छेलाई होच्याउने भन्दै श्रेष्ठमाथि हातपात गरेका थिए ।

हात हाल्ने पौडेलले अर्काे वर्ष बैंकले ४० प्रतिशत लाभांश दिन आग्रह गर्दै बैंकले जलविद्युत क्षेत्रमा लगानी गर्दा सचेत हुन आग्रह गरे । पौडेलले अन्तर्राष्ट्रिय कानूनमा ध्यान दिन आग्रह गर्दैै बैंक ग्यारेन्टी बस्ने कुरामा ध्यान दिन आग्रह गरे ।

नेपाल इन्भेष्टमेण्ट बैंकको ३३ औ साधारणसभा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा बसेको थियो । साधारणसभाले सञ्चालक समितिले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।त्यस्तै साधारणसभाले आर्थिक वर्ष २०७५÷०७६ को संचित मुनाफाबाट शेयर पूँजीको १० दशमलव ५ प्रतिशत बोनस शेयर र ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित समेत गरेको छ ।

बोनस पारित भएसँगै बैंकको चुक्तापूँजी १४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।बैंकको वित्तीय विवरण अनुसार असार मसान्त सम्म कुल निक्षेप ८ दशमलव ४५ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब पुगेको छ भने कर्जा लगानी ५ दशमलव २३ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको छ ।

त्यस्तै बैंकको खराब कर्जा अनुपात २ दशमलव ७८ प्रतिशत रहेको छ । बैंकले ८२ वटा शाखा कार्यालय, १६ वटा एक्टेन्सन काउन्टर, १० वटा राजश्व संकलन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सुविधा र १२४ वटा एटिएम काउन्टर मार्फत बैंकिङ सेवा दिएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation