डेढसय उद्योगमा झण्डै २८ अर्ब वैदेशिक लगानी आउँदै

 अर्थ बुलेटिन संवाददाता   ५ माघ, २०७६



काठमाडौं । डेढसय उद्योगमा झण्डै २८ अर्ब वैदेशिक लगानी आउने भएको छ । सरकारी तथ्यांकअनुसार चालू आवको ६ महिनामा विभिन्न उद्योगमा २७ अर्ब ६८ करोड रूपैयाँ बराबरको भारत, चीन जस्ता १५ ओटा देशका लगानीकर्ताहरुले लगानीका लागी प्रतिबद्धता जनाएका हुन् ।  

उद्योग विभागका अनुसार गत वर्षको सोही अवधिको तुलनामा पछिल्लो समय वैदेशिक प्रतिवद्धर्ता १ सय ७० प्रतिशतले बढेको देखिन्छ । विभिन्न देशका लगानीकर्ताले १ सय ९४ वटा उद्योग सञ्चालनका लागि गत आवको साउनदेखि पुससम्ममा १० अर्ब २४ करोड रूपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

चालू आवको ६ महिनामा विभागमा दर्ता उद्योगमध्ये सबैभन्दा बढी लगानीको आकर्षण क्षेत्र पर्यटन छ । पर्यटनमूलक उद्योगका लागि ६० वटा उद्योग दर्ता भएका छन । विगतका वर्षहरूमा उत्पादनमूलक क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण देखिन्थ्यो ।

अहिले लगानीकर्ताहरू उत्पादनमूलक क्षेत्रलाई छोडेर पर्यटन क्षेत्रमा लगानी गर्न आकर्षित भएका छन्। दोस्रोमा सेवामूलक उद्योगका लागि ३८ वटा प्रस्ताव आएको छ ।

त्यस्तै, सूचना प्रविधिका २५, उत्पादनमूलकका १९, ऊर्जामूलकका ५ कृषि तथा वनजन्यका ३ वटा उद्योगमा वैदेशिक लगानी प्रस्ताव आएको छ । यसको कुल पुँजी ४० अर्ब ६८ करोड ५६ लाख रहेको छ । यी उद्योग सञ्चालनमा आए ७ हजारभन्दा बढीले रोजगारी पाउने देखिएको छ ।

विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले नेपालमा वैदेशिक लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानी बढ्न थालेको बताए ।

लगानीसम्बन्धि नीतिगत सुधारले पनि चालू आवमा वैदेशिक लगानीको प्रतिबद्धता बढ्दो रहेको उनको बुझाइ छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation