२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । उपभोक्ताको भान्छा झनै महँगो भएको सरकारी तथ्यांकले नै देखाएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा महँगी अझै बढेको देखाएको हो ।
राष्ट्र बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको मङ्सिर महिनाको मुलुकको आर्थिक तथा वित्तीय प्रतिवेदनमा मूल्यवृद्धि ६.५५ प्रतिशत पुगेको जनाएको छ ।
उक्त मूल्यवृद्धि गत आवको तुलनामा बढी हो । गत आवको मङ्सिरमा यस्तो मूल्यवृद्धि ३.७१ प्रतिशत रहेको थियो ।
खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवा क्षेत्रको महँगी अचाक्ली बढेको देखिएको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष मङ्सिरमा खाद्य तथा पेयपदार्थ ०.४६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ६.३४ प्रतिशत थियो ।
तर, यो वर्षको मङ्सिरमा खाद्य तथा पेय पदार्थ ९.७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.१० प्रतिशत रहेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूह अन्तर्गत तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.६० प्रतिशत, तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मूल्यवृद्धि भएको छ । २०७५ मङ्सिरमा यी क्षेत्रहरूमा क्रमशः ३.६८ प्रतिशत, ३.६५ प्रतिशत, ३.८४ प्रतिशत र ४.०५ प्रतिशत मूल्यवृद्धि रहेको थियो ।